Comments Add Comment

जीवन दर्शन : अरूको धनमा आँखा नगाड्नु , श्रम नगरी नबस्नु

ईशावास्यमिदं सर्वंयत्किञ्च जगत्यां जगत्

तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद् धनम् ।।१।।

कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छ्तँ समाः ।

एवं त्वयि नान्यथेतोऽस्ति न कर्म लिप्यते नरे ।।२।।

यो संसारमा स्थावर जङ्गम नाशवान जुन जेसुकै कुरा छन् । सबै ईश्वर आच्छादित छन् । अतः त्यागद्वारा त्यसको भोग गर्नु कसैको धनमा लोभ नगर्नु, यस लोकमा काम गर्दै सय वर्ष बाँच्ने इच्छा गर्नु, आफू मानिस हुँ भन्ने ठान्ने तिमीले त्यसरी बाँच्ने इच्छा गर्नुबाहेक अर्काे बाटो छैन । त्यसरी काम गर्नाले दोष लाग्दैन ।

शुक्ल यजुर्वेद संहिताको चालीसौं अध्याय अर्थात् ईशावास्योपनिषद्का प्रथम दुई मन्त्र हुन् माथिका उद्धरण । भागवत् गीताको मूल सन्देशको रुपमा उपर्युक्त दुई मन्त्रअघि आजसम्म अँगाल्ने चेष्टा गर्दै आयो । सो भन्दा म कुन कुरा स्वीकार गर्छु भने धर्ममा असल भनी जेजति र जस्ता आचारसंहिता प्रस्तुत गरिएका छन् । धर्म मान्ने करोडौंमध्ये युगयुगान्तरदेखि दुई जनाले पनि ती आचारसंहिताको अनुपालन गरेका बिरलै होलान् ।

माथि उद्धृत दुई मन्त्रमा सुरुको शब्द ‘ईश’ले ईश्वर भन्ने अर्थ जनाएको छ । तर त्यो ईश्वर कस्तो हो ? त्यस्तो ईश्वर जो सर्वव्यापी र सर्व सर्वान्तर्यामीसम्म छ । तर कर्मप्रभु, सर्वशक्तिमान् र सर्वज्ञमात्र होइन, आफूले इच्छा नगरेमा यो ब्रह्माण्डमा प्रकाश फैलिन, हावा बग्न त के पातसम्म हल्लिन नदिने प्रकृतिको यो यहाँ भनिएको ‘ईश’ रहेको देखिँदैन ।

त्यस्तो ईश्वर भएपनि नभएपनि वैज्ञानिकनिम्ति बाहेक अन्य कसैका ज्ञाननिमित्त रत्तिभर कुनै फरक पर्दैन ।

त्यो पहिलो शब्दबाहेक माथिका दुई मन्त्रका वा यो उपनिषद्मा रहेका सत्रवटै मन्त्रका कुनै शब्दसित पनि गम्भीर मदभेद राख्नुपर्ने मैले आजसम्म कुनै कारण देखेको छैन । माथिका दुई मन्त्रले भोगलाई इन्कार गरेको छैन र भोग गर्ने नाममा अरूको धनमाथि आँखा नगाड्नु  मात्र भनेको छ । त्यस्तै, दोस्रो मन्त्रले काम नगरी अर्थात् उत्पादक श्रममा नलागी बाँच्नु के बाँच्नु, जीवन भनेको यो संसारमा काम गर्दै शतंजीवी हुन् हो । त्यसरी काम गर्नेमाथि दोष लाग्दैन भनी भन्न खोजेको देखिन्छ ।

माथिका दुई लोकसित कसले मत बझाउन सक्ला ? कसैले मत बाझाएपनि त्यस्ताहरूलाई मानवविरोधी र समाजविरोधी बाहेक के भन्न सकिन्छ ?

त्यति भनेपछि तेस्रो मन्त्रले आत्मघाती मानिसहरू (सुरुका दुई मन्त्रको विपरीत दिशामा अग्रसर हुनेहरू) दुःखी जीवनमा पुग्छन् । त्यस्ताहरूले आफैँलाई चिन्दैनन् भनेको छ । त्यो आफू अर्थात् आत्मा कस्तो रहेको हुन्छ भन्नेबारे दुईवटा मन्त्रमा चर्चा गरेपछि उपनिषद्ले छैटौं, सातौं, आठौं मन्त्रद्वारा आफूमा सबैलाई देख्नु र सबैमा आफूलाई देख्नु नै वास्तविक ज्ञान हो भनेको छ । प्राणी मात्रमा आफ्नो र आफूमा ब्रह्माण्डको समीकरण गर्न सक्नु मानव— आचारसंहिताको सर्वाेच्च उपलब्धि हो, वास्तविक धर्म त्यही हो भने म ठान्छ ।

त्यस्तै, ज्ञानबाट दोषरहित करुणा, दया, क्षमा, अहिंसा, द्वेषरहितता समानतावादी दृष्टिकोण र हृदयको विशालता तथा आसक्तिरहितता, निस्पृहता, ममत्व, निरहङ्कार आदि निसृृत हुन्छन् । मलाई लाग्छ गीतामा कृष्णले अर्जुनलाई त्यही यजुर्वेदको चालीसौं अध्यायको रूपमा रहेको ज्ञानको आधारमा व्याख्यात्मक उपदेश गरेका थिए ।

यी सबै कुरा भनेर म पौरोहित्य नियन्त्रित हिन्दुत्वलाई धर्मको रूपमा ग्रहण गरी स्वीकार गर्न भने सक्तिनँ । धर्ममा निहित ज्ञान (माथि उद्धृत दुई मन्त्र जानका समेत घनीभूत अभिव्यक्ति हुन्) को केन्द्र मस्तिष्क हो । धर्ममा निहित अत्युच्चस्तरीय लोकोपकारी मानवीय मूल्यहरू र ईश्वर तत्वलाई मान्नेहरूको मनोभावहरू मूल्य र ईश्वरमाथि आस्था र विश्वासका रूपमा हृदय केन्द्रित रहन्छन् । तेस्रो केन्द्र जिह्वा अर्थात् वाक्शक्ति हो, जसलाई मस्तिष्क र हृदयका ज्ञान र आस्थामाथि निजात्मक स्वार्थ संबद्र्धन निम्ति पौरोहित्यले कब्जा गरेको हुन्छ । स्वभावतः तिनीहरू आफू जो बुझ्दैनन् र बुझ्न चाहँदैनन् र जसमा तिनको आफ्नो वास्तविक विश्वास रहँदैन (अन्यका मस्तिष्क र हृदयका तिनै अवस्थालाई आफ्ना स्वार्थमा लगाउन आफ्नो जिब्राको उपयोग गरेर तथाकथित धार्मिक प्रवचन, कर्मकाण्ड र पूजा–व्रत आदि गराउने गर्दछन् ।

त्यसो भए पौरोहित्यबाट धर्मलाई मुक्त तुल्याएमा धर्मको साम्राज्य नै स्थापित गर्न सकिने छ त ? यो प्रश्नलाई जवाफ दिन गाहो छ किन भने धर्मको नाउँमा पौरोहित्यबाट मुक्ति पाउन कोसिस गर्ने गौतम बुद्ध, महावीर जैन, ईशा मशीह, जरथुष्ट्र आदिले स्वयं गीताका कृष्णले पौरोहित्यबाट धर्मलाई छुट्याउन खोजेका थिए । तर तिनीहरु विफल मात्र भएनन् । तिनका उपदेशलाई तत्तत् पौरोहित्यले आफ्ना विजय निम्ति हतियार रूपमा प्रयोग गरे ।

धर्मको दुःखान्त पक्ष हो पौरोहित्य ।

मदनमणि दीक्षितको पुस्तक हिन्दू संस्कृतिको परिशीलनबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment