Comments Add Comment

चीनले दियो केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन

२४ मंसिर, काठमाडौं । चीनले केरुङ-काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । काठमाडौंमा सोमबार आयोजित ‘नेपाल-चीन रेल्वे कोअपरेशन कमिटी’को तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेशनल रेल्वे अथोरिटी चीनका उपप्रशासक आन लुसुङ नेतृत्वको सो कमिटीको बैठकमा चिनियाँ पक्षले नेपाललाई केरुङ-काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी प्रतिवेदन बुझाएको छ ।

चिनियाँ टोलीले केरुङ-काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए ।

बैठकमा दुवै पक्षबीच सो प्रतिवेदनमा आधारित भएर विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने विषयमा पनि छलफल भएको छ ।  नेपाल आएको चिनियाँ टोलीले काठमाडौं-पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण गर्ने भएको छ ।

त्यसका लागि आन नेतृत्वको चिनियाँ उच्चस्तरीय टोली मंगलबार रसुवा र बुधबार पोखरा जाने कार्यक्रम तय भएको सचिव अधिकारीले बताए ।  प्रस्तावित १ सय ७१ किलोमिटर लामो काठमाडौं-पोखरा रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यस अघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ ।

नौ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने योजना रहेको सो रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।  यता, केरुङ-काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न ढिलाई नगर्नेबारे पनि दुवै पक्ष सहमत भएका छन् ।

चीनमा आयोजना हुने सो कमिटीको आगामी बैठकले केरुङ-काठमाडौं रेलमार्ग निर्माणको लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment