Comments Add Comment

विद्यासुन्दरको गुनासोः ठेकदारले गर्दा काठमाडौंमा धुलो घटेन

१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ठेकेदारहरुका कारण सहर धुलोमैलो भइरहेको आरोप लगाएका छन् ।

पछिल्लो समय दिनहुँ महानगर सफाइको काम भइरहे पनि ठाउँ ठाउँमा चलिरहेका विकास निर्माणका कामले फेरि धुलो सडकमा आउने गरेको दावी गरे ।
काठमाडौंलाई सुन्दर बनाउन महानगरपालिकाले निकै मिहिनेत गरिरहेको उनको भनाइ छ ।

बिहीबार धराहरा पुनर्निर्माण शिलान्यास समारोहमा प्रमुख शाक्यले भने, ‘सडक विभाग र हामी सहकार्य गरेर अगाडि बढिरहेका छौं तर, ठूला ठूला निर्माणस्थलबाट आउने धुलो हामीलाई धेरै दुःख दिइरहेको छ ।’

जति सफा गरे पनि निर्माणस्थलबाट उतिखेरै सडकमा आउने धुलो नियन्त्रण गर्न नसकिरहेको उनले सुनाए ।

जेट मेसिन र पुरानै ब्रुमर प्रयोग गरेर भए पनि सडकका धुलो सोहोर्ने, पानी छर्किने, रुखमा टाँसिएका धुलो तान्ने प्रयास अर्थहीन भइरहेको उनको भनाइ छ ।

‘अर्बौंका प्रोजेक्टमा काम हुने, यहाँबाट दिनभरी चार-पाँच पटक सफा गर्दा पनि दुईचार वटा गाडी निस्किएपछि पुरानै स्थितिमा आउने अवस्था रहेको छ’, उनले भने ।
उनले निर्माणस्थलबाट सडकमा धुलो नआउने गरी काम गर्न ठेकेदारहरुलाई आग्रह गरे ।

‘म ठेकेदार मित्रहरुलाई अनुरोध गर्न चाहन्छु, तपाईंहरुको सानो मिहिनेतले थोरै लगानीले पनि समग्र सहरलाई सफा गर्न सहज हुनसक्छ, निर्माणस्थलबाट सडकमा धुलो नआउने प्रविधि प्रयोग गरिदिनुस्’, उनले भने ।

काठमाडौं महानगरपालिका सहरलाई सुन्दर बनाउने अभियानमा लागिरहेको भन्दै प्रमुख शाक्यले सबैले पहलकदमी लिए समयमै धरहरा बन्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment