Comments Add Comment

जापानमा बालबालिकालाई कसरी सिकाइन्छ ?

हामी अहिले बच्चाहरुप्रति संवेदनशिल छौं । बच्चालाई कस्तो शिक्षा दिने ? कसरी दिने ? उनीहरुसँग कसरी समय विताउने भन्ने कुरा सोचिरहेका हुन्छौं ।

शिक्षा दिने भन्नसाथ हामी विद्यालय सम्झन्छौं । त्यही कारण बच्चालाई कलिलो उमेरमै पुस्तकको भारी बोकाएर विद्यालय पठाउँछौं । हामीलाई लाग्छ, विद्यालयमा पुगेपछि बच्चा शिक्षित हुन्छन् । जान्ने हुन्छन् । ज्ञानी हुन्छन् । वुद्धिजिवी हुन्छन् ।

तर, जापानको शैक्षिक अभ्यास फरक छ । त्यहाँ ६ बर्षअघि बालबालिकालाई विद्यालय पठाइदैन । ६ बर्षअघि बच्चाले पेन्सिल समाउनु पर्दैन । कुनै अक्षर चिन्नु पर्दैन । उनीहरुमाथि कुनै हस्तक्षेप हुँदैन । जसरी हुर्कन, रमाउन चाहन्छन्, त्यही अनुसारको माहौल तयार गरिन्छ ।

किताब होइन, क्षमता विकास

हामीकहाँ बालबालिका कितावमुखी बनाइन्छ । जुनसुकै कुराको समाधान कितावमा छ भन्ने बुझाइन्छ । त्यही कारण उनीहरु हरेक समस्याको हल खोज्न किताबका पाना पल्टाउँछन् ।

जापानमा भने मैलें फरक पाएँ । त्यहाँ बालबालिकालाई पढाउने, घोकाउने नभई क्षमता विकास गराइन्छ । अर्थात विद्यालय नै उनीहरुका लागि यस्तो संसार हो, जहाँ बालबालिकाले उन्मुक्त ढंगले आफुलाई निखार्न सक्छन् ।

बाल्यवस्थामा उनीहरुलाई कुनै उपदेशको भारी बोकाइदैन । कुनै शिक्षाको ठेली घोकाइदैन । बरु जीवनोपयोगी कुरामा अभ्यास गराइन्छ ।

कुमुद भट्ट

आफै सिक्ने माहौल

हामी साना बच्चालाई विद्यालय पठाउँछौं । पढ्न लगाउँछौं । तर, पुस्तक तयार गर्न, ब्यागमा हाल्न, होमवर्क मिलाउनका लागि भने हामी आमाबुवा खट्छौं ।

तर, यो पनि ठिक होइन रहेछ । किनभने हामीले जब उनीहरुको सबै काम गरिदिन्छौं, तब उनीहरु परनिर्भर हुन्छन् । उनीहरुले पढेर पनि त्यसको कुनै अर्थ रहँदैन ।

कतिसम्म भने, बच्चाले जुठो छर्छ भनेर हामी उनीहरुलाई भात ख्वाइदिन्छौं । उनीहरुलाई भात छरेर खान दिदैनौं । फोहोर हुन्छ भनेर । तर, यसको असर चाहि के हुन्छ भने बच्चाहरुले आफै खान सिक्दैनन् । आफ्नो काम आफै गर्नुपर्छ भन्ने भावनाको विकास हुँदैन । उनीहरु परनिर्भर हुन्छन् ।

गर्नुपर्ने के रहेछ भने, बच्चाले जसरी गर्छन्, खुला रुपमा छाड्नुपर्छ । उनीहरुले भात छरेपनि उनीहरुलाई नै खान दिनुपर्छ । विस्तारै बानी पर्छ । पुस्तक मिलाउने, व्याग बोक्ने काममा पनि उनीहरुलाई नै खटाउनुपर्छ ।

यसले उनीहरुलाई काम गर्न सिकाउँछ । कामले उनीहरुलाई धेरै कुरा सिकाउँछ । तर, हामी बच्चालाई काम गर्न दिदैनौ र पाठ घोक्न लगाउँछौं । हाम्रो अभ्यास ठिक उल्टो छ ।

पढाउने होइन, सिक्ने वातावरण

विश्वमै अहिले बाल-शिक्षाको स्वरुप परिवर्तन हुँदै आएको छ । अबको विश्वमा बच्चालाई दबाव दिएर पढाउने होइन, हौसला दिएर नयाँ कुरा सिक्न उत्सुकता जगाउने हो । यस किसिमको माहौल हाम्रो कक्षा कोठा, घर सबैमा हुनुपर्छ ।

जापानको शिक्षामा विद्यार्थीलाई खेलको माध्यामबाट नयाँ नयाँ अभ्यास गराइन्छ, जो उनीहरुका लागि उपयोगी हुन्छ । साथै उनीहरुलाई अक्षरहरु पढाएर होइन, अभ्यासबाट नयाँ अनुभव हासिल गराइन्छ । प्रकृतिसँग नजिक पुर्‍याइन्छ । बाहिरी इन्दि्रयहरुको माध्यामबाट नयाँ कुराहरु अनुभूत गराइन्छ । सिकाइको प्रभावकारी विधी हुन् यी ।

दबाब र सजायको उपलब्धी छैन

हामी बच्चालाई पढ्नका लागि प्रेरित होइन, दबाव दिन्छौं । कुनैपनि कुरा जान्नैपर्छ, गर्नैपर्छ भन्छौ । यस किसिमको मानसिकताले बच्चामा दबाव पैदा हुन्छ । दबावले उनीहरुको रचनात्मक क्षमता गुमाउँछ ।

जब बच्चाले पढ्दैन, होमवर्क गर्दैन, पाठ घोक्दैन, जवाफ दिदैन हामी उनीहरुलाई सजाय दिन्छौं । गाली गर्छौं, कुट्छौं ताकि अर्को पटक उसले यस्तो गल्ती नदोहोर्‍याओस् । तर, यसले उनीहरुमा कुनै उपलब्धी हुँदैन । सुधार हुँदैन ।

बच्चालाई सजाय दिने नै होइन । यदि उनीहरुले कुनै कुरा जानेनन् भने सिक्ने मौका दिनुपर्छ । यदि उनीहरुले कुनै कुरा गल्ती गरे भने, गल्ती सुधार्ने मौका दिनुपर्छ । यदि उनीहरुले जानेरै वा बुझेरै गल्ती गरे भने त्यो गल्ती हो भन्ने महसुष गराउनुपर्छ । यसका लागि उनीहरुलाई सजाय दिने, गाली गर्ने नभई केही क्षणका लागि उक्त खेलबाट बञ्चित गराउनुपर्छ । उसले पाएको सुविधाबाट बञ्चित गराउनुपर्छ । यसले उनीहरुमा महसुष हुन्छ कि, अर्को पटक मैले त्यो गल्ती गर्नुहुन्न ।

घर पनि हुनुपर्छ बालमैत्री

बच्चाले जति समय विद्यालयमा विताउँछन्, त्यो भन्दा बढी समय घरमा बिताउने हो । यसको अर्थ के भने, बालबालिकाका लागि विद्यालयमा मात्र राम्रो वातावरण भएर पुग्दैन, त्यो भन्दा राम्रो वातावरण घरमा हुनुपर्छ ।

जब घरको माहौल बालमैत्री हुँदैन, तब उनीहरुले आफुलाई हुर्कनका लागि सही वातावरण पाउँदैनन् । घरमा बच्चाले खेल्ने, रमाउने वतावरण पाउनुपर्छ ।

अहिले त के पनि अभ्यास भइरहेको छ भने, बच्चाहरुलाई घरको काममा सहभागी गराउने । घर, भान्साको काममा उनीहरुलाई खटाउनुपर्छ । यसले गर्दा बालबालिकालाई काम गर्ने बानीको विकास मात्र हुँदैन, नयाँ नयाँ कुरा पनि सिक्ने मौका पाउँछन् । बच्चालाई यसरी घरमा काम गर्न लगाएवापत निश्चित पैसा दिनुपर्छ । उक्त पैसा बचत गर्न सिकाउनुपर्छ । यसले एकातिर श्रमको मूल्य बुझ्छन् भने, अर्कोतिर बचतको अभ्यास पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment