Comments Add Comment

५ अर्ब खर्चिएर ठमेलमा यस्तो बन्यो ‘छायाँ सेन्टर’

८ पुस, काठमाडौं । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा ‘छायाँदेवी सेन्टर कम्प्लेक्स’ तयार भएको छ । करिब ५ अर्ब रुपैयाँ खर्चिएर तयार भएको छायाँ सेन्टरको औपचारिक उद्घाटन आगामी मंगलबार विशेष समारोहका बीच पर्यटनमन्त्री रविन्द्र अधिकारीले गर्दैछन् । यसलाई ‘ठमेलभित्रको सानो ठमेल’का रुपमा कम्पनीले प्रवर्द्धन गरिरहेको छ ।

ठमेलमा पर्यटकका लागि उपलब्ध हुने सबै किसिमका सेवा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ मान्न सकिने प्रवर्द्धकहरुको भनाइ छ ।

हाल छायाँ सेन्टरमै खुल्न लागेको अलफ्ट होटेल आगामी मार्च महिनादेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

ठमेलमा करिब १५ रोपनीमा बनेको यो व्यापारिक कम्प्लेक्समा पाँचतारे होटेल पनि खुल्न लागेको हो । हाल अलफ्ट होटलले इन्टेरियर डिजाइनको काम गर्दैछ । होटलबाहेक अन्य सुविधाहरु अब मलभित्र उपलब्ध छ ।

मलमा स्टल बुक गरेका ब्राण्ड र पसलहरुमध्ये धेरैले ओपनिङ तीव्र बनाएका छन् । केहीले इन्टेरियरको काम गरिरहेका छन् भने धेरैले आफ्नो सेवा थालिसकेका छन् ।

छायाँ सेन्टरका निर्देशक सुमन पाण्डेका अनुसार अहिले अलफ्ट होटेलको इन्टेरियर डिजाइनिङको काम तीव्र गतिमा भइरहेको छ । यो होटेल स्टारउडको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालनमा आउन लागेको हो । स्टारउडले अहिले विश्वभर एक दर्जन ब्रान्डमार्फत चेन होटेलहरु सञ्चालन गर्दै आएको छ । यो होटलको व्यवस्थापन पनि उसैले हेर्नेछ ।

छायादेवी कम्प्लेक्सको टप फ्लोरबाट देखिएको दृश्यअलफ्ट बिजनेश होटेल, सेराटन, डब्लू होटेल, फोरपेन्ट्स, ली मेरिडियन, लक्जरी कलेक्सन, इलिमेन्ट, स्टार रेजिसजस्ता नाममा यसले होटलहरु सञ्चालन गर्दै आएको छ ।

सुरुमा सन् २०१७ मै सञ्चालनमा ल्याउने योजना थियो । भूकम्प र नाकाबन्दीका कारण छायाँ सेन्टर निर्माणको म्याद केही लम्बिएको थियो । यसको निर्माण सन् २०१३ बाट नै सुरु भएको थियो ।

नेपालमा पर्यटनको ठूलो सम्भावना रहेकाले होटेल सञ्चालनमा ल्याउन लागेको निर्देशक पाण्डे बताउँछन् । ‘यो कम्प्लेक्स नेपालमै नमुना बनेको छ । ठमेलभित्रका सबै सुविधा यहीँ छ,’ उनी भन्छन्,’यसले ठमेलको पर्यटनलाई मात्रै हैन, समग्र नेपाली पर्यटन क्षेत्रको स्तरवृद्धि गर्न सहयोग पुर्‍याउनेछ ।’

छायाँ सेन्टर कम्प्लेक्सको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुन लागेको हो । पाँच अर्ब लगानी रहेको यो सेन्टरमा १६८ वटा कोठा रहनेछन् ।

अलफ्टमा इन्टेरियर सजावटको काम हुँदै

कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थियटर छन् । यहाँ पसल, रेस्टुराँ, बैंकका शाखा, एयरलाइन्स र ट्राभल एजेन्सीहरुले पनि राख्दैछन् । यस्तै, विभिन्न कम्पनीका कर्पोरेट कार्यालयहरु पनि सञ्चालनमा आउन लागेका छन् ।

यहाँ अन्डरग्राउन्ड बेसमेन्टमा गाडी पार्किङस्थल छ । जहाँ ४ सय सवारी पार्क गर्न सकिन्छ । यो सेन्टरमा क्यासिनो पनि खुल्दैछ । होटलमा कार्यक्रमहरु गर्न खुला स्पेश पनि उपलब्ध छ । होटलभित्र ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, स्विमिङ पुल, क्लब लगायत सुविधा पनि राखिँदैछ ।

यहाँ ५० भन्दा बढी सुईट रुमहरु रहनेछन् । अरु कोठा डिलक्स सुविधाका हुनेछन् । यहाँका हरेक कोठाहरु विशेष डिजाइनमा तयार हुनेछन् । हरेक कोठाहरुबाट काठमाडौंसहित पहाड र हिमालहरुको दृश्यावलोकन गर्न सकिने छ । अहिले नै कप्लेक्सभित्र सयौंले रोजगारी पाइसकेको छायाँ सेन्टर व्यवस्थापनले जनाएको छ ।

कम्प्लेक्सभित्र अन्तर्राष्ट्रिय फेसन ब्राण्डका शोरुम, हस्तकलाका पसल, सिनेमा हल र फूडकोर्ट, स्पा, बैंक, पार्लरहरु पनि खुलेका छन् । यहाँ चौंथो तल्लामा क्युएफएक्सले ३ वटा सिनेमा हल सञ्चालनमा ल्याइकेेको छ ।


यसैकारण छायाँ सेन्टरमा ग्राहकको उपस्थिति बाक्लिन थालेको छ । अब औपचारिक उद्घाटन पछि सबै सुविधाहरु विस्तार हुने र त्यसले छाया सेन्टरलाई काठमाडौंको व्यस्त कम्प्लेक्स बनाउनेमा कम्पनी आशावादी छ ।

छायाँ सेन्टरमा सुमन पाण्डेसहित  पृथ्वीबहादुर पाण्डे, महेश्वर श्रेष्ठ, निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य र सुहृद घिमिरेको लगानी छ ।

तस्वीरहरूः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment