Comments Add Comment

जनकपुरका महन्त धरौटीमा रिहा

२ पुस, जनकपुरधाम । जनकपुरस्थित रत्नसागर मठका महन्त वैकुण्ठ दास धरौटीमा रिहा भएका छन् । सरकारी कागज कीर्ते र ठगी मुद्दाका अभियुक्त दासलाई जिल्ला अदालत धनुषाले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले पक्राउ वारेन्ट जारी गरेपछि फरार रहेका महन्तलाई प्रहरीले मंसिर १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो । सरकारी कागज कीर्ते अभियोगमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका महन्त काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए । पक्राउ पुर्जी जारी भएको एक सातापछि महन्त पक्राउ परेका थिए ।

नक्कली लालपूर्जा र गुठी रसिद बनाई हजारीजनक विद्यापीठको २ बिघा १८ कट्ठा जग्गा अशोक शर्मा नाम गरेका व्यक्तिलाई बिक्री गरेको र उनीविरुद्द सरकारी कागज कीर्ते गरेको अभियोग लागेको थियो ।

सरकारी कागज कीर्ते र ठगी मुद्दाका अर्का अभियुक्त अशोक शर्मालाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध २ करोड बिगो र ३ वर्ष कैद माग गर्दै मुद्दा दर्ता गरेको थियो ।

पक्राउ परेका आफ्ना सहयोगी शर्माको बयानको आधारमा सरकारी छाप दस्तखत कीर्ते गरेर गुठीको जग्गा बिक्री गर्ने कार्यमा महन्तको समेत संलग्नता रहेको खुलेको थियो । २ अर्बभन्दा बढी मूल्यको जनकपुरधाम उपमहानगरपालिका ८ को अढाइ बिघा गुठीको जमिन कीर्ते जालसाजी गरी बैकुण्ठ दास जग्गाधनी र शर्मालाई मोही बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment