News Summary
Generated by OK AI. Editorially reviewed.- बिल गेट्सले एआईले ल्याउने सामाजिक परिवर्तनका लागि कुनै पनि सरकार तयार नरहेको र अमेरिकासहितका देशहरू धेरै पछाडि रहेको बताए।
- उनले एआईले रोजगारीमा ठूलो असर, साइबर हमला र एआई कम्प्यानियनप्रति लतको जोखिम बढाउने चेतावनी दिँदै विश्व नेताहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिए।
- बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले अर्को दुई वर्षमा एआई पहुँच विस्तार गर्न कम्तीमा १ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ।
३० भदौ, काठमाडौं। माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले विश्वका कुनै पनि सरकार एआईले ल्याउने सामाजिक परिवर्तनका लागि तयार नरहेको चेतावनी दिएका छन्।
रोयटर्सलाई दिएको अन्तर्वार्तामा गेट्सले एआईले रोजगारीमा ठूलो असर गर्नुसँगै साइबर हमलाको जोखिम र एआई कम्प्यानियनप्रति लत लाग्ने खतरा औंल्याए।
‘मलाई लाग्दैन कुनै पनि सरकार यो विषयमा जति गहिरो हुनुपर्ने हो त्यति गहिरो छ,’ गेट्सले भनेका छन्।
उनले सरकारहरू एआई मामिलामा ‘धेरै पछाडि’ रहेको बताउँदै अमेरिका र चीनजस्ता शक्तिशाली देशहरूले मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
गेट्सले एआईलाई ‘एलियन इन्टेलिजेन्स’ सँग तुलना गर्दै सबै देश एकजुट हुनुपर्ने बताएका हुन्।
गेट्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टिमसहित विश्व नेताहरूसँग यो विषयमा कुरा गरिरहेको र चीनका राष्ट्रपति सी चिनफिङसँग यही वर्षको अन्त्यतिर भेट्ने योजना रहेको बताए।
यद्यपि, यहीबीचमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले अर्को दुई वर्षमा एआई पहुँच विस्तार गर्न कम्तीमा १ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ। यो रकम फाउन्डेसनले वार्षिक ९ अर्ब डलर खर्च गर्ने अघिल्लो घोषणाको हिस्सा हो।
फाउन्डेसनका अनुसार यो लगानी शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा काम गर्ने साझेदारहरूमा जानेछ। यसले सबै भाषामा काम गर्ने लार्ज ल्याङ्वेज माेडल जस्ता एआईका आधारभूत डेटा संरचना बनाउन पनि मद्दत गर्नेछ।
गेट्सले स्वास्थ्य क्षेत्रमा एआईको सम्भावना धेरै रहेको पनि बताए, जसमा अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्नेदेखि नयाँ औषधि र खोप पत्ता लगाउनेसम्मका काम पर्छन्।
तर यो प्रविधिले अब झन असमानता बढाउनुको सट्टो घटाउनुपर्ने भएकाले सरकारहरूले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया 4