Comments Add Comment

गोविन्द केसीसँग वार्ता गर्न कांग्रेस सांसदको माग

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली बनाउन माग गरेका छन् ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद अधिकारीले अनसन लम्बिँदै जाँदा निहुरिनुको सट्टा आजै वार्ता गरेर समस्याको निकास निकाल्न आग्रह गरेका हुन ।

चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सम्झौता विपरीतका प्रावधान राख्न लागेको भन्दै २० दिनदेखि अनसनमा बसेका डा. केसीको स्वास्थ्य खस्किँदै जाँदा पनि सरकारले एक जनालाई पनि वार्ताका लागि नपठाएको अधिकारीको भनाइ छ । संसदमा उनले भने, ‘डा. केसी जीवन मरणको दोसाँधमा पुग्दा पनि सरकारले वार्ताको कुनै पहल गरेको छैन ।’

सांसद अधिकारीले प्राध्यापक केदारभक्त माथेमा कार्यदलले गरेको सिफारिस लागू गर्न सरकारले कानुनी र नैतिक रुपमा प्रतिबद्धता जनाईसकेकाले त्यसबाट भाग्न नमिल्ने बताए ।

सरकारले विएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने गरी डा.केसीसँगको सम्झौता तोडेको अधिकारी भनाइ छ । उनले भने, ‘सरकारको बुझिनसक्नुको विएण्डसी मोहकै कारण हामीले संसदमा विरोध गरेका हौं ।’

डा. केसी २५ पुसदेखि अनसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment