Comments Add Comment

कांग्रेसको देशव्यापी प्रदर्शन नरोकिने

अस्पतालको माग पूरा भए पनि मह‌ंगी र भ्रष्टाचार मुद्दा

१६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महंगी र भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दा बनाएर देशब्यापी प्रदर्शन गर्ने बताएको छ ।

आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेको अस्पताल केन्द्र सरकार मातहत राख्नुपर्ने माग सरकारले पूरा गरे पनि सरकारविरुद्धको प्रदर्शन नरोकिने बताएको हो ।

‘सरकारले आफ्नो गल्ती सच्याएको भन्ने विवरण संचार माध्यममा आएका छन् । यस बारेमा पार्टीलाई औपचारिक जानकारी प्राप्त भएको छैन’ बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने । दुई वटा अस्पतालको विषयलाई सरकारले सम्बोधन गरेको भए पनि सरकारले अन्य दर्जनौं गल्तीहरु गरिसकेको भन्दै उनले त्यसलाई सच्याउन दबाब दिने दावी गरे ।

‘अबको मुख्य मुद्दा भनेको महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू र जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू, दर्जनौं मुद्दाहरु छन् जसलाई कांग्रेसले उठाउँछ र आफ्नो पूर्वघोषित कार्यक्रमलाई निरन्तरता दिन्छ’ शर्माले भने ।

वाइडबडी र ३३ किलो सुनका कुरा

शर्माले वाइडबडी खरिदमा भएको भ्रष्टाचार र ३३ किलो सुनकाण्डका दोषीलाई कारबाहीको माग पनि उठाउने बताए ।

‘वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानवीन गर्न हामीले संसदमा र सार्वजनीक रुपमा पनि आवाज उठाउदै आएका छौं’, प्रवक्ता शर्मा भन्छन्, ‘माघ २१ को विरोध प्रदर्शन मार्फत यसका लागि थप दबाब सिर्जना गरिने छ ।’

बुढीगण्डकी जलविद्युत आयोजना बिना प्रतिस्पर्धा विदेशी कम्पनीलाई दिन लागेकोमा पनि कांग्रेसले विरोध जनाएको छ । निजगढ विमानस्थलका लागि आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावको पनि आफूहरु विरोधमा रहेको शर्माले बताए ।

३३ किलो सुन काण्डको विषयलाई पनि त्यसै नछाड्ने कांग्रेसको चेतावनी छ । ‘ठूला माछा’ हरु सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन ?’ शर्मा भन्छन् ।

डा. गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह

कांग्रेसले अनसनरत डा.गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाबाट बहुमतले चिकित्सा शिक्षा विधेयक पारित हुनु डा. के.सी.को अनसनप्रति संवेदनहीन व्यवहार भएको शर्माको जिकिर छ ।

‘संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार हो’ उनले भने ।

प्रवक्ता शर्माले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्ने र नियुक्तिका केही निर्णय गर्दा लोकतान्त्रिक मूल्य र परम्परा मिचिएको भन्दै असन्तुष्टी ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment