Comments Add Comment

सम्भव छ, निधिको उम्मेदवारीले रुखलाई छरितो बनाउनसक्छ

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनअघि आफ्नो आधिकारिक उम्मेदवार प्रस्तुत गर्न डेमोक्र्याटिक पार्टीको राष्ट्रिय अधिवेशन प्रारम्भ भएको छ । १२ वर्षअघि डेमोक्र्याटिक पार्टीको राष्ट्रिय अधिवेशनको सम्झना मेरो मानसपटलमा अझै ताजा छ ।

त्यो अधिवेशनको अन्तिम दिन सो पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार बाराक ओबामाको उम्मेदवारी स्वीकार गर्ने भाषणबाट म अत्यन्तै तरङ्गित भएको थिएँ । अमेरिकाको २०६५ भदौ १२ गते राति ओबामाले त्यो भाषण गर्दा नेपाली समयअनुसार भाद्र १३ गते बिहान भइसकेको थियो ।

बिहान त्यो भाषण सुनेर मैले नेपाली काँग्रेसको चालु केन्द्रीय कार्यसमितिको बैठकमा ६० वर्षमाथिका सबै नेताले १२ औं महाधिवेशनपछि राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने प्रस्ताव राखेको थिएँ । सो प्रस्ताव राख्न आफूलाई प्राप्त अभिप्रेरणाबारे मैले केन्द्रीय कार्यसमितिको बैठकमा राखेका विचारको सार स्मरण गर्न चाहन्छु ।

ओबामाको राष्ट्रपतिको उम्मेदवार स्वीकार गर्ने त्यो वक्तव्य अत्यन्तै प्रभावकारी थियो । एक त अमेरिकामा पहिलोपटक प्रमुख राजनीतिक पार्टीको तर्फबाट एकजना अश्वेत व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरिँदै थियो । त्यसमाथि उम्मेदवारीलाई अझ सबल रूपमा प्रस्तुत गर्न मार्टिन लुथर किंङले अत्यन्त लोकपि्रय भाषण गरेको ४५ वर्ष पूरा भएको वर्षगाठको दिन रोजिएको थियो  ।

मार्टिन लुथर किङ अश्वेत, विशेषतः अफ्रिकी मुलुकका अमेरिकी नागरिकको अधिकारका लागि अग्रपङ्क्तिमा संघर्ष गरेका नेता हुन् । रंगभेद, जातीय विभेदविरुद्धको आन्दोलनमा सबैभन्दा महत्वपूर्ण व्यक्तिका रूपमा उनको पहिचान अमेरिकामा मात्रै होइन विश्वमै व्याप्त छ । उनको सर्वाधिक लोकपि्रय भाषण भनेर ‘आइ हृयाभ अ ड्रिम’ (मेरो सपना छ) लाई मानिन्छ । त्यो भाषणको मूल सार भनेको ‘सबै मानिसहरू बराबर छन् भन्ने कुरा स्वतःस्पष्ट सत्यका रूपमा स्वीकार गर्ने हाम्रो मुलुक अमेरिका निर्माणको आर्दशलाई सम्झँदै हामी एकदिन ब्युँझने छौं र त्यस आदर्शको पक्षमा उभिनेछौं । त्यस्तो दिन आउने छ, अवश्य आउने छ, ‘मेरो त्यो सपना छ’ भन्ने थियो ।

४७ वर्षे अश्वेत युवक ओबामा अमेरिकाका लागि राष्ट्रपति प्रस्तावित हुनु मेरा लागि अलि फरक अभिप्रेरणाको क्षण हुन पुगेको थियो । मार्टिन लुथरकिङ पनि चर्चित भाषण गर्ने बेला ३४ वर्षीय युवक भएको सम्भिएँ । राष्ट्रपति बन्ने दृढ निश्चयसहित आफ्नो उम्मेदवारी प्रस्तुत गरे । दृढतापूर्वक भियतनाम युद्ध लडेका, युद्धबन्दी बनाइएका र लामो राजनीतिक अनुभव सँगालेका, अमेरिकी जनताले असाध्यै सम्मान गर्ने जन मकेनलाई पराजित गरेर ओबामाले अमेरिकाको राष्ट्रपति बन्दै इतिहास रचे ।

मार्टिन लुथर किङले सो भाषण गरेको त्यो बेला अमेरिकाको राष्ट्रपति जोन अफ कनेडी थिए । करिब दुई वर्षअघि नै नेपालमा युवक वीपी कोइराला प्रधानमन्त्री बनिसकेका थिए । ४४ वर्षको उमेरमा वीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री भएको १८ महिना नपुग्दै राजा महेन्द्रले सैन्य बलले ‘कू’ गरेर वीपीलाई प्रधानमन्त्री पदबाट हटाएर हुकुमी शासन मात्रै सुरु गरेनन्, विनाकारण वीपीलाई ८ वर्ष थुनेर पनि राखे । वीपीसँगै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत थुप्रै प्रजातन्त्रवादी नेताहरूलाई थुनेर महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थालाई फ्याँक्न नेपालले ३० वर्ष संघर्ष गर्नुपर्‍यो । प्रजातन्त्र नखोसिएको भए नेपाल अहिलेसम्म कस्तो भइसक्थ्यो होला भन्ने लागिराख्छ ।

केन्द्रीय कार्यसमितिको त्यो बैठकमा मैले उदाहरण दिएका अर्का व्यक्ति थिए-४९ वर्षको उमेरमा निर्वाचित भएर त्यो बेला बहालमा रहेका अस्ट्रेलियाका प्रधानमन्त्री केविन रड ।

अहिले उनी राजनीतिबाट अवकास लिएर अध्ययन अनुसन्धानको क्षेत्रमा क्रियाशील छन् । ६२ वर्षका उनी अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधीका लागि सी चिन फिङबारे अनुसन्धान गर्दैछन् र चीनसम्बन्धी विशेषज्ञका रूपमा चिनिन्छन् ।

केन्द्रीय कार्यसमितिको त्यो बैठकमा आफ्नो भनाइ टुङ्ग्याउने क्रममा मैले सूचना र सञ्चार प्रविधिले ल्याएको अभूतपूर्व परिवर्तन र परिवर्तनको प्रभाव अत्यन्त व्यापक र क्रान्तिकारी हुने विचार राख्दै परिवर्तनको दूरगामी प्रभाव आँकलन गर्न सक्ने व्यक्तिबाट मात्रै अबको राजनीतिक नेतृत्व सम्भव छ समेत भनेको थिएँ । त्यसै अर्थमा मैले ६० वर्ष नाघेका नेताहरूलाई क्रियाशील राजनीतिक जीवनबाट अवकास लिन आग्रह गरेको थिएँ ।

त्यसबेला उमेरको सीमा सम्बन्धमा आफैले राखेको विचारलाई स्वीकार गर्ने हो भने मैले पनि पार्टीको आगामी महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिन मिल्दैन । तथापि, यो पटक प्रमुख मध्येको पदमा प्रतिस्पर्धा गर्ने मलाई रहर मात्रै होइन मेरो दृढनिश्चय पनि छ ।

हुन त उमेरको सीमाबन्दी नेतृत्वका लागि सर्वमान्य वा अचुक औषधि होइन । अमेरिकामा पनि सन् १९९२ देखि लगातार २४ वर्षसम्म तुलनात्मक रूपमा युवा राष्ट्रपतिको शासन कालपछि अमेरिकाले पनि ७० वर्षे डोनल्ड ट्रम्पलाई २०१६ मा राष्ट्रपति निर्वाचित गर्‍यो । अहिले ७७ वर्षीय जो बाइडेनलाई राष्ट्रपति निर्वाचनमा चुनौती दिँदैछन् ।

उमेरले मानिसमा बुद्धिमत्ता र परिपक्कता ल्याउँछ, तर उमेरले राजनीतिक नेतृत्वका लागि अपेक्षित क्रियाशीलता र सतर्कताले विस्तारै विस्तारै असम्भव जस्तो बनाइदिन्छ । कोही अपवाद हुन्छन्, जस्तो-गिरिजाप्रसाद कोइराला । अहिले मलेसियामा महाथीर छन् ।

नेतृत्वमा उमेरको सीमाबन्दीको कुरा मैले केन्द्रीय कार्यसमितिमा त्यसबेला राखेको विचार र अहिले मेरो महत्वकांक्षालाई मेलमिलाप गर्न मैले पार्टीको एउटा वैधानिक व्यवस्थालाई सैद्धान्तिक आधार बनाउने बहाना पाएको छु । हाम्रो पार्टीमा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका तर वर्तमानमा पार्टीको कुनै पनि पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष नाघेका व्यक्तिलाई जेष्ठ राजनीतिज्ञ सभामा राख्न सकिन्छ । जेष्ठ राजनीतिज्ञ सभामा भएको व्यक्तिले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने भनेर हामीले लेखेका छौं ।

केन्द्रीय कार्यसमिति सदस्यको अर्थात् सभापतिदेखि सदस्यसम्मको कर्तव्य मध्ये एक प्रत्येक वर्ष कम्तीमा १० जिल्ला भ्रमण गर्नुपर्ने भनेर हामीले वैधानिक व्यवस्था गरेका छौं । अर्थात् पार्टीलाई मैले के योगदान दिएँ भन्ने कुरा महत्वपूर्ण छ । तर अब के योगदान क्रियाशील रूपमा दिन सक्छु ? यो काम मेरो सट्टा अर्को कसैले झन प्रभावकारी र भरोसायोग्य रूपमा गर्न सक्छ कि सक्दैन ? भन्ने उत्तर खोजेर मात्रै ६५ वर्ष पुगेपछि जेष्ठ राजनीतिज्ञ सभामा जाने कि पार्टीको क्रियाशील जीवनमा रहने भन्ने प्रश्नको निरुपण पार्टीका हामी प्रत्येक सदस्यले निरुपण गर्नुपर्छ ।

विमलेन्द्रजीको उम्मेदवारीले शेरबहादुरजी उम्मेदवार नहुने सम्भावनालाई पनि देखाएको छ । अर्को शेरबहादुर र विमलेन्द्रजी दुवै जना उम्मेदवार हुनसक्ने सम्भावनालाई पनि देखाएको छ । यो दुई मध्ये जे भएपनि यसले हाम्रो समूहलाई निकै तरंगित पार्छ ।

००००

आरजु राणा देउवा महत्वकांक्षा राखेर कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको छ । राजनीतिमा प्रवेश गरेको धेरै भएको छैन र उहाँसँग क्षमता पनि छ भन्ने मलाई लाग्छ । तर राजनीतिमा महत्वकांक्षा राख्ने मान्छेमा सहनशीलता त्यत्तिकै आवश्यक हुन्छ । पुस्करनाथ ओझाले आरजु देउवालाई सहयोग गर्नुभयो या भएन मलाई थाहा छैन ।

म एउटा कुरा के पनि मान्न तयार छु भने आरजुजी र उहाँका समर्थकले भनेजस्तै पुस्कर ओझाले हराउन भूमिका खेलेकै भए पनि आफ्नो महत्वकांक्षाका लागि उहाँलाई कारबाही गर्ने चरित्र काँग्रेसको हो जस्तो लाग्दैन ।

आरजु राणा देउवालाई लाई लाग्थ्यो होला, पार्टी सभापति, प्रधानमन्त्रीको श्रीमतीलाई पनि असहयोग गर्नेलाई सदस्य राखेर पार्टीको अनुशासन कसरी कायम रहला ।उहाँलाई नेपाली कांग्रेसको परम्परा थाहा नहोला, तर शेरबहादुर देउवालाई त्यो परम्परा राम्रोसँग थाहा छ । ५५ वर्षदेखि काँग्रेसको राजनीतिमा क्रियाशील रहेका नेताले कमसेकम आफ्नै श्रीमतीलाई यसमा क्षमाशील हुनुपर्छ भनेर सम्झाउन सक्नुपर्थ्यो, तर सक्नुभएन । स्वभावैले शेरबहादुर देउवाको क्षमाशील व्यक्तत्व हो । अहिले म उहाँको समूहमा छैन, तर ३५ वर्ष लामो संगत हुँदा मैले उहाँमा क्षमाशील स्वभाव रहेको पर्याप्त प्रमाण पाएको छु ।

तर त्यो आफ्नो स्वभाव विपरीत देउवा निष्ठुर बनेर पुस्कर ओझामाथि कारबाही गर्नु अचम्मको कुरा हो । उहाँ (शेरबहादुर देउवा)ले कारबाही पनि यस्तो मानिसलाई गर्नुभयो, जसलाई आफैँले आफूपछिको सुदूरपश्चिमको नेताको रूपमा ‘ग्रुम’ गर्न खोज्नुभएको थियो ।

पुस्कर ओझा अघिल्लोपटक त्यही ठाउँमा चुनाव जितेको ‘सिटिङ एमपी’ पनि हुन् । सबै ‘सिटिङ एमपी’हरूलाई हामीले टिकट दिने कोसिस गरेका थियौं । तर ओझाको हकमा उनको चित्त नबुझाई कांग्रेस राजनीतिमा प्रवेश गरेको लामो समय नभएकी आरजुलाई टिकट दिएपछि असन्तुष्टि बढ्नु स्वाभाविक कुरा नै हो । यसमा देउवाले पनि पार्टीको चरित्रअनुसार श्रीमतीलाई सम्झाउनु पर्थ्यो, त्यो देउवाजीले सक्नुभएन । आजको दिनमा सभापति बनेपछि पुरानो शेरबहादुर बदलिनुहोला भन्ने चिन्ता आमकार्यकतामा हुँदैन भनेर भन्न सकिन्न ।

शेरबहादुर देउवाभन्दा अझ पुराना र नेतृत्वमा देउवाकै हारहारीका नेता हुन्, रामचन्द्र पौडेल । जो अबको महाधिवेशनमा शेरबहादुर देउवालाई प्रतिस्थापन गरेर पार्टी सभापति बन्न चाहनुहुन्छ । उहाँलाई गोविन्दराज जोशीले सहयोग गर्नुभएन भन्ने कुरा स्वाभाविकै हो जस्तो लाग्छ । पौडेलजीको उजुरीबाट जोशीको उम्मेदवारी खारेज भएको थियो ।

त्यसको प्रतिक्रिया स्वरुप सहयोग गर्नुभएन होला, तर जोशी एउटा समय पौडेललाई पछार्छु भनेर कांग्रेसको राजनीतिमा हिँड्नुभएको थियो । तर अहिले त गोविन्दराज जोशी र रामचन्द्र पौडेलको राजनीतिक उचाइ एउटै त छैन । पौडेल सभापति भइसक्नुभएको छैन तर बन्ने कोसिसमा हुनुहुन्छ । हाम्रो समूहको मुख्य नेता हो । तर हाम्रो समूहको मुख्य नेतामा पनि गोविन्दराज जोशीलाई क्षमा गर्न सक्ने क्षमाशील चरित्र देखिएन ।

त्यो क्षमता नदेखिएकाले मलाई कहीँ न कहीँ हाम्रो समूहको मुख्य नेताले कांग्रेसको मुख्य नेता हुन आवश्यक क्षमाशील चरित्र देखाउन सक्नुभएन कि भन्ने लाग्ने गर्छ । त्यो चरित्र न त शेरबहादुर देउवाबाट प्रदर्शन भयो न त रामचन्द्र पौडेलबाट नै । यही विषयले मेरो मनमा एउटा तरंग सिर्जना गरिराखेको छ । महाधिवेशनमा पुग्दासम्म यो विषय मेरो मथिङ्गलमा चलिराख्ला भन्ने लाग्छ ।

००००

नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दो छ । कोरोनाले यस्तो रूप लेला भन्ने लागेको थिएन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अनुमान पनि नेपाल १५ सयदेखि १० हजार संक्रमित हुन्छन् भन्ने थियो । तर तीन महिनाको लकडाउन र त्यसपछिको डेढ महिनामा सरकारले आफ्नो क्षमता बढाउँदै कोरोना संक्रमणसँग जुध्ने तयारी गर्नुपर्थ्यो । तर त्यो गरेन ।

जसरी आँखाले नदेख्ने गरी कोरोना सर्छ, त्यसरी नै सरकारले पनि आँखाले नदेखेको हुनाले सरकारको राजनीतिक आँखाले नेपालमा कोरोना फैलिन्छ भन्ने देखेन । प्रधानमन्त्रीले त हामी सबैलाई अपमानित गर्ने गरी संसदमा समेत बोल्नुभयो । नेपालीले कोरोनाको संक्रमण तातोपानी र बेसार खाएर, हाच्छ्युँ गरेर भगाउन सकिन्छ भन्नुभयो ।

हाम्रो पार्टीका सभापति वा त्यो नभए दोस्रो, तेस्रो पदका आकांक्षी नेताहरू पनि कोरोनाप्रति गम्भीर भएको देखिएन । उहाँहरू यस्तो हतारो गर्नुहुन्छ कि आजै पार्टी अधिवेशन गरेर कामधाम सुरु गरिहालौं । कोरोनाको संक्रमणमा पनि उहाँहरूलाई १०/१५ दिन, महिना दिनमै महाधिवेशन गरिहालौं जस्तो हतारो छ ।

अहिले कोरोना संक्रमणसँग जुधौं, यसले महाधिवेशन ५/७ महिना त्यस्तै तलमाथि पर्ला तर, महामारी सकिएपछि स्वाभाविक तरिकाले राजनीतिक गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने पनि सोचाइ पनि राख्नु भएन । किनभने अब ढिलो गर्‍यो भने त मेरो पालो सकिएला कि भनेर आत्तिनु भएको छ । ‘टाइम इज रनिङ आउट फर मी अर्थात् मैले अहिले च्याप्पै समातिहालिन भने यो पद कहिल्यै प्राप्त हुँदैन । राजनीतिभन्दा बाहिरको जीवनमा जानुपर्ने बाध्यता आँखै अगाडि आइसक्यो’ भन्ने मानसिकता लिएर हिँडिरहेका छौं ।

भनिन्छ नि, डुब्न आँटेको मान्छेले सानो लठ्ठी भेट्टायो भने त्यसैमा समातेर म डुब्नबाट जोगिन्छु भन्ने सोच्छ । त्यस्तै, कांग्रेसमा ठूलो पद सभापति, उपसभापति, महामन्त्री नभई मेरो बेला जान लाग्यो भन्ने सोच देखिन थालेको छ, त्यो चिन्ताको विषय हो । किनकी त्यसले  महाधिवेशनमा पुग्दासम्म हामीलाई अझ बढी एक अर्कासँग झगडा गर्ने, तिक्ततापूर्व वातावरण निर्माण गर्ने र आफ्नै समूहभित्र नै उपसमूहमा विभाजित गराउन सक्छ ।

००००

हामी यस्तो बेलामा महाधिवेशनमा होमिएका छौं, जतिबेला नेपालमा कम्युनिस्ट शासन दिन प्रतिदिन जनता र आफैँभित्र समेत विश्वासको संकट बोकेर चलिरहेको छ । केहीदिन अगाडि मात्रै प्रधानमन्त्रीले ‘सरकारलाई बदनाम गर्ने केही मान्छेको पेसा नै बन्या छ, कामै यही हो, त्यति काम गर्छ, केका लागि गर्‍या छन् र कसका लागि गर्‍या छन् बुझ्या छैनौं’ भन्नुभयो ।

प्रधानमन्त्रीले त्यही कुरालाई विश्वास गर्नुहुन्छ भने त उहाँमा आउने दिनमा झनै अधिनायकवादी चरित्र देखिँदै जाने होला । असफलताले ठ्याप्पै छोप्न थालेको छ ।

मान्छे जति असफल हुँदै जान्छ, त्यति नै बाहिरको विरोधलाई अस्वाभाविक ठान्ने गर्छ । लकडाउनको सुरुसुरुमा उहाँले त्यो चरित्र प्रदर्शन गरिसक्नु भयो । अध्यादेश ल्याउन खोज्नुभयो, सक्नुभएन । त्यसपछि आफ्नै पार्टीमा असहिष्णु प्रवृत्ति देखाउनुभयो, त्यो पनि अब नसकेर सम्झौता गर्न थालेको जस्तो देखिन्छ । तर कम्युनिस्ट पार्टी अर्को चुनाव आउने बेलासम्म झनझन् असहिष्णु हुँदै जान्छ भन्ने लाग्छ ।

त्यसरी सरकार असहिष्णु हुँदै जाँदा र कम्युनिस्ट पार्टीले देखाएको सपना पूरा नहुँदा आमजनताको बीचमा ठूलो निराशा देखिनसक्छ । त्यो निराशाले ‘इनफ इज इनफ’ जस्तै आन्दोलन जन्माउँछ । त्यही आन्दोलनलाई हेरौं न, अब त अति भयो भनेर सरकारको असंवेदनशीलताविरुद्ध १८/१९ वर्षका केटाकेटीहरू आन्दोलनमा आए ।

इनफ इज इनफको आन्दोलनमा हामी पनि जिन्दावाद र मूर्दावाद गर्न जाऔं, आन्दोलनलाई ‘हाइज्याक’ गरौं भन्न खोजेको होइन । तर हामी कस्तो भयौंभन्दा सत्याग्रहीहरूलाई भेट्न जाने, मास्क लगाएर उनका कुरा सुन्नेभन्दा बढी केही हुन सकेन । मुकदर्शक भयौं अथवा सहानुभूति देखाउने मात्रै भयौं । यो बेलामा कांग्रेस जनताले भरोसा गर्न सक्ने पार्टीका रूपमा उभिनुपर्ने थियो, त्यो सकेन ।

अब आउने महाधिवेशन हाम्रो मुख्य अवसर हो । आउने महाधिवेशनसम्म पुग्दा कांग्रेस ठीक बाटोमा आउँछ भन्ने भरोसा जनताको मनमा सिर्जना भयो भने मात्रै मुलुक ठूलो दुर्घटनातर्फ जाने, हाम्रो चार पुस्ताले दुःख गरेर बनाएको संविधान र लोकतन्त्र धरापमा पर्नसक्ने जोखिमहरू आफैंमा कम हुँदै जान्छन् । यस्तो संवेदनशील समयमा महाधिवेशन गर्दैगर्दा पनि नेतृत्व भने गम्भीर देखिँदैन ।

शेरबहादुर देउवाले जुन किसिमको महाधिवेशनको तयारी गरिरहनुभएको देखिन्छ, त्यो महाधिवेशनले कांग्रेस भन्ने एउटा टापु सिर्जना गर्ने र त्यो टापुमा उहाँ र उहाँका आफ्ना मान्छे बाहेक अरू नरहने जस्तो स्वभाव प्रदर्शन गरेको छ । चाहे विभाग गठन होस्, वा अरू किसिमका गतिविधि हेर्दा यस्तै लाग्छ ।

उहाँले जिल्ला-जिल्लामा प्रवेश गराएको अथवा क्रियाशील सदस्यता बाँडेका कुराहरू, पार्टीका सबै गतिविधिहरू, भातृ-भगिनी संस्थाहरूको सञ्चालन अथवा यी सबै गतिविधिहरूले काँग्रेसलाई आमनागरिकका बीचबाट कांग्रेस अलि दिन बेग्लै किल्लामा वा बेग्लै टापुमा बसे हुन्छ जस्तो देखिएको छ । सभापति पदमा चुनाव जितौंला अनि, टापु बाहिर अम नागरिकका बिचमा जाउँला भन्ने सोचे जस्तो लाग्छ ।

तर यसरी छुट्टै टापुमा गएर बस्नुभन्दा आगामी चुनावमा कांग्रेसलाई आमजनतामा कसरी लिएर जाने भन्ने प्रश्न महत्वपूर्ण होला । अहिले देउवा सभापति हुँदा देशले जुन अवस्था भोगेको छ । अबको महाधिवेशनले फेरि उनैलाई दोहोर्‍याउँदा देशको समस्या समाधान गर्न सक्ने पार्टी काँग्रेस बन्ला कि नबन्ला ?

अब कांग्रेस इतिहासको पार्टी बन्ने हो कि भविश्यमा पनि आफ्नै गौरवशाली परम्परा अनुसार नेपाल र नेपालीलाई नेतृत्व प्रदान गर्नसक्ने पार्टी बन्ने हो ? महाधिवेशको मुद्धा यही हो ।

००००

यसका साथै कांग्रेसमा अहिले ४० वर्षदेखि ८० वर्षसम्म थुप्रै नेताहरू हुनुहुन्छ । ४० वर्षको अन्तररालको उमेर समूहमा पार्टीको मुख्य नेतृत्वमा जान सक्ने थुप्रै मान्छेहरू देखा परेका छन् । तर कांग्रेसमा टाउको यति धेरै भारी भयो कि त्यसले जरैदेखि तानेर रुख ढाल्ला कि भन्ने चिन्ता हुनथाल्यो । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने अर्को मुख्य चुनौती हो जस्तो लाग्छ ।

यसमा जोडिएको एउटा रमाइलो पक्षको चर्चा गरौं । हाम्रो समूहमा एकभन्दा धेरै उम्मेदवार भए शेरबहादुर देउवाले सहजै चुनाव जितिहाल्नुहुन्छ, शेरबहादुर देउवाले जित्नुभयो भने भोलि कांग्रेसलाई जुन किसिमको भरोसायोग्य पार्टी बनाउनुपर्ने हो त्यो बनाउन सक्नुहुन्न होला भन्ने हाम्रो आरोप छ । त्यसका बीचमा एउटा नयाँ तरंग सिर्जना भएको छ, विमलेन्द्र निधिको उम्मेदवारी घोषणाले ।

विमलेन्द्रजीको उम्मेदवारीलाई अरूले भन्दा मैले बढी गम्भीरतापूर्वक लिएको छु । मैले उहाँको उम्मेदवारीको अलिअलि खासखुस हुँदादेखि आफ्नो समूहका नेतालाई भनेको थिएँ कि यो कुरालाई गम्भीरतापूवर्क लिनुस् । उहाँहरूले लिनुभएको थिएन, अहिले समेत सबैले गम्भीर रूपमा लिइसकेको जस्तो त लाग्दैन मलाई, तर मैलेचाहिँ गम्भीरतापूवर्क लिएको छु ।

विमलेन्द्रजीको उम्मेदवारीले शेरबहादुरजी उम्मेदवार नहुने सम्भावनालाई पनि देखाएको छ । अर्को शेरबहादुर र विमलेन्द्रजी दुवै जना उम्मेदवार हुनसक्ने सम्भावनालाई पनि देखाएको छ । यो दुई मध्ये जे भएपनि यसले हाम्रो समूहलाई निकै तरंगित पार्छ । विमलेन्द्रजी र शेरबहादुरजी दुवैजना उम्मेदवार हुनुभयो भने वा शेरबहादुरजी उम्मेदवार हुनुभएन भने हामीकहाँ पनि एउटामात्रै उम्मेदवार हुने दबाब कम हुन्छ ।

कांग्रेसमा सभापतिकै लागि ४/५ जना उम्मेदवार हुन सक्छन् । ४/५ जना उम्मेदवार भयो भने महामन्त्री र उपसभापतिका लागि पनि ८/१० जनाको उम्मेदवारी आउँछ । त्यो बाटोले कांग्रेसलाई बिगार्छ जस्तो लाग्दैन ।

किनभने त्यसका दुई वटा पक्ष छन् । जस्तो टप  यति धेरै गह्रुंगो भएर रुखको जरै उखेलिएला कि भन्ने बेलामा यो पाँच पदका लागि २५ जना उम्मेदवार भए भने २० जना त चुनाव हार्छन् । २० जनाले चुनाव हार्नु भनेको उनीहरू अवकाश हुनु हो । यतिबेला कांग्रेसमा त्यो ‘फोर्सफुल रिटायर्ड’ चाहिएको पनि हो, नभए छरितो रुख बन्न सक्दैन । जनताले भरोसा गर्ने पार्टी कांग्रेस बन्न सक्दैन ।

त्यो प्रतिस्पर्धामा म पनि हारौंला, मलाई पनि साथीहरूले तपाईंको काम छैन अब घर गएर अरू काममा लाग्नोस् भनेर बिदा दिन सक्नुहुन्छ । मलाई सामाजिक सञ्जालमा लेख्नेमध्ये कतिपयले सभापति लड भनेर लेख्नुहुन्छ । कसैले महामन्त्री लड्न पनि सुझाव दिनुभएको छ ।

कतिपयले सभापति, महामन्त्री लड्ने होइन, तपाईंले युवाहरूलाई बाटो खाली गर्नुपर्छ पनि भन्दै हुनुहुन्छ । तपाईंकै छोड्ने बेला भयो नि भनेर सामाजिक सञ्जाल प्रकाशित मेरो अन्तर्वार्ताको टिप्पणीमा देख्छु । त्यसलाई मैले गम्भीरतापूवर्क लिएको छु । त्यसैले मलाई पनि अवसर हुन्छ, पार्टीलाई पनि असर हुन्छ भन्ने लाग्छ ।

दोस्रो, २०/२५ जना नेता सभापति, महामन्त्री र उपसभापतिमा लड्दा गुटगत उम्मेदवारी सकिन्छ होला जस्तो लाग्छ । कांग्रेसमा ०४६ सालयता कतिपय समूहका मान्छेहरू यताको त्यता र त्यताको यता आए होला, म पनि यतातिर छु । कोही मान्छे यताका उता पुगे होलान् । तर गुट अहिलेसम्म पनि स्थायी प्रकृतिकै छ ।

तर २०/२५ जना चुनाव लड्ने, २० जना जति रिटायर्ड गर्ने, ५ जनाले चुनाव जित्ने हो भने एउटै गुटका मान्छेले जित्दैन । ५ वटा मुख्य पदमा ४/५ वटा गुटका उम्मेदवारले जित्लान् । त्यसो भयो भने स्थायी प्रकृतिको गुटबन्दी सकिन्छ र यसले पनि रुखलाई छरितो बनाउँछ । आउने दिनमा कांग्रेस जनताको भरोसायोग्य पार्टी बन्न सक्छ ।

अन्त्यमा,

पार्टीको विधान बनाउने बेलामा मैले एउटा प्रस्ताव राखेँ कि नेपालको कानुनले बन्देज नलागेको कसैले पनि नेपाली कांग्रेसको सदस्य हुन्छु भन्यो भने सदस्यता दिने । कांग्रेसमा क्रियाशील र साधारण भन्ने दुई खाले होइन एकै खाले सदस्यताको मात्र प्रावधान राखौं । केन्द्रीय सदस्य प्रदीप पौडेलजीले पनि विधान मस्यौदा समितिका त्यही प्रस्तावलाई समर्थन गर्नुभयो र, राम्रैसँग बहस चलेको थियो ।

तर रामचन्द्र पौडेलजीले भन्नुभयो- ‘मिनेन्द्र ! आउने दिनमा शेरबहादुरजीलाई सजिलोसँग फेरि सभापति बन्नलाई तपाईं बाटो मात्रै खोल्नुहुन्छ । यसरी खुला गरेर जसले पनि सदस्यता पाउने बनाइयो भने उहाँले सदस्यता बाँडेको बाँड्यै गरेर आउने महाधिवेशन सजिलै जित्नुहुन्छ, यसो नगर्नुस् ।’

म उहाँकै मूल प्रतिनिधिका रूपमा समितिमा गएको थिएँ, त्यसैले यो भनाइले बन्धनमा परेँ । त्यही बन्धनका कारण ‘कम्प्रोमाइज’ गरेर नेपाली कांग्रेसको सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्यता पाउने व्यवस्था राखियो ।

त्यो व्यवस्था १४ औं महाधिवेशनमा यो व्यवस्था लागू हुन नसके पनि महाधिवेशनपछि लागू होस् भन्ने लाग्छ । किनभने, कांग्रेस आमनागरिकको पार्टी बन्नुपर्‍यो । आम नागरिकको पार्टी बन्नुको अर्थ नागरिकको मनमा भएको कुरा कांग्रेस पार्टीमा सहजै प्रवेश हुन सकोस् । कांग्रेसले सोचेको कुरा आमनागरिक कहाँ पुगेर छलफलबाट टुङ्गोमा पुगोस् । आमनागरिकले कांग्रेसलाई प्रभावित गर्ने, कांग्रेसले आमनागरिकको सोचलाई प्रभावित गर्ने वातावरण होस् ।

आजको अवस्था हेर्नुस् त, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबारे धेरै ठूलो अभिरूचि देखिँदैन । कांग्रेसको झगडाबारे अलिअलि देखिन्छ । किनकी आममनागरिकको सरोकार र चासोको विषय कांग्रेसको छलफलको एजेण्डा बन्न सकेन ।  हामीले त केबल पेसा व्यवसाय केही नगर्ने, अनुत्पादक मान्छेहरू बनाएका छौं ।

जनताको विषयलाई बोकेर हिँड्दा मात्रै मेरो लक्ष्य पूरा हुन्छ भन्ने सोचले धेरै जनाले कांग्रेसमा राजनीति गरेनन् कि भन्ने चिन्ता लाग्न थालेको छ । र, यही कमजोरीका साथ महाधिवेशनमा होमियौं भने फेरि पनि कांग्रेस आमजनताको पार्टी बन्न सक्दैन ।

कार्यकर्ताको मात्रै पार्टी र नेताहरूको सत्ता खेलको मात्रै पार्टी बनाइयो भने हामी बिस्तारै इतिहासमा कैद हुने पार्टी बन्न सक्छौं । आगामी महाधिवेशनले पार्टी यो जोखिमबाट  पार लगाउन सक्नुपर्छ, कुन समूहले जित्छ र को सभापति बन्छ भन्ने महत्व छैन ।

अब कांग्रेस इतिहासको पार्टी बन्ने हो कि भविश्यमा पनि आफ्नै गौरवशाली परम्परा अनुसार नेपाल र नेपालीलाई नेतृत्व प्रदान गर्नसक्ने पार्टी बन्ने हो ? महाधिवेशको मुद्धा यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment