Comments Add Comment

जिओका कारण कसरी प्रतिस्पर्धी बन्यो भारतको दुरसञ्चार बजार ? यी हुन् कारण

१ माघ, काठमाडौं । भारतको दूरसञ्चार बजार अत्यन्तै प्रतिस्पर्धी छ । विभिन्न कम्पनीले बजार नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् ।

तर, ‘रिलायन्स जिओ इन्फोकम लि’ बजारमा प्रवेश गरेपछि खेल जितेको मात्रै छैन, खेलको तरिका नै परिवर्तन गरिदिएको छ ।

शुरुका केही महिना निःशुल्क र त्यसपछि अत्यन्त न्यून शुल्कमा सेवा दिँदा कम्पनीले कसरी मुनाफा कमाउन सक्छ भनेर धेरैको मनमा प्रश्न उठ्छ ।

यसको उत्तर खोज्नुअघि मुकेश अम्बानीको दीर्घकालीन बृहत् महत्वाकांक्षाबारे बुझ्न जरुरी छ ।

भारतीय दूरसञ्चार बजारमा जिओ प्रवेश गर्नुअघि-

१) भारतमा १ अर्ब मोबाइल प्रयोगकर्ता थिए, जसमध्ये ३४ प्रतिशतमात्र इन्टरनेटसँग जोडिएका थिए ।

२) १ अर्बमध्ये जम्मा १२ प्रतिशतले मात्र थ्रीजी (वा माथि) प्रयोग गर्थे ।

माथिका दुई तथ्यलाई विश्लेषण गर्ने हो भने अबको भारतीय दूरसञ्चार बजार भ्वाइस नभएर इन्टरनेट डाटाको हुनेछ ।

दूरसञ्चार सेवाप्रदायक एयरटेल, आइडिया र भोडाफोनलाई यो तथ्य थाहा त थियो तर उनीहरूले यसतर्फ योजना नै बनाएनन् । किनकि उनीहरूले यसलाई आवश्यकता नै ठानेनन् ।

उनीहरूका ग्राहक तान्ने अरू ठूला सेवाप्रदायक थिएनन् । यस्तो अवस्थामा जसले भारतीय इन्टरनेटको ठूलो हिस्सामा नियन्त्रण जमाउँछ, उसैले पूरै मुलुकको दूरसञ्चार क्षेत्रमा कब्जा जमाउँथ्यो ।

जिओ यही रणनीतिमा टेकेर उदायो । उसले डाटा केन्द्रित योजनालाई तुफानझैं अगाडि बढायो । ग्राहकलाई आकषिर्त गर्न निःशुल्क डाटा उपभोग गर्न दियो- त्यो पनि एक वर्षसम्म । रोमिङ शुल्क लिएन ।

लोकल र एसटीडी कल पनि निःशुल्क दियो । विभिन्न योजनाअन्तर्गत दैनिक १ जीबीसम्म निःशुल्क डाटा उपलब्ध गरायो । ‘वेलकम अफर’, ‘हृयाप्पी न्यु इयर अफर’ र ‘समर सपर््राइज अफर’को नामबाट निःशुल्क डाटा दियो ।

पछि नियामक निकाय ‘भारतीय दूरसञ्चार प्राधिकरण -टीआरएआई)’ले यसमा प्रतिबन्ध लगाइदियो ।

त्यसपछि ‘धन धना धन अफर’ लिएर झुल्कियो । यसरी जिओले प्रयोगकर्तालाई इन्टरनेटको लत लगाइदियो । उसले ८ देखि १० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँछ ।

अब जिओ र अरु सेवा प्रदायक बीचको अन्तर हेरौं ।

रिलायन्स जिओको सबैभन्दा ठूलो बल भनेको अप्टिकल फाइबर नेटवर्क हो ।
जिओसँग भारतकै सबैभन्दा लामो फाइबर अप्टिकल नेटवर्क (२ लाख ५० हजार किलोमिटर) छ ।

ऊसँग ९० हजार पर्यावरणमैत्री फोरजी टावर छन् । यति भएपछि भारतका २२ दूरसञ्चार वृत्तभर द्रुत गतिको फोरजी नेटवर्क फैलाउन जिओलाई कुनै समस्या नै भएन ।

यति ठूलो नेटवर्क स्थापना गर्न रिलायन्सले १५ खर्ब भारु लगानी गरेको छ ।

यो भनेको एयरटेल, आइडिया र भोडाफोनको (फोरजी) लगानी जोडेर पनि दुईले गुणान गरे बराबर हो ।

जिओले मुख्यतः ५ चरणका रणनीति बनायो-

१) चल्तीको शुल्कलाई चुनौती दिँदै ग्राहकलाई निःशुल्क डाटा उपलब्ध गराउने । सशुल्क सेवामा पनि न्यून मूल्य तय गर्ने ।

२) निःशुल्क डाटा प्रयोगका लागि अरु सेवाप्रदायक त्यागेर जिओमा आउन वा कमसेकम एउटा सिम लिन हरेकलाई प्रेरित गर्ने ।

३) फाइबर नेटवर्कको सबैभन्दा ठूलो सञ्जालबाट द्रुत गतिको इन्टरनेट चलाउन अभिप्रेरित गर्दै दैनिक १ जीबी डाटा पनि थोरै भएको अनुभूति दिलाउने ।

४) ग्राहक संख्या बढाउन आकर्षक योजना ल्याउने र ग्राहक सेवालाई चुस्त र अन्तक्रिर्यात्मक बनाउने ।

५) यसरी जिओको नेटवर्कमा समाहित हुने करोडौं ग्राहकबाट बिस्तारै लगानी फिर्ता ल्याउने ।

फाइबर नेटवर्कको सञ्जाल विस्तार गरेपछि चालू खर्च ठूलो हुँदैन । न्यून शुल्कमै सेवा दिएर पनि खर्च धान्न सकिन्छ । जिओले यही रणनीतिमा काम गर्‍यो ।

त्यसै कारण उसले आफूलाई बढीभन्दा बढी इन्टरनेट केन्दि्रत गर्‍यो । यदि ६० प्रतिशत भारतीयले मासिक १ जीबी इन्टरनेट किनेर चलाए भने जिओले आफ्नो प्रारम्भिक लगानी ३ वर्षमै उठाउँछ ।

जिओले आफूलाई मोबाइल इन्टरनेटमा मात्रै केन्दि्रत गरेको भने होइन ।

उसले डिजिटल संसारका सम्पूर्ण पक्षलाई समेट्दै अघि बढ्ने योजनाअनुरूप आफूलाई संगीत, टेलिभिजन शो, खेलकुददेखि चलचित्रसम्म फैलाएको छ ।

जिओ मनी, जिओ प्ले, जिओ जोइन एप सर्वाधिक चल्तीमा छन् । यी सेवाबाट पनि जिओले मनग्य आम्दानी गरिरहेको छ ।

भोलिको बजार नै मोबाइल इन्टरनेट भएको र यो नै सबैभन्दा नाफामूलक सेवा भएको बुझेर रिलायन्सले आफूलाई इन्टरनेटमा अगाडि बढाएको हो ।

‘यदि हामी सामाजिक मूल्य, ग्राहक सेवा र कर्मचारीप्रति बफादार हुने हो भने आर्थिक मुनाफा अवश्यम्भावी छ’, एउटा अन्तर्वार्तामा रिलायन्सका मालिक मुकेश अम्बानीले भनेका छन् ।

जिओले पनि यही मूल्य र मान्यताका साथ सेवा दिइरहेको छ । अहिले जिओसँग करिब १७ करोड ग्राहक छन्, जुन कुल प्रयोगकर्ताको ३५ प्रतिशत हो ।

जिओको आक्रामक बजार विस्तारपछि आइडिया, एयरटेल, भोडाफोनजस्ता सेवा प्रदायकले पनि मूल्य घटाउँदै नयाँ-नयाँ योजना ल्याइरहेका छन् । यसको जस जिओलाई जान्छ ।

नेपाली उपभोक्ता पनि जियोजस्तै टेलिकम कम्पनीको पर्खाइमा छन् ।

नेपाली बजारमा प्रतिस्र्धी वातावरण बनाउन थप टेलिकम कम्पनीलाई प्रवेश दिने हो भने भारतीय बजारमा जियोले उपलब्ध गराएको सेवा नेपाली उपभोक्ताले पनि निकट भविष्यमै पाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment