Comments Add Comment

विस्तारित चक्रपथ : भब्य सडकमा त्रुटि नै त्रुटि (भिडियोसहित)

१४ माघ, काठमाडौं । सोमबार चीनले नेपाललाई हस्तान्तरण गरेको चक्रपथको कोटेश्वर–सातदोबाटो–कलंकी सडकखण्ड पुग्ने धेरैलाई लाग्छ, आहा ! सडक होस् त यस्तो ।

सडक चौडा मात्र छैन, बलियो पनि छ । जमिन भासिन सक्ने ठाउँमा १५ फिटसम्म माटो झिकेर ग्राभल भरिएको छ । आहा भन्न र विकासको नमूना मान्न लायक छ । तर, हामीलाई चाहिएको चक्रपथ यस्तै हो त ? होइन ।

यो सडक जति आकर्षक छ, त्यति नै समस्या पनि छ । चक्रपथ शहरबाट बाहिर निस्कने र भित्रने राजमार्ग होइन । शहरबासीले दैनिक प्रयोग गर्ने सडक हो ।

पहिले चक्रपथ बाहिर वस्ती विस्तार भएको थिएन । अहिले चक्रपथबाहिर पनि ठूला सहरहरु बनेका छन् । इमाडोल, भैसेपाटी, कीर्तिपुर लगायतका वस्तीहरुले ठुला शहरको रुप लिईसकेका छन् । तर, चक्रपथ विस्तार गर्दा यो पक्षलाई ख्याल गरिएन ।

सडक ईञ्जिनियरहरुका अनुसार चक्रपथलाई सिटी-वे बनाउनु पर्नेथियो तर, बन्यो एक्सप्रेस वे । सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठ यो सडकको डिजाइनमा त्रुटी भएको स्वीकार्छन् ।

पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु

मुख्य लेन ५० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन मिल्ने गरी बनाइएको छ, जुन शहरी सडकका लागि धेरै हो । अरु पनि धेरै प्राविधिक त्रुटीहरु गरिएका छन्, जसका कारण चक्रपथले सहरबासीका लागि थुप्रै असुविधा थपेको छ ।

पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार चक्रपथ ठूलो नदी जस्तै बन्न पुग्यो । जहाँ वारीबाट पारी हेर्न सकिन्छ, वारपार गर्न कठिन हुन्छ ।


१‍‍. आकासे पुल खोइ ?

अहिले चक्रपथ वार–पार गर्दा पदैलयात्रुले ज्यानको जोखिम मोल्नुपर्ने अवस्था छ । आकासे पुलहरु पर्याप्त छैनन् । भएका पुलहरु पनि पायक पर्ने ठाउँमा छैन । उदाहरणका लागि, एकान्तकुना र नख्खुचोक भएर हिँड्ने पैदल यात्रुले आकाशे पुल प्रयोग गर्न बागडोल पुग्नुपर्छ । यो कस्तो सडक बनायौं हामीले ?

कोटेश्वर, बालकुमारीमा पनि चोकबाट निकै पर आकासे पुल बनाइएको छ, जहाँसम्म पैदल यात्रु पुग्दैनन् ।

आकाशे पुल नै प्रयोग गर्दा पनि उक्लदा ७२ र ओर्लदा ७२ गरि १४४ वटा सिँढी पार गर्नुपर्छ । विरामी, वृद्धवृद्वा, अपांग र बालबालिकाले यस्तो पुल कसरी प्रयोग गर्लान् ? भएका पुल पनि वैज्ञानिक ठाउँमा नभएपछि यात्रुले प्रयोग गरिरहेका छैनन् ।  पुल यात्रु उक्लिएररमिता हेर्ने ठाउँ जस्तो भएको छ ।

खाली देखिएको पुल

यो कोटेश्वर–सातदोबाटो–कलंकी खण्डको ६ ठाउँमा सडक विभाग आफैंले आकाशे पुल त बनाउने भनेको छ । तर, चार वर्ष भयो जग खनेर छाडिएको, कहिले बन्ने हो टुंगो छैन ।

२. कोटेश्वरलाई बेवास्ता

यो सडक विस्तार गर्दा कोटेश्वर चोकको ट्राफिक व्यवस्थापनलाई साखै ध्यान दिइएन । कोटेश्वर अहिले जामले आक्रान्त छ । जापान सरकारको सहयोगमा बनेको सूर्यविनायक–कोटेश्वर ६ लेन र चीन सरकारले बनाएको कलंकी–सातदोबाटो–कोटेश्वर ८ लेनले जोडिएको यो चोकमा आवश्यक पूर्वधार विकासमा ध्यान नै दिइएन ।

कोटेश्वर चोकमा वीपी राजमार्ग भएर जाने–आउने ३०० भन्दा बढी साना–ठुला गाडीहरुको ‘गुपचुप’ पार्किङ चलेको छ । त्यसले यात्रुको चाप बढ्ने नै भयो । यत्रो सडक बनाइयो, तर कोटेश्वर चोकलाई जस्तको तस्तै छाडियो ।


बालकुमारी चोकमा गाडीहरुले ‘टर्न’ लिन आइल्याण्ड छैन । आइल्याण्ड नहुँदा गाडीहरु ‘च्यानलाइज’ हुँदैनन् । यस्तो अवस्थामा गाडी मोड्दा दुर्घटना हुनसक्छ । सडकमा काम गर्दा ट्राफिक प्रहरी नै घाइते भएका घटना थुप्रै छन् ।

३. लिंक रोडलाई जोखिमपूर्ण छाडियो

चक्रपथ विस्तार गर्दा करिडोर सडकलाई लिंक गरिरएको छैन । यसले अर्को समस्या निम्त्याएको छ । बाग्मती करिडोरबाट आएका सवारी साधन चक्रपथमा छिर्नै पाउँदैनन । यसले सहरमा जाम खुलाउने बाटो नै बन्द गरिदिएको छ ।


लिंकरोडलाई ध्यान दिएको ठाउँ पनि सुविधाजनक छैन । जस्तो, एकान्तकुना । भैँसेपाटीबाट आउने ६० फिटको सडकलाई चक्रपथसँग त जोडिएको छ तर, चोक बनाइएको छैन । एकान्तकुना चोकलाई भने कायमै राखिएको छ । जबकी चत्रपथबाट भैंसेपाटी प्रवेश गर्ने यो सडक निकै साँघुरो छ ।

४. न सडक बत्ति, न पार्किङ जोन

यती भव्य चक्रपथमा एउटा पनि सडकबत्ती छैन । सडकबत्ति नहुँदा ट्राफिक प्रहरीहरु ८ बजेपछि आइल्याण्डमा बस्न नसक्ने अवस्था छ । तीव्र गतिमा आउने गाडीहरुले टिनको सानो ट्राफिक आइल्याण्ड नै उडाउने डर हुन्छ ।

महालक्ष्मीस्थान चोकमा केही दिन पहिले ट्रकले ट्राफिक आइल्याण्ड धुलोपिठो बनायो । धन्न ट्राफिक प्रहरी थिएनन् । यत्रो ठूलो सडक निर्माण गर्दा सडक बत्ति किन राखिएन ? पूर्व ट्राफिक प्रहरी भन्छन्, भात भनेपनि दाल, तरकारी चार हुन्छ । सडक भनेपछि यसका न्युनतम् पूर्वाधार हुनुपर्ने होइन र ?’


सडक वत्ति मात्र होइन, पार्किङ जोन पनि छैन । चक्रपथमा दैनिक थुप्रै गाडी चल्दाचल्दै रोकिन्छन् । यस्तो अवस्थामा मर्मतका लागि ‘डेडिकेटेड’ ठाउँहरु दिनुपर्ने हो, ‘पार्किङ जोन’ पनि हुनुपर्ने हो । तर, यसबारे केही सोचिएको पाइएन । जोखिम मोलेर सडकमै गाडी मर्मत गर्नुपर्ने बाध्यता छ । यसले तीव्र गतिमा आउने सवारी बिग्रिएको गाडीमा ठोक्किने सम्भावना छ ।

५. ट्राफिकलाइट र जेब्रा क्रसिङ खोइ ?

सडक त आधुनिक बन्यो तर, ट्राफिक लाइट छैन । ट्राफिक प्रहरीहरुका अनुसार दुई लाइनमा आउने सवारीलाई नियन्त्रण गर्न सकिन्छ तर, ८ लेनमा गाह्रो हुन्छ । चक्रपथको चोकमा त आइल्याण्डमा उभिएका ट्राफिक प्रहरी नै नदेखिन सक्छ । कुन साइडतिर जाऊ भन्यो, कतातिर रोक भन्यो थाहै हुँदैन । त्यसैले मुख्य चोकहरुमा ‘अटेकमेटिक ट्राफिक लाइट सिस्टम’ हुनुपर्ने हो ।

सडकको दूरी नापेर होइन, आवश्यकता हेरेर आकाशे पुल र जेब्रा क्रसिङ बनाउनुपर्ने हो ।

बिस्तारित चक्रपथमा जेब्रा क्रसिङ निकै कम छन् । काटेश्वर, ग्वार्को चोक, सातदोबाटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्र जेब्रा क्रसिङ बनाइएको छ । बाँकी प्रमुख चोकहरुमा जेब्रा क्रसिङ नै छैन । वस्तीमा जाने चोकमा जेब्रा क्रसिङ चाहिँदैन ? अनि जहाँ पायो, त्यहीँ बाटो काट्दा निम्त्याउने भनेको दुर्घट्ना नै हो ।

सरकारले चक्रपथको यो खण्डमा ६ वटा आकाशे पुल थप्ने भनेको छ, तर त्यतिले पुग्ने देखिँदैन । अस्पताल छ, स्कुल र जहाँ चोकहरु भएको क्षेत्रमा जनघनत्व बढी छ । त्यस्ता ठाउँमा बढी आकाशे पुल र जेब्रा क्रसिङ चाहिन्छ ।

उदारहणका लागि, बागडोलबाट बल्खुसम्म अढाई किलोमिटरमा सडक काट्न मिल्ने कुनै पूर्वाधार छैन । स्थानीयबासीलाई यो सडक श्राप भएको छ । सानेपा आसपासका घरबाट गाडी निकाज्दा चक्रपथमा प्रवेश गर्न नख्खुचोक पुग्नुपर्छ ।

६. पैदलयात्रुको ज्यान चालककै हातमा

पैदल यात्रुले ८ लेन पार गर्नुपर्दा बीचमा कतै उभिने ठाउँ छैन । कुनै गाडी ब्रेक ब्रेक फेल भएर आयो भने न पैदलयात्रु बच्छ, न ट्राफिक प्रहरी । यो सडक गाडी हाँक्नलाई मात्र भयो ।

एकान्तकुनास्थित यातायात व्यवस्था विभागमा लाइसेन्स लिने लगायतका कामका लागि दैनिक १० हजार सेवाग्राही आउँछन् । यस्तो ठाउँमा पनि न जेब्रा क्रसिङ छ न त आकाशे पुल ।

पहिले २ लेनमा ३३ फिट पार गर्दा सडक काटिन्थ्यो । अहिले ८ लेनमा ११० फिट छ । पैदलयात्रुलाई मात्रै होइन, चालकहरुलाई पनि गाह्रो छ । घना वस्तीबिचको सडकमा कहाँ, कतिबेला मान्छे फुत्त निस्कन्छ पत्तो हुँदैन ।

७. न सुरक्षा न बिसौनी

बिस्तारित चक्रपथको अधिकांश चोक वरपर बस बिसौनी छैन । किन नराखेको भन्दा चक्रपथ विस्तार आयोजना भन्छ, डिजाइनमै छैन ! त्यस्तो पनि सडक हुन्छ ?

भएका बसौनीमा उत्रिएका मान्छेलाई पारी जान क्रसिङ छैन । नियम मान्ने हो भने दुई किलोमिटर परको जेब्राक्रसिङतिर लाग्नुपर्छ । त्यो व्यवहारिक हुन्छ ?

कलंकीको अन्डरपासमा बत्ती छैन, दिउँसै अध्यारो हुन्छ । सोलारले राति काम गर्दैन ।


सडकको दायाँबायाँ कान्ला परेका ठाउँमा सेफ्टीका लागि बार पनि राखिएको छैन । राति कता, के छ भन्ने पत्तो हुँदैन । केही दिनअघि बागडोल छेउमा एउटा कार खस्यो । कतिपय स्थानका नालामा ढकनी छैन । त्यस्ता नालमा धेरै गाडी परिसके ।

बल्खुदेखि कलंकीसम्म सर्भिस ट्रयाक सरकार आफैंले बनाउँदैछ । त्यो काम पनि कच्चा नै छ । धेरै ठाउँमा सडकको सतह मिलेको छैन, उबड–खाबड छ ।

८. चोकहरु चोक रहेनन्

चक्रपथ काठमाडौं उपत्यकाका छरिएका वस्तीहरुलाई जोड्ने सिटी वे थियो । एकपछि अर्को चोक वस्ती प्रवेश प्रवेश विन्दु थियो, जहाँ सवारी र यात्रुको चाप हुन्छ ।

तर, वस्तारित सडकले त्यस्ता ठाउँलाई चोकको रुपमा चिन्दैन । चोक नभएपछि भित्र वस्ती पर्ने गाडीहरु घुम्ने ठाउँ पनि रहेनन् । उदाहरणका लागि, सातदोबटो । यो अति व्यस्त चोक हो । तर, आइल्याण्ड नै राखिएको छैन । अब बालकुमारीबाट सातदोबाटोतर्फ आएको आएको गाडी घुमाउनुपर्‍यो भने ठाउँ नै छैन ।


चोकमा पुगेपछि दुई लेनको सडक तीन लेनमा बदलिुपर्ने हो । तर, दुईलेन मात्र राखेका कारण लगनखेल जाने र चक्रपथमा चल्ने गाडीहरु एउटै लेनमा थुप्रिन्छन् । ट्राफिक नियम नमिचेसम्म सम्भव छैन । यसले ट्राफिक कारबाहीमा पर्ने मात्र होइन, दुर्घटनाको जोखिम पनि बढाउँछ ।

पूर्व ट्राफिक प्रहरी निरीक्षक हाछेथुका अनुसार चोकहरुमा १०० मिटर वरपार राम्रोसँग पूर्वाधार बनाउनुपर्ने हो । तर, सीधा बाटो मात्र बनाइएको छ । अर्थात चोक रहेन, हाई वे मात्र बन्यो ।

९. डिभाइडरको पासो छ

जब सडक विस्तार गर्दा लिंक रोडहरुलाई वास्ता गरिएन, मानिसहरुले प्रवेश विन्दु खोज्न थाले । तर, तीव्र गतिमा आउने सडकमा जथाभावी सडक पार गर्दा दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले डिभाइडर राख्न थालेको छ ।

जबकी डिभाइडर सवारी चालकहरुलाई पासो झै भएको भन्दै यसअघि नै विस्थापित गरिएको थियो । हाछेथुका अनुसार डिभाइडर हटाउने सुरुवात चक्रपथबाटै भएको थियो ।


बीचमा फलामको पाइप हालेर होचो डिभाइडर राख्दा बाटो काट्नेहरु जथाभावी आउने मात्र होइन, सवारी चलाउनेहरु पनि जोखिममा पर्नेछन् । यदि त्यसमा ठोक्क्यिो भने दुईपाग्रेमा सवार मानिस उछिटिन्छ ।

अर्को गाडीले आएर हान्छ । चक्रपथमा विस्तारपछि यस्तो घटना बढ्न थालेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । यदि मेडियन राख्नु पर्ने हो भने रुख विरुवा रोप्न मिल्न गरी बनाउन सकिन्थ्यो । तर, डिभाइडरको पासो थाप्ने काम मात्र भएको छ ।

१०. मच्छिन्द्रनाथको रथ के गर्ने ?

चक्रपथ विस्तार गर्दा स्थानीय संस्कृतिलाई पनि पूर्ण रुपमा बेवास्ता गरिएको छ । विभिन्न पर्व–जात्रा सडकमै आएर मनाउने परम्परा छ ललितपुरमा । रातो मच्छिन्द्रनाथको रथलाई वुंगमतीबाट जाउलाखेलसम्म ल्याइन्छ । तर, अब चक्रपथले अवरोध गर्छ ।

त्यो रथलाई कसरी चक्रपथ पार गराएर १६ सय वर्ष पुरानो परम्परालाई निरन्तरता दिने भन्ने समस्या आएको छ । यसरी हेर्दा चक्रपथ भव्य त बन्यो तर, सुरक्षाका खतरनाक पनि बनेको छ । असुविधा पनि दिएको छ ।

हेर्नुस् हाछुथुले औंल्याएका चक्रपथका त्रुटी

शाैचालय नहुँदाको समस्या
अन्डरपासमा बत्ति नजोड्दा दिउँसै अध्याँरो हुन्छ ।


फोटो/भिडियोः विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment