Comments Add Comment

योजना आयोगका उपाध्यक्ष भन्छन्- छिटो सुझाव चाहियो

२७ मंसिर, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले आयोगको १५ औं योजनाको खाका यही महिना तयार हुने बताउँदै केही सुझावहरु भए चाँडो पेश गर्न आग्रह गरेका छन् ।

उपाध्यक्ष कँडेलले भने, ‘हामी अहिले अन्य कामसमेत छाडेर १५ औं योजना निर्माणको तयारीमा जुटेका छौं, एक महिनाभित्र यसको ड्राफ्ट तयार हुन्छ ।’

१५औं योजनाका लागि केही सुझाव भए चाँडो दिन कँडेलले पत्रकारहरुसँग आग्रह गरे । आवश्यक सुझावहरु आयोगले ग्रहण गर्ने उनले बताए ।

दीर्घकालीन योजनाका विषयमा पनि केही समेट्नु पर्ने विषय भए सुझाव दिन उनले भने । नीतिगत रुपमा हुनुपर्ने केही सुधार वा नयाँ थप्नुपर्ने विषय लिखितरुपमा आए सहर्ष ग्रहण गर्ने उनले बताए ।

सरकारले लिएको दीर्घकालीन योजना पूरा गर्न आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनले यसका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।

मुलुकको आर्थिक समृद्धिका लागि रचनात्मक भूमिका खेल्न र कहीं कतै गल्ती भए कलमको माध्यमबाट सच्याइदिन उनले आग्रह गरे ।

‘प्रदेशमा दुविधा छैन’

प्रदेश योजना आयोगहरु ६ वटा प्रदेशमा गठन भइसकेको जानकारी दिँदै उनले बाँकी एउटा प्रदेशमा पनि चाँडै गठन हुने बताए । प्रदेश योजना आयोग र राष्ट्रिय योजना आयोगका विषयमा दुविधा नरहेको उनले दाबी गरे ।

राष्ट्रिय योजना आयोगले नीति निर्माण विषयहरु धेरै हेर्ने र प्रदेश योजना आयोगले परियोजनाहरु हेर्ने कँडेलले बताए । त्यसैगरी सन् २०२२ सम्म अल्पविकसित मुलुकबाट विकासशील मुलुक बन्ने लक्ष्य लिएको भन्दै यसलाई सहयोग पुग्ने गरी काम भइरहेको कँडेलले दाबी गरे । उनले अर्को दीर्घकालीन योजनाको रुपमा २५ वर्षे योजनासमेत निर्माण हुने बताए ।

सन् २०३० सम्म दीगो विकासको लक्ष्यको अन्तिममा पुग्ने भन्दै उपाध्यक्ष कँडेलले वि.सं. २१०० सम्मका लागि दीर्घकालीन योजना तयार हुने बताए ।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरुसँगको भेटवार्ताका क्रममा उपाध्यक्ष कँडेलले १५ औं योजना निर्माणलाई तीव्रता दिइएको जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment