२७ वैशाख, काठमाडौं । भारत-पाकिस्तान तनावका कारण बीचमै रोकिएको आईपीएल क्रिकेट २०२५ अब शनिबारको युद्धविराम घोषणासँगै समयमै सुचारु हुने उच्च सम्भावना देखिएको छ ।
भारत र पाकिस्तानले युद्धविराम गर्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित दुवै देशका अधिकारीहरूले पुष्टि गरेपछि अब सीमा क्षेत्र आसपासको दैनिकी सामान्य बन्ने पक्का भएको छ ।
यसअघि बीसीसीआईले आईपीएल मे महिनामा पुनः सुरु गर्ने अनुमति भारत सरकारबाट प्राप्त भएमा बाँकी खेलहरू बेंगलुरु, चेन्नई र हैदराबादमा आयोजना गर्ने चर्चा सुरु भइसकेको छ ।
शुक्रबार एक साताका लागि स्थगित गरिएको आईपीएल क्रिकेट अब अवस्था सहज बनेपछि चाँडै नै बैठक बसेर नयाँ तालिका सार्वजनिक गरेर एक सातामा सुचारु गर्न सकिने उच्च सम्भावना छ ।
आईपीएल स्थगनको घोषणा लगत्तै धेरै विदेशी खेलाडीहरू स्वदेश फर्किन थालिसकेको बताइएको थियो । गइसकेका खेलाडीहरूलाई फर्काउने र जान बाँकी खेलाडीहरूलाई कन्भिन्स गराउने अब बीसीसीआई र फ्रेन्चाइजको प्रयास पक्कै रहने देखिन्छ ।
अवस्था सहज भएमा आईपीएलका बाँकी खेलहरू मे महिनाभित्रै सक्ने गरी योजना अघि बढाइने यसअघि बीसीसीआईका केही अधिकारीले समाचार संस्थाहरूसँग कुराकानीका क्रममा भनेका थिए ।
अहिलेसम्म आईपीएल २०२५ का ५७ खेल सकिएका छन्। मे ८ मा धर्मशालामा भएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको ५८औं खेल १०.१ ओभरपछि रोकिएको थियो र त्यो खेल पुनः खेलिने बारेमा पनि छलफल हुनेछ ।
अब त्यसबाहेक पनि १२ लिग खेल र ४ प्लेअफ खेलहरू बाँकी छन्। पहिलेको तालिकाअनुसार हैदराबादले पहिलो क्वालिफायर र एलिमिनेटर तथा कोलकाताले दोस्रो क्वालिफायर र फाइनल आयोजना गर्ने तय थियो।
प्रतिक्रिया 4