Comments Add Comment

पोखरामा ईक्यान शैक्षिक मेला शुरु

२६ मंसिर, पोखरा । पोखरामा ईक्यान फेयर शुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ -इक्यान) कास्कीले बैदेशिक शिक्षाका लागि बिदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर आयोजना गरेको ‘इक्यान शैक्षिक मेला’ अर्थात ईक्यान फेयर शुरु भएको हो ।

पोखरा सभागृहमा मंसीर २८ गतेसम्म जारी रहने फेयरको गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले उद्घाटन गरे ।उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख कुँवरले नेपालका राजनीतिज्ञ र विद्वानहरुले मीठा भाषण गरेपनि त्यो ब्यबहारमा नउतार्दा देशको अवस्था यो हालतमा पुगेको बताए ।

उनले भने,’हाम्रो देशका राजनीतिज्ञ र विद्वानहरु बोल्छन् मात्रै, ब्यबहारमा उतार्दैनन्, त्यहि भएर देशको अवस्था यो हालतमा आईपुगेको छ ।’ उनले विधिको सासन लागू नभएसम्म देशमा विकास र समृद्धी नआउने ठोकुवा गरे ।

प्रदेश प्रमुख कुँवरले कानूनलाई जस्ताको तस्तै पालना हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । सोसाइटीले कानून वा कानूनले सोसाइटीलाई नडोहोर्‍याउने हो भने देशको भयावह स्थिति हुने भन्दै उनले भने,’कि कानूनद्वारा सोसाइटी चेञ्ज गर्न सक्नुपर्छ, होइन भने सोसाइटीले कानून चेञ्ज गर्नुपर्छ ।’

नेपाल शैक्षिक परामर्श संघ -ईक्यान)का केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले नेपालमा शिक्षामा प्रत्यक्ष बैदेशिक लगानी भित्राउने षडयन्त्र भइरहेको भन्दै त्यो कदापी स्विकार्य नहुने चेतावनी दिए ।

उनले आफूहरु स्वस्थ हिसाबले ब्यवसाय गर्न खोजेको बताउँदै नीति निर्देशिका बनाएर शैक्षिक परामर्श दातृ संस्थाहरुलाई बाँध्नसकिने उल्लेख गरे ।

अध्यक्ष पाण्डेले शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त र ईक्यानमा आबद्धबाहेक अन्यले शैक्षिक केन्द्र खोल्न नपाउने नियम बनाउनका लागि पहल भइरहेको जानकारी दिए ।

तीन दिनसम्म चल्ने शैक्षिक मेलामा पेभेलियनसहित ७० वटा स्टल रहेका छन् । अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुने ईक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए ।

एउटै छानामुनी विश्वभरका नामी कलेजहरुले दिने शिक्षा, छात्रवृत्ति तथा सम्बन्धित देशको अवस्था, भिसा प्रोसेसलगायतबारे जानकारी दिने उद्धेश्यले मेला आयोजना गरिएको उनले बताए ।

शैक्षिक मेलामा विद्यार्थीसहित अभिभावकपनि सहभागी गराउने उद्धेश्यले मेला निःशुल्क गरिएको ईक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले बताए ।

उनले मेलामा बढी भन्दा बढी सहभागि गराउने उद्धेश्यले पोखराका विभिन्न कलेज पुगेर मौखिक जानकारी गराउनुका साथै पर्चा पम्प्लेटसमेत वितरण गरिएको जानकारी दिए ।

गण्डकी प्रदेश स्तरीय शैक्षिक मेलाबाट १० लाख संकलन गरेर ८ खर्च गरी २ लाख बचत गर्ने लक्ष्य रहेको ईक्यान सचिव रुद्रप्रसाद अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment