Comments Add Comment

देउवाले हिन्दू राष्ट्रको पक्षमा साहस देखाउन् : कमल थापा

५ पुस, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट हिन्दु राष्ट्र पक्षमा निर्णय गर्न नेपाली कांग्रेसलाई अपिल गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी स्तरीय प्रशिक्षण तथा सम्मेलनको विहीबार पोखरामा उद्घाटन गर्दै उनले कांग्रेसलाई महासमिति बैठकबाट हिन्दु राष्ट्रको पक्षमा निर्णय गर्न आग्रह गरेका हुन् ।

‘कांग्रेस साँच्चिकै हिन्दु राष्ट्रको पक्षमा भए अहिले काठमाडौंमा भइरहेको महासमिति बैठकबाट निर्णय गरोस्, म त्यो साहस देखाउन कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’

उनले कांग्रेसले हिन्दू राष्ट्रको पक्षमा निर्णय गर्न नसके जनताको नजरबाट गिर्ने पनि बताए । अध्यक्ष थापाले कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा निर्णय गरे राप्रपा कांग्रेससँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे ।

उनले कांग्रेसलाई प्रश्न गर्दै भने, ‘यदि कांग्रेस पार्टी कम्युनिष्ट होइन भने किन आफ्नो मौलिक सिद्धान्तबाट विचलित हुँदैछ ? किन आफ्नो मौलिक सिद्धान्तमा हिंड्न सक्दैन ?’ उनले हिन्दु राष्ट्र नहुँदा नेपाल नै स्वतन्त्र राष्ट्र रहन्न कि भन्ने स्थितिमा पुगेको बताए ।

थापाले संविधानमा हिन्दु राष्ट्र, राजसंस्थालगायतका नराखेर गम्भीर त्रुटि भएकाले त्यसलाई सच्याउन आग्रह गरे । जबरजस्ती गरे गम्भीर दुर्घटना हुने चेतावनी दिदै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस सहमत भए बीचको बाटोबाटपनि निकास निकाल्न सकिने उल्लेख गरे ।

उनले भने, ‘उनीहरु धर्म निरपेक्ष भन्छन् हामी हिन्दु राष्ट्र भन्छौं, तर यसमा बीचको बाटोबाट गएर धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र भन्न सक्छौं ।’

थापाले हिन्दु राष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीका लागि राप्रपाले फागुन ७ गतेदेखी जनसंघर्ष शुरु गर्ने जानकारी दिए ।

अध्यक्ष थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार असफल भइसकेको बताए । उनले प्रशासनिक क्षेत्रमा हस्तक्षेप, गलत अर्थनीति, कुशासन र भ्रष्टाचारका कारण देश असफल बन्नेतर्फ उन्मुख भएको उनको आरोप छ ।

नाकाबन्दीका समयमा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा अडिग रहेका प्रधानमन्त्री केपी ओली अहिले आएर निरिह बनेको भन्दै उनले भने, ‘कि कुनै शक्तिको दवाबमा हुनुहुन्छ ? वा पार्टीको घेराबन्दीमा भएकाले निरिह र लाचार हुनुहुन्छ ? हैन भने मैले यस्तो निरिह र लाचार बनेको ओलीलाई कहिल्यै देखेको थिइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment