+
+
Shares

गणतन्त्रलाई बलियो धक्का दिने बेला भएको छ : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १८:५८

२७ वैशाख, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान बनाएकाहरूबाटै संविधानको उल्लघंन भइरहेको आरोप लगाएका छन् । राप्रपा सिद्धार्थनगर नगर समितिको नगर अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूले यो संविधानमा विमति राखेर पनि पालना गरिरहेको दाबी गरे ।

‘अहिले उनीहरू यो संविधानलाई आफूखुसी व्याख्या गरेर यस्तो भन्न पाइँदैन र भन्यो भने संविधान विपरीत हुन्छ भनेर हाम्रा साथीहरूलाई थुनामा राखिरहेका छन्’, उनले भने, ‘यो संविधानमा राजसंस्था, हिन्दूराष्ट्र चाहिन्छ र संघीयता चाहिँदैन भन्न पाइँदैन भनेर कहाँ लेखिएको छ ?, त्यसैले संविधान उनीहरूबाटै उल्लंघन भएको छ ।’

सरकारले फरक मत र विचार राख्नेहरूमाथि प्रतिशोध साँध्ने काम गरिरहेको उनको आरोप छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले आफ्नो विचार राखेको कारण राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाइने बताए । उनले यो सरकार संविधानविपरीत भ्रष्टाचारी जोगाउन र सत्ता स्वार्थमा लिप्त भएकाले यसले जे पनि गर्ने आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले पूर्जी पठाउन नपाउँदै राति ओछ्यानमा गएर तपाईको अन्तिम इच्छा के छ भनेर सोधिएको उल्लेख गर्दै उनले विपक्षीहरुको आवाज थुनेर विकासको नाममा सरकारले भ्रष्टाचार गरिरहेको बताए ।

भैरहवा विमानस्थलका लागि ३–४ सय विगाहा जग्गा चाहिनेमा ८ सय विगाहा जग्गा किन खरिद गरियो ? भन्दै उनले प्रश्न गरे । अध्यक्ष लिङ्देनले नेपाली जनताको रगत पसिनाबाट उठेको करबाट बनाइएको एअरपोर्टको हालत यही हो भन्दै उनले प्रश्न गरे । ‘नेपालमा भ्रष्टाचार गर्नका लागि योजना बनाइन्छ, एअरपोर्ट बनाइन्छ, कमिसन खानका लागि प्लेन किनिन्छ’, उनले भने, ‘आज देशमा गणतन्त्रको नाममा लुटतन्त्र छ, एकपटक बलियो धक्का दिने बेला भएको छ ।’

अध्यक्ष लिङ्देनले नेता सुध्रिए देश सुध्रिन समय नलाग्ने भएकाले राप्रपा नेता सुधार्ने अभियानमा लागेको बताए ।

उनले उपनिर्वाचन जहिले भए पनि आजैदेखि लाग्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरे । को उम्मेदवार बन्ने भन्नेबारे पार्टीले निर्वाचनको बेला उपयुक्त निर्णय गर्ने उनले बताए । ‘यो स्वर्गीय दीपक बोहराको सपनासँग गासिएको विषय हो’, उनले भने, ‘उहाँको आत्मालाई सच्चा श्रद्धाञ्जली दिन एकताबद्ध भएर आजैदेखि लाग्नुस् ।’

त्यस्तै पार्टीको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले मुलुकमा राजसंस्था र हिन्दूराष्ट्र आउने दाबी गरे ।

कार्यक्रममा सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य स्वाती थापा, राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप कुमार उदय, जिल्ला अध्यक्ष सागर प्रताप राणा, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता लगायतले उपनिर्वाचनमा पार्टी एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?