Comments Add Comment

मान्छे-ब्याक्टेरिया युद्ध : एन्टिबायोटिकलाई ब्याक्टेरियाले जित्न थालेको हो ?

काठमाडौं । ब्याक्टेरियालाई नाश गर्ने वा यसको वृद्धिलाई रोक्ने औषधिलाई एन्टिबायोटिक भनिन्छ र एन्टिबायोटिकलाई हामीले ब्याक्टेरियाको संक्रमण रोक्न अथवा उपचार गर्न प्रयोग गर्छौं। एन्टिबायोटिकले हाम्रो जीवनमा ठूलो योगदान दिने गर्छ। क्यान्सरको उपचार गर्न पनि एन्टिबायोटिक प्रयोग गर्ने गरिन्छ । अंग प्रत्यारोपण, कार्डिएक सर्जरी तथा अरू सर्जरी गर्दा ब्याक्टेरियाको संक्रमण नहोस् भनेर पनि एन्टिबायोटिकको प्रयोग गरिन्छ ।

एन्टिबायोटिकको प्रयोगले मान्छेको औसत आयु २३ वर्षसम्म बढाएको छ । एन्टिबायोटिकले भाइरसजन्य संक्रमणलाई भने कुनै काम गर्दैन । सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङ्गले पहिलो एन्टिबायोटिक पेनिसिलिन आविस्कार गरेपछिको समयलाई हामीले एन्टिबायोटिकको युग भन्ने गर्छौं ।

लेखक आचार्य

तर एन्टिबायोटिकको निरन्तर प्रयोगले गर्दा ब्याक्टेरियाले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गर्दै गएका छन् । अर्थात् ब्याक्टेरियाले आफूलाई मार्ने औषधि पचाउने भएका छन् । कतिपय वैज्ञानिकहरूले केही नयाँ कदम नचाल्ने हो भने पेनिसिलिन आविस्कार हुनुभन्दा अगाडिको अवस्थाका लागि तयार रहन समेत चेतावनी दिइसकेका छन् ।

पेनिसिलिन आविस्कार हुनुभन्दाअघि ब्याक्टेरियाको संक्रमणबाट मानिसलाई बचाउने एउटै शक्ति भनेको उसको रोग प्रतिरोध क्षमता बढाउनु थियो । जुन व्यक्तिको प्रतिरोेध क्षमता बलियो हुन्थ्यो, उसले रोगलाई जित्न सक्थ्यो भने रोग प्रतिरोध क्षमता कमजोर हुने मानिसहरू ब्याक्टेरियाको सामान्य संक्रमणका कारणले पनि मरिहाल्थे ।

सन् १९२८ मा पेनिसिलिन पत्ता लागेपछि एकपछि अर्को किसिमका संक्रमणविरुद्ध एन्टिबायोटिकहरू आविस्कार हुँदै गए र पहिलेका समस्याहरू इतिहास बनेर गए । सन् १९५० को दशकको मध्यतिर एन्टिबायोटिक आविस्कार उच्च बिन्दुमा पुग्यो र त्यसपछि नयाँ एन्टिबायोटिक पत्ता लाग्ने दर निरन्तर  घटिरहेको छ । सन् २००४ पछि त नयाँ एन्टिबायोटिक पत्ता लागेकै छैन ।

पछिल्ला १६ वर्षमा कुनै पनि नयाँ एन्टिबायोटिक पत्ता नलाग्नु र ब्याक्टेरियाहरूले पनि एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गर्दै जानु आधुनिक चिकित्सा विज्ञानकोे लागि मुख्य खतरा रहेको छ । हुन त विशुद्ध जीव विकासको सिद्धान्तबाट हेर्दा ब्याक्टेरियाले त्यस्तो क्षमता विकास गर्नु स्वाभाविक र एक हिसाबले अपरिहार्य पनि छ ।

तर एन्टिबायोटिकको अत्यधिकप्रयोग, दुरुपयोग, डाक्टरको पुर्जीविना किनबेच, बिरामीले पूरा डोज नखानु, डाक्टरको अनावश्यक प्रेस्क्रिप्सन, कमजोर संक्रमण रोकथाम अभ्यास, सरसफाइमा पर्याप्त ध्यान नपुग्नु, प्रयोगशालामा संक्रामक रोगको निदान समयमा नहुनु र कृषि क्षेत्रमा अत्यधिक एन्टिबायोटिकको प्रयोगले ब्याक्टेरियालाई एन्टिबायोटिकविरुद्ध बलियो हुन थप प्रोत्साहन गरेको छ । कुरा यति हो कि एन्टिबायोटिकको विवेकसंगत प्रयोग गरेको भए एन्टिबायोटिकको युग अर्थात् एन्टिबायोटिकले काम गर्ने समय लम्ब्याउन त्यति गाह्रो थिएन ।

एक्काइसौं शताब्दीमा चिकित्सा विज्ञानले बिरामीको उपचार गर्दा व्यहोर्नु परेको मुख्य चुनौती नै एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरूलाई मानिन्छ । ब्याक्टेरियाहरूमा अहिलेकै दरमा एन्टिबायोटिक प्रतिरोधी क्षमता बढ्दै जाने हो भने सन् २०५० सम्ममा यस्ता ब्याक्टेरियाबाट मृत्यु हुनेको संख्या प्रतिवर्ष एक करोड हुने बेलायतका शोधार्थीहरूको एउटा रिपोर्टले देखाएको छ ।

सन् २०१८ मा विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरूले गर्दा विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासमा ठूलो खतरा रहेको प्रतिवेदन निकालेको थियो । त्यसैगरी अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा प्रत्येक वर्ष २५ हजार जनाले  एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको संक्रमणबाट ज्यान गुमाउने गरेका छन् ।

त्यस्तै, भारतमा एन्टिबायोटिक प्रतिरोधीब्याक्टेरियाको संक्रमणबाट प्रत्येक वर्ष ५८ हजारभन्दा बढी शिशुले ज्यान गुमाउने कुरा विभिन्न अनुसन्धानले देखाएको छ । वर्ड इकोनोमी फोरमका अनुसार बङ्गलादेश अथवा भारत जस्ता मुलुकहरूमा यदि २ वर्षको बच्चालाई ब्याक्टेरियाको संक्रमण भयो भने अहिले उपलब्ध एन्टिबायोटिकले त्यो संक्रमणलाई निको पार्ने सम्भावना ५० प्रतिशतमात्र छ । सरसफाइको कमीले गर्दा  भारत, बङ्गलादेश तथा नेपालजस्ता देशहरूका बालबालिका सजिलै एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको सम्पर्कमा पुग्छन् ।

सुरुमा पेनिसिलिनले सजिलै मार्न सक्ने ब्याक्टेरियाहरू अहिले आएर यसलाई सजिलै पचाउन सक्ने भएका छन् । सन् १९४० मा पेनिसिलिनको व्यावसायिक उत्पादन भई उपचारमा प्रयोग हुन थालेपछि स्टेफाइलोकोकस भन्ने ब्याक्टेरियाको संक्रमणबाट मर्ने मानिसहरूको संख्या उल्लेख्य रूपमा घटेको थियो ।

तर पेनिसिलिनप्रयोग गर्न थालेको २ वर्षमै सन् १९४२ मा पेनिसिलिन प्रतिरोधी स्टेफाइलोकोकस फेला पर्‍यो र १९६० को दशकको अन्त्यतिर आइपुग्दा त ८० प्रतिशतभन्दा बढी स्टेफाइलोकोकसलाई पेनिसिलिन निस्प्रभावी हुन थालिसकेको थियो । पेनिसिलिन प्रतिरोधी स्टेफाइलोकोकसका लागि १९५९ मा मेथिसिलिन भन्ने एन्टिबायोटिक प्रयोग गर्न थालियो तर प्रयोग गर्न थालेको २ वर्षमै सन् १९६१ मा मेथिसिलिन प्रतिरोधी स्टेफाइलोकोकस फेला पर्न थाल्यो ।

हाल मेथिसिलिन प्रतिरोधी स्टेफाइलोकोकस विश्वव्यापी भइसकेको छ र अमेरिकामा एच.आई.भीएड्सले भन्दा बढी मानिसहरूको ज्यान मेथिसिलिन प्रतिरोधी स्टेफाइलोकोकसको संक्रमणबाट हुने गर्छ । मेथिसिलिन प्रतिरोधी स्टेफाइलोकोकस र अरू ग्रामपोजेटिभ ब्याक्टेरियाहरूको लागि भ्याङकोमाइसिनर केही अरू एन्टिबायोटिकहरू उपलब्ध त छन् । तर उपचार खर्च महँगो हुन्छ र तिनीहरूको पनि प्रतिरोध देखिन थालिसकेको छ ।

हाल उपलब्ध एन्टिबायोटिकहरूमध्ये सबैभन्दा शक्तिशाली मानिएको कार्बापेनेम ग्रुपका एन्टिबायोटिकहरूले पनि मार्न नसक्ने एउटा ब्याक्टेरिया भारतमा संक्रमित भएका स्विडिस बिरामीमा सन् २००८ मा फेला परेपछि त्यसले विश्वभर हलचल मच्चाएको थियो । उक्त ब्याक्टेरिया भारतको नयाँ दिल्लीबाट बिरामीमा सल्केको प्रमाणित भएपछि ब्याक्टेरियाको प्रतिरोधी जिनको नाम न्यु दिल्ली मेटालो बिटा ल्याक्टामेज वन (एनडीएमवन) राखियो ।

त्यसलगत्तै भएको अनुसन्धानले त्यस्तो जिन भएका ब्याक्टेरिया दिल्लीको खानेपानीमा र ढलमा पनि भएको पत्ता लगायो । हाल उक्त जिन भएका ब्याक्टेरिया पृथ्वीको अति नै दुर्गम मानिने उत्तरी ध्रुवको आक्र्टिक क्षेत्रमा पनि देखिन थालिसकेका छन् । यसले के जनाउँछ भने संसारको कुनै एउटा कुनामा एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको विकास भयो भने त्यो सजिलै अर्काे कुनामा पुग्न सक्छ । एनडीएमवन र यस्तै अन्य एन्टिबायोटिक प्रतिरोधी जिनको डरलाग्दो विशेषता के छ भने होरिजन्टल जिन ट्रान्सफर भनिने तरिकाबाट तिनीहरू एउटा प्रजातिको ब्याक्टेरियाबाट अर्को प्रजातिमा सजिलै सर्न सक्छन् ।

कोलिस्टिन, पोलिमिक्जिन बि, टाइगिसाइक्लिन र फस्फोमाइसिननामका एन्टिबायोटिक एनडीएमवन जिन भएका बहुएन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको संक्रमणको लागि उपलब्ध केही एन्टिबायोटिकहरू हुन् । तीमध्ये कोलिस्टिन र पोलिमिक्जिन बि विगतमा प्रयोगमा आएर बढी साइड इफेक्टका कारणले प्रयोग गर्न कम गरिएका एन्टिबायोटिक हुन् र तिनको प्रयोगलाई थाम्न सक्ने गम्भीर संक्रमणका बिरामी कमै हुन्छन् ।

अझै चिन्ताजनक विषय त के छ भने एउटा ब्याक्टेरियाबाट अर्को ब्याक्टेरियामा सजिलै सर्न सक्नेको लिस्टिन प्रतिरोधी जिन एमसीआर १ सन् २०१६ मा चीनमा फेला परिसकेको छ । उक्त जिन भएका ब्याक्टेरिया नेपाल लगायत अन्य धेरै देशमा देखिन थालिसकेका छन् । अब बाँकी रहेका सीमित एन्टिबायोटिकले निरन्तर बढिरहेका बहुएन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको चाप कहिलेसम्म थेग्न सक्छन् भन्ने  निश्चित छैन । तर हामीलाई के थाहा छ भने कुनै पनि एन्टिबायोटिक लगातार प्रयोग गर्दा त्यो एन्टिबायोटिक प्रतिरोधी क्षमता ब्याक्टेरियाले विकास गर्ने निश्चित नै छ ।

एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया सबै देशको साझा समस्या बनिसकेको छ । मानिसहरूको आवतजावत, खानेकुराको  ओसारपसार गर्दा र पशुपन्छीमार्फत कुनै एउटा देशबाट अर्काे देशमा त्यस्ता ब्याक्टेरिया सजिलै पुग्ने गर्छन् ।

प्रत्येक देशले संक्रमण रोकथामको अभ्यास कडाइका साथ लागू गर्ने, एन्टिबायोटिकको विवेकशील तरिकाले प्रयोग गर्ने, प्रयोगशालामा प्रतिरोधी ब्याक्टेरिया समयमै चिन्नको लागि दक्ष जनशक्तिको व्यवस्था गर्ने, सबैमा स्वच्छ र सफा खानेपानीको पहुँच पुर्‍याउने र सरसफाइमा ध्यान दिने र एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया सकेसम्म चाँडै खोजेर नाश गर्ने रणनीति ल्याउने हो भने एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया विकास हुन र तिनीहरूको फैलावट कम गर्न सकिन्छ । साथै, नयाँ एन्टिबायोटिक तथा भ्याक्सिन विकास गर्न पनि प्रोत्साहन गर्नुपर्छ ।

लेखक आचार्य नेप्लिज फार्मिङ इन्स्टिच्युटका रिसर्च अफिसर हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment