Comments Add Comment

माघ १ क-कसको पर्व ?

१ माघ, काठमाडौं । माघ १ को अवसरमा प्रदेश पाँच सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ । थारु र मगरको पर्व भनेर आफ्नो प्रदेशमा विदा दिइएको प्रदेश पाँच सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरी बताउँछन् ।

थारु समुदायले यो पर्वलाई माघीको रुपमा मनाउँदै आएको छ । थारु कल्याणकारी सभाका सहमहामन्त्री मीनराज चौधरीका अनुसार माघी थारुकोहरूको पर्वको पनि पर्व हो । आफ्नो समुदायले यो पर्वलाई वर्ष दिनको सम्पूर्ण कामको समीक्षा गरेर अर्को वर्षको योजना बनाउने अवसरको रुपमा मनाउने गरिएको चौधरी बताउँछन् ।

रुपन्देहीका थारु समुदाय माघी मनाउँदै ।

माघीमा ढिकरी (चामलको पिटोबाट बनेको विशेष परिकार), चिचर, सक्खरखण्ड, घुँघी लगायतका परिकार खाएर मनाउने गरिन्छ । आफूहरूले माघीलाई सामाजिक सद्भाव र स्वतन्त्रका लागि मनाउने गरिएको चौधरी बताउँछन् । उनी भन्छन्, ‘थारु आन्दोलनका क्रममा पक्राउ परेकाहरू थुनामै रहेकाले यो वर्ष माघीलाई आन्दोलनको रुपमा मनाइरहेका छौं ।’

माघी पर्व आफूहरूले महिनाभरी मनाउने गरिएको चौधरी बताउँछन् । सरकारले २०६३ सालमा माघीलाई लक्षित गरेर १ माघमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

२०६५ सालमा सरकारले माघ १ लाई मगरको राष्ट्रिय पर्व घोषणा गर्‍यो । मगर अध्येता एमएस थापा मगर आफ्नो समुदायले पनि माघ १ लाई नयाँ वषैको सुरुवातको रुपमा मनाउने गरेको बताउँछन् ।

माघीको अवसरमा गोरखामा नेपाल मगर संघले गरेको कार्यक्रम ।

पूर्वमन्त्रीसमेत रहेका थापा जाडो सकिएर गर्मी सुरु हुने दिनको रुपमा तरुल खाने गरिएको बताउँछन् । त्यस दिनमा नदीमा तोरण तार्ने, चेलीेबेटीलाई पुज्ने, तरुल खाने, बटुक खाने चलन रहेको थापाले जानकारी दिए ।

प्रदेश ५ सरकारले भने जस्तो माघी थारु र मगरको मात्रै पर्व भने होइन । तराई मधेशमा माघ १ मा तिला पर्व पर्छ । प्राध्यापक सुरेन्द्र लाभ चन्द्रमाको स्थिति परिवर्तन भएको र जाडो सकिएको दिनको रुपमा तिला सम्वत मनाउने गरिएको बताउँछन् ।

तिला सम्वतमा मिथिला र भोजपुरामा तिलको मिठाई र खिचडी खाने चलन छ । माघ १ बाट दिन लामो हुने भएकाले तिलको मिठाई खाने गरिएको लाभ बताउँछन् । ‘हरेक दिन एक तिल जति दिन लामो हुने विश्वासले तिलमको मिठाई खाने गरिएको विश्वास छ’, प्राध्यापक लाभले अनलाइनखबरसँग भने ।

लिम्बु राई, सुनुवार, सुरेल, याक्खा, धिमाल लगायतका किराँत समुदायले माघ १ लाई येले सम्वत्को रुपमा मनाउने गर्छन् । प्राज्ञ अमर तुम्ह्याङका अनुसार यो सम्वत्को नामाकरण यलम्बर राजाको स्मरणमा गरिएको हो ।

किराँतीहरूमा कक्फेक्वा (सेतो चाँप) फुलेपछि नयाँ वर्ष शुरुवात हुन्छ भन्ने मान्यता छ । कक्फेक्वा फुल्ने दिन कोदोको रोटी, कन्दमुल खाएर नयाँ वर्षको शुरुवात गर्ने गरिएको प्राज्ञ तुम्ह्याङ बताएँछन् ।

तनहुँको देवघाटमा माघेसंक्रान्तिको अवसरमा स्नान गर्दै सर्वसाधारण ।

छन्त्याल समुदायले माघ १ लाई छार म्हेङ (म्हिलाङे सोङ्ती) पर्वको रुपमा लिन्छन् । उनीहरूका लागि पनि छार म्हेङ नयाँ वर्ष हो । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालका छार म्हेङका दिन खानीमा विशेष पूजा गरिन्थ्यो । खानी नभत्कियोस्, चोट पटक नलागोस् भनेर पूजा गर्ने गरिएको हो । पितृ पूजा, चेलीबेटीलाई खुवाउने, तरुल, पिँडालु खाने गर्छन् ।

माघ १ का दिन सूर्य मकर राशीमा प्रवेश गर्ने र उत्तरायण सुरु हुने हिन्दु पञ्चाङ्गको मान्यता छ । हिन्दु धर्ममा यो दिनलाई विभिन्न धार्मिक अनुष्ठान आरम्भ हुने दिनेको रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment