Comments Add Comment

जहाँ आमा बन्नासाथै महिलाहरुलाई होटलमा पठाइन्छ

३ पुस, काठमाडौं । डेनमार्कको राजधानी कोपनहेगनमा रहेका बेबी होटलको गल्लीहरुमा हिँड्दै गर्दा साना बच्चाहरु रोएको आवाज सुन्न सकिन्छ ।

ती गल्लीहरुमा बच्चाको हेरचाह गर्ने नर्सहरु देख्दा यो अस्पतालको प्रसुति वार्ड हो वा बेबी होटेल भन्ने प्रश्न उठ्छ ।

हेड नर्स टीना होम निल्सन यो रहस्यलाई यसरी खोल्छिन्, ‘बच्चालाई जन्म दिएका सबै महिलाहरु दुई दिनको लागि यहाँ बस्न सक्छन् ।’

‘अझै आमा वा बच्चालाई कुनै समस्या छ भने त उनीहरु त्यतिखेर सम्म यहाँ बस्न सक्छन् जतिखेरसम्म उनीहरुलाई हाम्रो सहायताको आवश्यकता छ ।’

डेनमार्कको यो म्याटरनिटी होटल प्रोग्राम सरकारी कोषबाट चल्छ । यहाँ सबै बच्चालाई उनीहरुको जिन्दगीको पहिलो दिन बराबरको अधिकार र समान हेरचाहको अवसर दिइन्छ ।

बच्चाको आमाबुबा चाहे जुनसुकै सामाजिक वा आर्थिक वर्गका होउन्, धनी वा गरीब जस्तोसुकै होउन् बच्चाहरुले यहाँ बराबरीको अधिकार पाउँछन् ।

होटलजस्तो अस्पताल

डेनमार्कको उदार बालबालिका हेरचाहको नीतिको हिस्सा स्वरुप यो पब्लिक प्रोग्राम कोपनहेगनको ह्विदोव्रे अस्पतालमा लागु भएको छ ।

डेनमार्क सकरकारको यो प्रोग्रामले सबै आमाहरुलाई आफ्नो नवजात शिशुलाई राम्रो स्वास्थ्य र जिन्दगीको लागि तयार गर्नको लागि पहिलो दुई दिन सबैभन्दा राम्रो हेरचाह हासिल गर्ने अधिकार दिएको छ ।

पहिलो पटक आमा बनेका महिलाहरु अस्पतालको म्याटरनिटी वार्ड वा होटलमा निशुल्क बस्न सक्छन् । यहाँका नर्सहरुले उनीहरुको रेखदेख गर्छन् र बच्चा हुर्काउनेबारे कुनै जिज्ञासा छ भने त्यसको उचित जवाफ पनि दिन्छन् ।

हेड नर्स टिना भन्छिन्, ‘डेनमार्कमा यस किसिमको सेवाको लागि कुनै पैसा लिइँदैन ।’

यूरोपका धेरै देशहरु जस्तै डेनमार्कमा पनि जनसंख्या वृद्धिदर घटिरहेको छ । त्यसैले सरकारले महिलाहरुलाई आमा बन्नको लागि प्रोत्साहित गर्छ । यसको लागि बच्चाको लागि ‘फ्रि विट्रो फर्टिलाइजेसन’ जस्ता कार्यक्रम पनि चलाइन्छ ।

सबैलाई बराबरी

ह्विद्रोवे अस्पतानमा आफ्नो बच्चालाई जन्म दिएकी सारा वाङ इप्सेन भन्छिन्, ‘म आफूलाई अस्पतालमा केही दिन बस्ने मौका मिलेकोमा भाग्यशाली ठान्छु ।’

‘म एक्लै छु यसैले बच्चा जन्मेको दुई चार घन्टापछि नै उसलाई लिएर घर जान धेरै गाह्रो हुन्थ्यो । मलाई एक्लै उसको रेखदेख गर्न कठिन हुन्थ्यो ।’

कोपनहेगनको यो हस्पिटल जस्तै होटलमा खानपानको सबै चीज उपलब्ध छन् । इप्सेन भन्छिन्, ‘यहाँको मेनुमा सबै किसिमका परिकार उपलब्ध छन् र ६० देखि ९० प्रतिशत चीजहरु अर्गानिक छन् । म फोन गरेर खानाको अर्डर दिन सक्छु ।’

ह्विदोव्रे अस्पतालमा आउने नयाँ आमा बुबालाई साझा रुपमा ५२ साताको छुट्टी दिइन्छ । साथै छुट्टीको क्रममा आमाबुबालाई १८ हप्ताको पुरै तलबको ग्यारेन्टी पनि गरिन्छ ।

केसान्द्रा ग्रेना लुटजफले पनि यहाँ आफ्नो पहिलो बच्चालाई जन्म दिएकी छन् । म्याटरनिटी होमको बेडमा सुतेर उनी आफ्नो नवजात शिशुलाई दूध पिलाइरहेकी छिन् ।

केसान्द्रा भन्छिन्, ‘डेनमार्कमा हामी धेरै भाग्यमानी छौं र यदि हाम्रो ठूलो परिवार छैन वा परिवारले कुनै कारणले मद्दत गर्न नसक्ने अवस्था छ भने हाम्रो साथमा सरकार छ सरकारले हाम्रो सहायता गर्छ ।’

केसान्द्राको बच्चा आफ्नो आमाको काखमा सुतेको छ । उसको अनुहारमा निश्चिन्तताको भाव छ ।

उनी भन्छिन्, ‘करदाताको रुपमा हामी खुसी खुसी आफ्नो कर तिर्छौं र हाम्रो पैसा कसरी खर्च भइरहेको छ भन्ने सजिलै देख्न सक्छौं त्यसैले हामी भाग्यमानी छौं ।

केसान्द्राका पति पहिलो दिनदेखि नै उनको साथमा छन् । बेबी होटलमा उनको लागि पनि निशुल्क खानेबस्ने व्यवस्था छ ।

आमाबुबाको अनुहारमा खुसी छाइरहोस् भनेर यहाँको भित्तामा समेत बच्चाहरुको मुस्कुराउँदै गरेको तस्वीर टाँसिएका छन् ।

ह्विदोव्रे अस्पतालकी अर्की नर्स डिजाइनरी विन्थर हेनेसेन भन्छिन्, ‘यहाँ पुरै परिवारको लागि धेरै राम्रो छ । उनीहरु यस खालको अस्पतालमा बसेर धेरै सुरक्षित महसुस गर्छन् ।’

डिजाइरी नजरमा एक अर्को फाइदा पनि धेरै महत्वपूर्ण छ । उनी भन्छिन्, ‘नयाँ आमाले बच्चालाई घरमा आफ्नो दूध पिलाउँदा संक्रमण हुने खतरा हुन्छ । यहाँ हामी त्यसलाई पनि रोक्न सक्छौं ।’

सारा वाङ इप्सेन भन्छिन्, ‘अन्य देशमा कैयौं आमा बुबासँग आफ्नो बच्चा जन्मिँदा राम्रो बर्थकेयर हासिल गर्ने पैसा नहुन सक्छ । त्यस्तै उनीहरुको बच्चाको जीवनको सुरुवातमा यस्तो समान अवसर नमिल्न पनि सक्छ ।’

‘बच्चा जन्मिएको पहिलो दिनबाट नै समाजको असमानता झेल्न सुरु हुन्छ तर, यहाँ भने सबैको लागि बराबर सुविधा छ ।’

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment