Comments Add Comment

विश्वासको ह्याट्रिकपछि हिमालयन शेर्पाद्वारा एपीएफ पराजित

२९ पुस, वीरगञ्ज । दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा हिमालयन शेर्पा विजयी भएको छ ।

नारायणी रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले, सशस्त्र प्रहरीको एपीएफलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

अधिकांश समय बललाई नियन्त्रणमा राख्न सफल हिमालयन शेर्पाले पहिलो हाफमा नै चार गोल गरेको हो । पटक पटक पाएको मौकालाई सदुपयोग गर्न नसक्दा एपीएफले जम्मा एउटामात्रै गोल फर्काउन सक्यो ।

नवौं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी प्याट्रिक प्रिभोड गोहाले गोल गरेर सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट बित्न नपाउँदै विश्वास श्रेष्ठले गोल गरेर अग्रता दोब्बर पारे । त्यसपछि उनले ३६ औं र ३९ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे ।

एपीएफका लागि रबि थिङले दोस्रो हाफको ३५ औं मिनेटमा गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका हिमालयन शेर्पाका विश्वास नै म्यान अफ दि म्याच घोषित भए ।

माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा विजेता टिमले ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । सोमबार डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र जनजागृति युवा क्लब सिमराबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment