Comments Add Comment

टी–२० सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित

१७ माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको छ । यससँगै यूएईले तीन म्याचको सिरिजमा १-० को अग्रता लिएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।

सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै टी-२० डेब्यूमै अर्धशतक बनाउने कान्छो खेलाडी बने पनि नेपाललाई जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे ।

उनले सातौं विकेटका लागि सोमपाल कामीसँग ३९ रनको साझेदारी गर्दै नेपाली पारी उकास्न प्रयास गरे । तर, सोमपाल आउट भएसँगै खेल यूएईको पक्षमा गयो ।

पहिलो बलमा नै प्रदीप ऐरी शून्य रनमा गुमाएको नेपालका ब्याट्सम्यानहरूले ठूलो साझेदारी गर्न सकेनन् । सोमपालले २७ र कप्तान पारस खड्काले २५ रन बनाए ।

ज्ञानेन्द्र मल्ल ७, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, करण केसी समान ४-४ रनमा आउट भए । सन्दीप लामिछाने २ रनमा अविजित रहे ।

यूएईका लागि कप्तान मोहम्मद नाभिद, सुल्तान अहमद र जाहोर खानले समान २-२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यूएईका लागि साइमन अनवरले उत्कृष्ट ब्याटिङ गरे । ३८ बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए ।

मोहम्मद उस्मान ३० र सीपी रिजवान २२ रनमा आउट भए । मोहम्मद बुताले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई-दुई विकेट लिएका छन् । त्यस्तै सोमपाल कामी र अभिनाश बोहोराले एक-एक विकेट लिए ।

करण केसी निकै महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएका थिए ।

दोस्रो टी-२० भोलि नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment