Comments Add Comment

उपत्यकाका सडकमा आजबाट ‘पिक एण्ड ड्रप’ लागू

१ पुस, काठमाडौं ,। काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा आजबाट सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ ।

सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस्तो व्यवस्था लागू गरेको हो ।

कामपाको मुख्य स्थान मानिने र लामो वा छोटो दूरीका सार्वजनिक सवारी साधन रोकेर राख्ने स्थान टुँडिखेल आसपास नै रहेकाले यस किसिमको व्यवस्था गरिएको  महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा यी स्थानमा यस किसिमको नियमको शुरु गरी प्रभावकारी बनाउने र अबको केही महीनाभित्र कामपाको ३२ वटै वडामा उक्त व्यवस्था लागू हुनेछ ।

कुनै पनि सवारी साधनले यसअघि जस्तो लामो समय रोकेर राख्ने र अर्को सावरी साधन नआउन्जेलसम्मका लागि भन्दै अटेर गरे कामपाले कारवाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।

टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् ।

पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एक सवारी साधनले एक स्थानबाटमात्र यात्रु ओराल्न र चढाउन पाउने छन् ।

तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारवाही हुने महानगरपालिकाले जनाएको छ ।

यस अभियानले सफलता पाएसँगै उपत्यकाको सबै सडकमा पिक एण्ड ड्रप नियम लागू गर्ने सरकारको तयारी छ ।  टुँडिखेलबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँ बायाँको भृकुटीमण्डपको स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।

टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअघि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।

टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालीमाटीतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने सवारी साधनले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दूग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।

यस्तै टुँडिखेलबाट लैनचौर हुँदै महाराजगञ्ज र धोबिचौर जाने सवारी साधनले नेपाल वायुसेवा निगम अगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।

टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने सवारी साधनले नेपाल वायुसेवा निगम र रत्नपार्क तथा टुँडिखेलभन्दा बाहिर जाने सवारी साधनले रत्नपार्क अगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्र ओराल्न र चढाउन पाउनेछन् ।

पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने सवारी साधनका लागि पुरानो बसपार्कभित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कंदा नेपाल वायु सेवा निगम हुँदै चल्ने सवारी साधनले एकतर्फ वायुसेवा निगम अगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्नेछ ।

यस्तै दोस्रो स्टपका लागि टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टपबाट मात्र यात्रु ओराल्ने र चढाउनुपर्नेछ ।

वायुसेवा निगम अगाडि स्टप बनाई विभिन्न स्थानमा जाने सफा टेम्पोले निगम अगाडिको स्टप र अन्य सवारी साधनले प्रयोग गर्ने स्टप तथा बागबजारस्थित भक्तपुर बसपार्कबाट यात्रु लिई आउने सवारी साधनले सोही ठाउँ र माइतीघर र बबरमहलको बीचबाट यात्रु ओराल्न र चढाउन पानेछन् ।

केही दिनअघि सरोकारवालासँगको बैठकमा कामपाका प्रमुख शाक्यले उपत्यकाको सडक जति नै फराकिलो बनाए पनि जामको समस्या झन जटिल बन्दै गएको भन्दै बहुपक्षीय लाभमा सबैले साथ दिनुपर्ने बताए ।

उनले पहिलो चरणमा ११ वटा रुटमा चल्ने सवारी साधनलाई यो नियम लागू गरिए पनि यसपछि अन्य रुटमा पनि लागू गरिने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment