Comments Add Comment

नेपालमा अब निजी जहाज राख्न पाइने !

१२ भदौ, काठमाडौं । नेपालमा अब निजी प्रयोजनका लागि जहाज खरीद गर्न सकिने भएको छ । सरकारले निजी जहाज आयात गरी सञ्चालनमा ल्याउन सकिने गरी नीति बनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ को अन्तिम मस्यौदामा यस्तो प्रावधान समेटिएको छ । सरोकारवालाको राय लिएर पास गर्ने प्रक्रियामा रहेको मस्यौदाअनुसार अब निजी तथा तालिम प्रयोजनका लागि एक इन्जिन भएको वायुयानको आयात र सञ्चालन गर्न पाइने छ । यसका लागि वायुयान उत्पादन गर्ने संस्थाले तोकेको इन्जिन परफरमेन्स, नियामक निकायले जारी गरेका शर्त पूरा गर्नुपर्छ ।

त्यस्तो विमान व्यापारिक उडानमा भने लगाउन पाइने छैन । तर, यस्ता जहाजका लागि समेत हवाई उडान सुरक्षाका प्रावधान भने व्यवसायिक उडानसरह लागु हुने भएको छ ।

१२ वर्ष पुराना जहाज आयात गर्न नपाइने

अब नेपालमा कुनै पनि कम्पनीले १२ वर्षभन्दा पुराना जहाज आयात गर्न पाउने छैनन् । १२ वर्ष पुरानो वा इकोनोमिक डिजाइन लाइफको ५० प्रतिशत पूरा भएको वा ३५ हजार प्रेसराइजेशन साइकल पूरा गरेकोमध्ये जुनसुकै अवस्थाको जहाज पनि नेपालमा खरीद गरी ल्याउन पाइने छैन । यसअघि १५ वर्षसम्म पुराना जहाज आयात गर्न सकिने प्रावधान रहेको थियो ।

स्वतन्त्र दुर्घटना जाँच संयन्त्र

अहिले कुनै जहाज दुर्घटना भएमा पर्यटनमन्त्रीस्तरीय निर्णयबाट दुर्घटना जाँच आयोग बनाउने प्रचलन रहेको छ । यसले हवाई दुर्घटनामा भएका जाँच र अनुसन्धानमाथि प्रश्न उठिरहेको छ । नयाँ नीतिले स्वतन्त्र जाँच संयन्त्र स्थापनाको अवधारणा ल्याएको छ ।

आइकाओ र युरोपेली युनियनले लामो समयदेखि नेपालमाथि उठाइरहेको एउटा प्रश्न दुर्घटना जाँच सम्बन्धमा स्वतन्त्र संयन्त्रको पनि हो । वायुयानको दुर्घटना जाँचलाई विश्वसनीय एवम् प्रभावकारी बनाउन एक स्वतन्त्र, साधन स्रोत सम्पन्न दुर्घटना जाँच संयन्त्र स्थापना गर्ने मस्यौदामा उल्लेख छ ।

८० प्रतिशतसम्म विदेशी लगानी

अब अन्तर्राष्ट्रिय वायुसेवा सन्चालन गर्ने कम्पनी स्थापना गर्दा ८० प्रतिशतसम्म विदेशी लगानी ल्याउन पाइने भएको छ । उता, फ्लाइङ स्कुल (तालीम तथा पठनपाठन)मा भने ९० प्रतिशतसम्म विदेशी लगानीको स्वीकृति दिने नीति सरकारले ल्याएको छ ।

मर्मत सम्भार संस्था (एमआरओ) स्थापना गर्दा भने ९५ प्रतिशतसम्म विदेशी लगानीले स्वीकृति पाउनेछ ।

आन्तरिक वायुसेवा सञ्चालन गर्ने कम्पनीले भने अधिकतम ४९ प्रतिशतसम्म मात्र विदेशी लगानी ल्याउन पाउने छन् ।

नेपालमा फ्लाइङ चलाउन चाहेमा उनीहरुलाई निश्चित अवधिसम्म विमानस्थल प्रयोग निःशुल्कसमेत गर्न सकिने प्रावधान छ । यसले स्वदेशमै तालीम तथा उडान प्रशिक्षण स्कुलहरु खोल्न प्रोत्साहन गर्ने भएको छ । नेपालमा प्रयोगमा नरहेका विमानस्थलहरु यस्तो प्रयोजनमा उपयोग हुनेछन् ।

अन्तर्राष्ट्रिय उडानको अनुमति खुकुलो

आन्तरिक उडानमा लगातार ५ वर्ष सेवा गरेका वायुसेवा कम्पनी अब अन्तर्राष्ट्रिय उडानका लागि समेत योग्य हुनेछन् । यस्ता कम्पनीले त्यसपछि पनि कम्तिमा तीन वटा जहाजबाट आन्तरिक उडानलाई भने निरन्तरता दिनु पर्ने भएको छ ।

नयाँ स्थापना हुने वायुसेवा कम्पनीले कम्तिमा एक वर्षभित्र वायुयानको संख्या ३ वटा पु¥याउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment