Comments Add Comment

गुन्द्रुकभन्दा सस्तो बन्यो ब्रोइलर कुखुराको मासु

१२ भदौ, काठमाडौं । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य कालिमाटी तरकारी बजारले तोकेको गुन्द्रुकको भन्दा पनि सस्तो भएको भन्दै कुखुरापालक किसान चिन्तित भएका छन् ।

काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २९५ रुपैयाँ तोकिएको छ ।

सातामा तीन पटकसम्म मूल्य घटेपनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

प्रतिकिलो २५५ रुपैयाँमा पनि मासुको खपत नभएपछि शुक्रबारबाट पुनः मासु सस्तो बनाउने निर्णय भएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।

संघको बिहीबार बसेको बैठकले तयारी मासुको प्रतिकिलो मूल्य १५ रुपैयाँ घटाएर २४० मा झारिएको अध्यक्ष बिसीको भनाइ छ ।

खपत नै भएन मासु

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक साढे दुईदेखि तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, लामो समय लकडाउनको कारण उक्त खपत आधिमा झरेको संघका अध्यक्ष बिसी बताउँछन् ।

सुरुआती लकडाउनले कुखुरा बिक्री गर्न नसकेका किसानले कुखुरा पालन नगरेपछि असार आइपुग्दा बजारमा मासुको अभाव भएको मूल्य ३९० रुपैयाँ प्रतिकिलोसम्म पुगेको संघको भनाइ छ ।

‘मूल्य आकासिएपछि किसानले उत्पादन बढाएको तर पुनः निषेधाज्ञा सुरु भएपछि मूल्य ओरालो लाग्यो,’ अध्यक्ष बिसीले भने ।

पछिल्लो १५ दिनमा मासुको मूल्य किलोमा १५० रुपैयाँले सस्तो भएको र घट्दो मूल्यका कारण किसानको लागत पनि नउठ्ने अवस्था आएको संघले जनाएको छ ।

तराइका जिल्लामा ब्रोइलर उत्पादन बढेको र ती कुखुरा काठमाडौं भित्रिने क्रम बढ्दा पनि काठमाडौंमा मूल्य ओरोलो लागेको व्यवसायीहरुले जनाएका छन् । काठमाडौं बाहिरका जिल्लामा कुखुराको मासु झनै सस्तो भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment