Comments Add Comment

सार्वजनिक कुलोमा स्टील उद्योग !

३० पुस, वीरगञ्ज । गाउँले जुटेर टाउकोमा माटो बोकेर लालपर्साको सरिसवा नदीमा बाँध बाध्थे । बाँध बाँधेपछि बटका पैन (ठूलो कुलो)मा आउने पानीले लालपर्सादेखि जगरनाथपुरसम्मका खेतमा सिँचाइ हुन्थ्यो । ‘अब त्यो सब इतिहास बन्यो,’ वीरगन्ज महानगरपालिका- २२ मा पर्ने जगरनाथपुरका ८० वर्षीय ब्रम्हदेव यादवले भने ।

अहिले त त्यो कुलो नै मासिन लागेकोमा उनी चिन्तित छन् । बोरिङ्ग र दमकलको प्रयोग बढाएका मानिसहरुले कुलोमा चासो नै नदिएको उनले बताए । कतिले त कुलोमा बाली नै लगाएको देख्दा यी बयोबृद्धलाई दिक्क लाग्न थालेको छ । तर, यो अवस्था जगरनाथपुरभन्दा माथिल्लो क्षेत्रको हो ।

खेती मात्र होइन कुलोको जग्गामा राजेश अग्रवालले सर्वोत्तम स्टील उद्योग नै स्थापना गर्न लागेको जगरनाथपुरका किसानहरु बताउँछन् । उनीहरुका अनुसार, १६ विघा जमिनमा निर्माणाधीन उद्योगले कुलोको जग्गा मिचेर पर्खाल ठडाइसकेको छ ।

१२ फिटदेखि २२ फिटसम्म चौडाइ रहेको कुलो मिचिएकोमा किसानहरुले ९ महिना अगाडिबाट बिरोध गरिरहेका छन् ।

कुलोको अन्तिम छेउमा पर्ने जगरनाथपुरका किसानहरुले आफ्ना वडाध्यक्ष गैसुदिन मिया मन्सुरीमार्फत २५ वैशाख २०७५ मा उद्योग व्यवस्थापनलाई पत्र लेखेर छलफल गर्न बोलाएका थिए । तर, नआएपछि गत मंसिर २३ मा महानगरपालिकामा पनि उजुरी दिए ।

पहिलेको नहर ।

महानगरपालिकाले कुलोले चर्चेको जमीन नापजाँच गर्न अमिन पठाउँदा उद्योगले कम्पाउण्डभित्र पस्नै नदिएको स्थानीय तेजबहादुर साह बताउँछन् । तर, कुलोलाई जसरी पनि जोगाउनै पर्ने उनले बताए । ‘कुलो नभए जगरनाथपुरमा सिँचाइ हुदैन’, साह भन्छन्, ‘अर्को कुरा वर्षादमा आउने ठूला बाढीले निकास नपाएर डुबान हुन्छ ।’

उनले सार्बजनिक पैनको जग्गा मिचेर भौतिक संरचना निर्माण गर्न कुनै हालतमा नमिल्नेमा जोड दिए । वयोवृद्व ब्रम्हदेव यादवका अनुसार, १५-२० वर्ष अघिसम्म बड्का पैनले जगरनाथपुरका ७०० बिघा भन्दा बढी जमीन सिञ्चित गर्थ्यो ।

वडाध्यक्ष मन्सुरीका अनुसार, स्टील उद्योगले कुलोलाई बीचमा पारेर जमीन मिचेको छ । आफूले सार्वजनिक भेला गर्छु किसानहरुको कुरा सुन्न आइदिनुस् भन्दा उद्योग व्यवस्थापनले पहिला पैनको अस्तित्व देखाउनुस् भन्दै नआएको उनले बताए । ‘त्यसपछि महानगरपालिकामा जानकारी गराएको छु,’ उनले भने ।

आफूलाई उद्योगका प्रतिनिधि बताउने गेनालाल पटेल चाही उद्योग अगाडि पैन निकालेको बताउँछन् । पछि त्यसलाई पक्की बानाइदिने योजना उनले सुनाए ।
उद्योग अस्तित्वमै नभएको पैनको बीच भागमा परेपनि साहुजीले पैन बनाइदिने आश्वासन दिएको जिकिर उनले गरे ।

महानगरपालिकाबाट आएको अमिनको टोलीलाई किन भित्र पस्नै नदिएको त भन्ने अनलाइनखबरको प्रश्नमा पटेलले भने, ‘उनीहरु एक्कासी आएकोले रोकेका हौ । पक्रिया पुर्‍याएर आउँदा हामीलाई केही आपत्ति छैन ।’

केही नलागेपछि जगरनाथपुरवासीले आइतबार जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दर्ता गराएका छन् ।

कुलो मिचिएको ठाडो उजुरी परेपनि यो स्थानीय सरकारको बिषय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए । उनले अनलाइनखबरसंग भने, ‘त्यै पनि, कस्तो जमीन हो भनेर एकिन गरेर आवश्यक पक्रिया अगाडि बढाउँन वीरगञ्ज महानगरपालिका र यकीन नभएसम्मका लागि त्यस ठाउँमा निर्माणको काम रोक्न प्रहरीलाई पत्र पठाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment