Comments Add Comment

क्वालकोमको पक्षमा चिनियाँ अदालत, आदेशविरुद्ध एप्पलको अपिल

विभिन्न मोडेलका आइफोनलाई चीनमा प्रतिबन्ध लगाउन चिनियाँ अदालतको आदेशविरुद्ध अमेरिकी कम्पनी एप्पलले अपिल गरेको छ ।

पेटेन्ट अधिकार चोरीलगायतको विषयमा क्वालकोम कम्पनी र एप्पलबीचको विवादका विषयमा फैसला गर्दै चिनियाँ अदालतले आइफोनका विभिन्न मोडेललाई चीनमा प्रतिबन्धित गरेको हो ।

चीन र अमेरिकाबीच पछिल्लो समयमा व्यापार युद्ध चर्किरहेको बेला चीनमा आइफोनमाथि प्रतिबन्ध लागेको हो ।

एप्पलले भने क्वालकोममाथि फोहोरी खेल खेलेको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय अदालतद्वारा पहिले नै अप्रमाणित भैसकेका र यसअघि कहिल्यै पनि प्रयोग नगरिएका प्याटेन्टलाई लिएर क्वालकोमले आफूमाथि खेल खेलेको एप्पलको आरोप छ ।

एक विज्ञप्तीमा एप्पलले भनेको छ, ‘अवैध क्रियाकलापहरुका विषयमा विश्वभरका नियामक निकायहरुद्वारा छानविनमा रहेको क्वालकोमले हाम्रा प्रडक्टहरु प्रतिबन्ध लगाउनका लागि खेलेको भूमिका निन्दनीय छ ।’

क्वालकोम माइक्रो चिप निर्माता अमेरिकी कम्पनी हो । पछिल्लो प्रतिबन्धले आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आरलाई भने कुनै असर गर्नेछैन ।

गत हप्तादेखि कार्यान्वयनमा आएको उक्त आदेश सोमबार मात्र सार्वजनिक भएको थियो । तर एप्पलले चाहिँ चीनमा सबै मोडेलका आइफोन उपलब्ध रहेको जनाएको छ ।

चिनियाँ अदालतले प्रतिबन्ध लगाएका आइफोनका मोडेल चिनियाँ बजारमा कूल बिक्री हुने आइफोनमध्ये १५ प्रतिशतको हाराहारीमा रहेका छन् ।

एप्पलले आइफोन सिक्स एस, आइफोन सिक्स एस प्लस, आइफोन सेभेन प्लस, आइफोन सेभेन, आइफोन एट, आइफोन एट प्लस र आइफोन एक्समा आफ्ना दुईवटा पेटेन्ट चोरी गरेको भन्दै क्वालकोमले एप्पलविरुद्ध मुद्दा हालेको थियो ।

अदालतको आदेशको व्यवहारिक कार्यान्वयन भए नभएको चाहिँ प्रष्ट भएको छैन । तर क्वालकोमले यदि एप्पलले अदालतको आदेशको पालना नगरेमा ट्रिबुनल मार्फत कार्यान्वयन गराउने चेतावनी दिएको छ ।

स्मरणरहोस् एप्पल र क्वालकोमबीच विश्वका विभिन्न अदालतमा पेटेन्ट अधिकार सम्बन्धी मुद्दा चलिरहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment