Comments Add Comment

तातोपानी नाका: चिनियाँ पक्ष अहोरात्र काममा, नेपाली पक्ष चुपचाप

२५ पुस, तातोपानी । विनाशकारी भूकम्पपछि नेपाल–चीनबिचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार बन्द भएको आगामी बैशाखमा चार वर्ष पुरा भएर पाँचौ वर्षमा टेक्दैछ । ५ वर्ष लाग्दा नलाग्दै नाका खुलाउन चिनिँया पक्षले जोडतोडले काम गरिरहेको छ तर, नेपाली पक्षले भने खासै तत्परता देखाएको छैन ।

बाह्रविसे नगरपालिकाको खुर्सानीबारीदेखि मितेरी पुलसम्म २६ किलोमिटर लामो सडक छ । भूकम्प, भोटेकोशीमा आएको बाढी र पहिरोले खण्डहर बनेको सडकको रुप फेर्न चिनियाँ पक्ष लागिपरेको हो । सडक र भोटेकोशी नदी छेउमा पहेँलो हेल्मेट लगाएका मजदुरहरु यत्रतत्र देखिन्छन् । सवारी साधनहरु निर्माण सामग्री ओसारिरहेका छन् भने दर्जनौं स्काभेटरहरु सडक आसपासमा छन् ।

दिनमा मात्र होइन, राति पनि उज्याला बत्तिहरु बालेर सडक छेउमा काम भइरहेको छ । कसैलाई पनि बोल्ने फुर्सद छैन । सबैको एउटै टार्गेट छ, मे फस्र्ट ।

भूकम्प र भोटेकोशी बाढीले क्षतविक्षत भएको बाह्रविसेमाथि २६ किलोमिटर सडक निर्माणको जिम्मा लिएको चिनियाँ पक्षले १ मे (वैशाख १८) मा काम सक्ने लक्ष्य लिएको छ । त्यसैले कामदारहरु दिनरात नभनेर काम गरिरहेका छन् ।

सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक हिरा महरा भन्छन्, ‘मे फस्र्टमा सडकको काम सक्ने भनेर लागेका छन्, उनीहरु रातभर पनि काम गरिरहेका छन् ।’

तातोपानी नाका सञ्चालनका लागि मुख्य तीन संरचनाको काम चिनियाँ पक्षले गरिरहेको छ । फरक–फरक ठेकेदार कम्पनीमार्फत काम भइरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल, बाह्रविसेदेखि मितेरी पुलसम्मको सडक र सुख्खा बन्दरगाहको कामलाई चिनियाँहरुले प्राथामिकतामा राखेर काम गरिरहेका छन् ।

नेपाली पक्ष मस्ताराम

२६ किलोमिटर सडक आसपासमा भइरहेको कामको गति हेर्दा तातोपानी नाका चाँडै खुल्ने विश्वास जागृत हुन्छ । तर, नेपाली पक्षको पारा भने अर्कै छ । अहिलेसम्म नेपालले आफ्नोतर्फ क्षतिग्रस्त कुनै पनि संरचना निर्माण नै थालेको छैन ।  

२०७२ वैशाखको भूकम्पपछि जस्तो थियो, नेपाल तर्फको संरचना अहिलेसम्म त्यस्तै छ । भन्सार यार्ड लथालिंग छ । न भन्सार कार्यालय नै छ । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भन्छन्, ‘नेपालको तर्फबाट पनि त्यत्तिकै रफ्तारमा काम हुनुपर्ने हो तर, केही पनि भएको नै छैन ।’

यस क्षेत्रका सांसद अग्नि सापकोटा नेपालतर्फ भौतिक पुर्वाधार निर्माणका लागि सरकारसँग ताकेता गरिरहेको बताउँछन् । ‘सम्बन्धित निकायको गम्भीर ध्यानआर्कषण गराइरहेको छु, पार्टीको बैठकमा पनि कुरा उठाएको छु, फेरि एकपटक सम्बन्धित मन्त्रालयमा गएर पहल गर्छु,’ सापकोटाले भने ।

संरचना निर्माणमा मात्रै होइन, सीमा क्षेत्रमा नेपाली पक्ष्को उपस्थिति नै कमजोर देखिएको छ । भूकम्पले खण्डहर बनेको मितेरी पुल नजिकै तातोपानी भन्सार कार्यालयमा केही शसस्त्र प्रहरी निकै कष्टसँग बसिरहेका छन् । अलि तल नेपाल प्रहरी छ ।

भोटेकोशी गाउँपालिकाले कहिले काहीँ गएर काम हेर्ने बाहेक अरु सरकारी संयन्त्र सीमा क्षेत्रमा देखिँदैन ।

सुख्खा बन्दरगाह अन्तिम चरणमा

लार्चामा सुख्खा बन्दरगाह निर्माण भूकम्पअघि नै सुरु भएको थियो । तर, भुकम्प र भोटेकोशी बाढीले क्षतविक्षत बनाएपछि चिनियाँ ठेकेदारहरु काम छाडेर गएका थिए ।

केही महिना अघिदेखि भने चिनियाँ ठेकेदारले काम गरिरहेको छ । सुख्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको छ । भोटेकोशी गाउँपालिकाका अध्यक्ष पौडेलले भने, ‘अहिले कुनै अवरोध छैन, अब पुल जडानको काम मात्रै बाँकी छ ।’

बन्दरगाहमा रंगरोगनको काम भइरहेको छ । नदी कटानलाई रोक्न वालहरु बन्दै छन् । सुख्खा बन्दरगाहसम्म जानका लागि यसअघि ढलान पुल निर्माणका लागि रड राख्दै गर्दा भोटेकोशी बाढीले बगाएको थियो । अहिले ट्रष्ट पुलको निर्माण सुरु गरेको छ । पुलको सबै सामग्री आएको र अब केही दिन भित्रै पुल जडान कार्य सकिने गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

सन् २०१३ मा बन्दरगाह निर्मााण्को सुरुवात भएको हो । बन्दरगाह निर्माण सुरु भएको २६ महिनामा सम्पन्न गर्ने योजना भएपनि भुकम्पले सबै लथालिंग परेको थियो ।

चार दशमलब दुइ हेक्टर क्षेत्रफलमा निर्माण भइरहेको बन्दरगाह १ सय ५८ ठुला कन्टेनर र २३ बढी कार अट्ने छ । बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालय रहने छन् । बन्दरागाहमा भण्डारण क्षेत्र कार्गाे र लिटिगेसन गोदामसमेत आधुनिक शैलीमा निर्माण भइरहेको छ ।

मितेरी पुल फराकिलो हुने

क्षतिग्रस्त मितेरी पुलको पुरै संरचना भत्काएर चिनियाँ ठेकेदारहरुले तीव्र गतिमा निर्माण सुरु गरेका छन् । गत भदौमा सभामुख कृष्णबहादुर महरा ल्हासा भ्रमणमा गएको बेला त्यहीँबाट मितेरी पुलको शिलन्यास भएको थियो ।

भूकम्पलगत्तै क्षतिग्रस्त पुलमाथि राखिएको बेलिब्रिज हटाएर नयाँ र फराकिलो पुल बनाउन थालिएको छ । चीनको तान सुन रोड एन्ड ब्रिज कम्पनीले काम गरिरहेको छ । यसअघि एक लेनको ४ मिटरको मात्रै पुल भए पनि अहिले भने दुई लेनको १२ मिटरको पुल निर्माण भइरहेको स्थानीय सानु शेर्पाले जानकारी दिए ।यो पुल पनि मे महिनाभित्रै सक्ने लक्ष्य राखिएको छ ।

सडक निर्माण कार्य तिव्र

भोटेकोशीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बाह्रविसे–कोदारी सडकखण्ड निर्माणलाई चिनियाँ पक्षले तिव्रता दिएको छ । चिनियाँ कम्पनी रेल्वे कन्स्ट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले सडक निर्माणको जिम्मा लिएको छ ।

बाढीले कटान गरेको स्थानमा नदी छेउबाटै ढलान र जाली वाल लगाउने काम भइरहेको स्थानीय लाक्पा शेर्पाले जानकारी दिए । मितेरी पुलदेखि सुख्खा बन्दरगाह लार्चासम्म सडक फराकिलो पनि बनाइँदैछ । लिपिङ क्षेत्रमा भुकम्पले क्षतिग्रस्त बनाएका घरहरु चिनियाँ पक्षले नेपालसँग अनुरोध गरेको स्रोतको दाबी छ ।

बाह्रविसेदेखि लिपिङसम्म क्षतिग्रस्त स्थानमा नदी छेउबाटै संरक्षण गर्नेगरी सडक निर्माण गरिरहेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । लिपिङ, तातोपानी बजार, कोदारी, डाक्लाङ लगायतका क्षेत्रमा काम भइरहेको छ ।

जताततै चिनियाँ मजदुर

बाह्रविसेदेखि कोदारीसम्म २६ किलोमिटर सडक खण्डमा यतिबेला मुख्य ६ वटा संरचनाको काम भइरहेको छ ।

१०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना, ४५ मेगावाटको भोटेकोशी पावर कम्पनी, सुख्खा बन्दरगाह, मितेरी पुल र सडक । यो सबै संरचना निर्माणको जिम्मा विभिन्न चिनियाँ ठेकेदार कम्पनीहरुले पाएका छन् । यो क्षेत्रमा निर्माण भइरहेका संरचनामा २ हजार बढी चिनियाँहरु दैनिक काममा खटिइरहेका छन् ।

मितेरी पुल निर्माणमा त चीनका विभिन्न जेलमा रहेका कैदीहरुलाई समेत ल्याइएको छ । नेपाली मजदुरहरुलाई समेत काम दिइएको स्थानीय लाक्पा शेर्पा बताउँछन् ।

नाका खुल्ने धेरै अघि हल्ला भए पनि नेपालतर्फको सडक लगायत संरचनाहरु निर्माण नभएकाले नाका सञ्चालनमा समस्या भएको चिनियाँ अधिकारीहरुले बताउँदै आएका थिए । तर, अहिले भने नाका सञ्चालन हुने आशा व्यापक बढेर गएको छ । सीमा क्षेत्रमा स्थानीयको चहलपल बाक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment