Comments Add Comment

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

२४ पुस, काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाएको छ ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तगीपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए ।

१७ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषदले पौडेललाई कार्यकारी निर्देशकको लागि छनोट गर्‍यो ।

पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । उनले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए । आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको श्रेय पौडेललाई जान्छ । उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment