Comments Add Comment

नेपाली ट्राभलर्सले १४ सोलो महिला यात्रीहरुको भिडिओ श्रृंखला प्रस्तुत गर्ने

११ माघ, काठमाडौं । नेपाली ट्राभलर्सले महिलाहरुको एकल साहसिक यात्रा ‘स्व-यात्रा २०१८ च्यालेन्ज’ सम्पन्न गरेको छ। यस अनुसार १४ जना महिलाहरुले एक्लै पूर्व मेचीदेखि पश्चिम महाकालीका सबै भूभागको साहसिक यात्रा गरेका थिए ।

महिला सशक्तिकरण लक्षित यस यात्राको नेपाली ट्राभलर्सले भिडियो श्रृंखला समेत प्रस्तुत गर्ने जनाएको छ ।

१४ जना महिला यात्रीले गरेको साहसिक यात्राको भिडियो वेब सिरिज आउँदो मार्च देखि प्रसारण हुने आयोजक संस्था नेपाली ट्राभलर्स र शेर्पाशाहले बताएको छ ।

आयोजकका अनुसार पूजा रिजाललाई एक महिना अन्तर्राष्ट्रिय सोलो यात्रामा सहभागी गराइने आयोजक संस्थाले बताएको छ । अन्तर्राष्ट्रिय एकल यात्रा इण्डोनेशियाको बालीबाट सुरु हुने बताइएको छ ।

‘यो यात्राले मलाई थप आत्मबल प्रदान गरेको छ। मुलुक भित्रै कतै घुम्न जानका लागि साथीहरु जम्मा गर्नुपर्ने, सुरक्षाको हिसाबले कयौँपटक सोच्नुपर्ने अवस्था थियो ।

यो एकल यात्रापछि पहिला मनमा आउने यस्ता असुरक्षाको भावना मेटिएको छ । अन्तर्राष्ट्रिय रुपमा एकल यात्रा गर्नका लागि मलाई यो यात्राले थप आत्मबल प्रदान गरेको छ ।’ रिजालले भनिन् ।

यो वर्षको सोलो यात्रामा शान्ति राईले ८६ दिन सम्म पूर्व मेचीदेखि पश्चिम महाकाली यात्रा गरेकी छिन् । आयोजकका अनुसार राई सोलो एक्सपिडिसन नेपाल २०१८का विजयता भएकी छिन् ।

‘नेपाल ट्राभलर्सले सोलो ट्राभलका लागि दर्खास्त आह्वन गरेको थियो । घरमा म घुमघाम गर्न रुचाउने विषयमा त थाहा थियो तर एक्लै हिड्नुपर्ने थियो । बुवाआमालाई यो भ्रमणकोबारे सबै कुरा भने । अनुमति त पाएँ तर सुरुमा मनस्थिती बनाउन अलिक सोच्नुपर्ने भयो ।

ट्राभल सुरु भएसँगै विस्तार बानी पर्दै गयो । केहीदिन भोक भोकै पनि भइयो, मुलुकको हरेक क्षेत्रको संस्कृति, परिवेश, दिनचर्या, रहनसहन, खानपान लगायतका कुराको अनुभव लिन सकेँ ।

यात्राले जीवनमा आफूसँग भएको क्षमता चिन्न सिकाएको छ । विस्तार विस्तार हामी महिला पनि एकल यात्रा गर्न सक्दरहेछौँ भन्ने कुरामा विश्वस्त भएको छु’ राईले आफ्नो अनुभव सुनाउँदै भनिन् ।

महिलालाई एकल यात्राको अनुभव लिन तथा नेपालको विविधता सम्बन्धी जानकारी दिनकालागि नेपाल ट्राभलर्सले चार वर्ष अघिदेखि ‘स्व-यात्रा च्यालेन्ज’ गर्दै आएको नेपाल ट्राभलर्सका संस्थापक जेशन शाहले बताए ।

‘जो कोहीले पनि नेपालभित्रै पनि एकल रुपमा घुमघाम गर्न सक्ने कुरालाई प्रमाणित गर्ने उद्धेश्यले हामीले सोलो ट्राभल आयोजना गर्दै आएका हौँ । एकल घुमघामले नेपाली महिलाहरुलाई आत्मनिर्भर हुन सघाउ पुर्‍याने कुरामा विश्वस्त छौँ । यात्राका माध्यमबाट महिलाहरुको यात्रा अनुभवको संस्मरण गरी विभिन्न माध्यमबाट विश्वभर नेपालको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुर्याउनेछ’, नेपाली ट्राभलर्सका संस्थापक शाहले भने ।

सोलो ट्राभलले मुलुकको विभीन्न क्षेत्रमा रहेका थप पर्यटकीय गन्तब्य पहिल्याउन सहयोग गर्दै आएको बताउँदै नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी अध्यक्ष दिपक राज जोशीले भने,’सोलो ट्राभल’ ले नयाँ पर्यटकीय गन्तब्य पहिचान गर्न र संचार माध्यमबाट यसको प्रवर्द्धन गर्न सकिन्छ । नेपाल टुरिजम बोर्ड यो अभियान प्रवर्धन र सहयोगको लागि सधैँ तयार छ ।’

‘सोलो ट्राभलले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्धन गर्नुका साथै यहाँको पर्यटनको नयाँ पहिचान सुरु गरेको छ ।’ नेपाल टुरिजम बोर्डका निमीत्त कार्यकारी अध्यक्ष सुनील शर्माले भने ।

सो यात्रा च्यालेन्जलाई केटीएम सिटी, थामसेर्कु, मेगा बैंक, नेको इन्स्योरेन्स लगायतले प्रायोजन गरेका थिए भने वुमन लिड नेपाल, आउटडोर एड्भेन्चर सेन्टर, हिमालयन मेडिक्स र सत्या मिडिया आर्ट्स कलेक्टिभले सहकार्य गरेको थियो । त्यसैगरी नेपाल टुरिजम बोर्डले यो यात्राको लागि प्रवर्द्धकको भूमिका खेलेको थियो ।

यात्रामा प्रज्वला कर्मचार्य, मेनुका गुरुङ, एक कुमारी बस्नेत, अनुपमा पिथाकोटे, पुजा रिजाल , रेजिना तामाङ, सुदिक्षा मल्ल, अनुज्ञा प्रदान, गौरी मालाकार, रुक्साना कपाली, ममता महर्जन, स्वेता श्रेष्ठ र निमा शेर्पा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment