Comments Add Comment

निबन्धः चिया ध्यान

उसले चियाको पहिलो मात्रालाई एकैछिन जिब्राको क्षेत्रभित्र रहन दियो । चियाको तातोपना मुखको भित्ता-कापाहरुमा पुग्यो । हरियो चियापत्ती, हिमाली जडिबुटी मिसाको भनेको छ पोलिथिनको पोकामा टल्केका किरमिरे अक्षहरुले । स्वाद झन्डै तीतो । गुलियो मिसाउँदैन ऊ यस्ता जडिबुटी जोडिएका चियामा । कारण के ? यसको जवाफ ऊ मनमनै खेलाउँछ- साथीसँगी, काम  चिज शुद्ध राखेको राम्रो । मिसमास नगरेको राम्रो ।

विश्वचर्चित जापानी लेखक हारुकी मुराकामीले सुझाएको यस सल्लाहलाई ऊ आफ्नो तरिकाले अलि लामो बनाउँछ- साथीसँगी, काम,  र हर्बल चिया शुद्ध रुपमा भोेग गरेका राम्रो ।

दुवै हातले प्रेमिकालाई बेरेको भानमा एलसेलले उपहार बाँडेको पटियाला मगलाई हलुका रुपले ओठतिर लग्यो । चियाको दोस्रो मात्रा निकै सुस्तरी तान्यो ।  दुबै नासिकाबाट तातो बाफ, बाफमा बगेको वन्य गन्ध भित्र जाओस् भन्नका लागि ओठ नडाम्ने गरी मगलाई नजिकै  केही बेर राख्यो । धमिलो पानीझैँ लाग्ने तातो चियामा आँखा गाड्यो, अनि फेरि अर्को घुट्को । तातोपन विस्तारै ओठ, जिब्रो हुँदै घाँटीमा पुगेपछि घुटुक्क पार्‍यो । तल बग्दै गरेको चिया र चिया झार्न माथि सरेका घाँटीका अङ्गहरु बीचको संवाद कानमा पर्‍यो । पेटले तातो थाहा पायो । त्यो तातोपना बाहिरको चिसो जत्तिकै वास्तविक र कडा थियो । शरीर तरङ्गित भयो ।

सचेतपूर्ण निलेको एक-दुई घुट्को फिका चियामा यति सन्तुष्टि ! चिया खाने यस सचेत शैलीलाई बौद्ध भिक्षु थित न्हात हान चिया ध्यान भन्छन् । उसले भने यसलाई सचेत चियापान भनी अभ्यास गरेको छ । यस्तो चियापानमा ऊ केवल चिया सुरप सुरुप मात्र पार्दैन । चियालाई पूर्णतः भोग गर्दछ । गिलासको चियालाई राम्ररी हेर्छ (गहिरिएर हेर्दा हरेक चिज सुन्दर देखिन्छ), दुवै हत्केलाले गिलास समाउँछ, नाकले चियाको गन्ध सुँघ्छ, जिब्रोले स्वाद ।  जिब्रो तातिन्छ,  कान घाँटी हुँदै तलतिर बगेको चियाकोे आवाज सुुन्छ । घाँटीहुँदै पेटसम्मको तातोपनले शरीर तरङ्गित हुन्छ ।

ऊ चियाको हरेक मात्रालाई सर्वइन्द्रिय भोग गर्दछ । ऊ आफूलाई कुनै ध्यानी मान्दैन । होइन । योगी ठान्दैन । विश्वास गर्दैन । केबल ऊ भोगी हो ।  हरेक पल पूर्णतः भोग गर्नमा लिप्त भोगानन्द । लोकका सबैचिज सुक्ष्म भोग गर्ने लालसा लिन्छ ।  ऊ लोकानन्द ।   तर यस्तो आनन्दको अनुभूति सधैँ हुदैन । भोगाइमा ज्यादा उसका अनेकौं असन्तुष्टि छन् ।

तर यदाकदा ऊ मौनिन्छ- अनि जीवनमा भने यति विध्न असन्तुष्टि ! आजसम्म उसले यो मन्द तितो चियाभन्दा मिठा र स्वादिला कति चिज खायो होला ? ऊ यसको कुनै गणना गर्न सक्दैन । ती मिठो, स्वादिष्ट भनी खाएका सबैचिज जिब्रोको तिन चार इन्च क्षेत्रफल काटेपछि स्वाद न व्यादका भए । उसलाई लाग्यो ऊ आफू असन्तुष्ट हुने, दुःखी हुने अनेकौँ बहाना खोज्दो रहेछ । हैन भने सानासाना भनी-मानी-बुझी आएका घटनाहरुमा पनि त यति सन्तुष्टि हुँदोरहेछ । आनन्द आउँदो रहेछ । महत्त्वहीन झैँ लाग्ने आजको यस चिया घटनाले उसलाई यही सुझायो । ऊ चिया ध्यानमा छ । त्यसैले हरेक पटकको चियाको मात्रा ऊ सचेत पिउँदै छ । चिसो शरीरमा तातोपना सिचाइ गर्दैछ ।

अर्को, अर्को  घुट्कोमा उसलाई फेरी अर्को विचार फुर्‍यो- प्राप्तिको सङ्घर्षका बहानामा ऊ दु:खी बनी कुदिरहेछ ।  अस्थिर बसिरहेछ । छटपट सुतिरहेछ । एक दिन संघर्षका यी सबै बहाना पुरा भएपछि ऊ झन् कति दुःखी होला ? न कुनै डिग्रीले  उसमा अन्ततः अनन्त सन्तुष्टि ल्याउला । न त अर्को कुनै घडेरीको कित्ताकाँट गरेपछि, लालपुर्जा हातमा थामिएपछि उसलाई सुन्तुष्टिको अनुभव होला, न त डेराको बसाइबाट पार लागेर आफ्नै भन्ने भान हुने कुनै घरमा छिरेपछि उसमा असारको झरीझैं हर्ष बर्सेला ।

यस्ता प्राप्तिपछि ऊ एकछिन् उत्तेजित त पक्कै हुनेछ तर यस्तो उत्तेजना एकछिन्, एक दिन, एक साता, मुस्किलले एकाद महिना बसिजाला । फेरि अर्को डिग्री, अर्को घडेरी, अर्को लालपुर्जा अनि अर्को, फेरि अर्कोको योजनामा कोठामा एक्लै घोत्लिएला, बाटामा बरबराउँदै हिँड्ला, भेटेकाको के छ हो हालखबरको प्रतिउत्तरमा तनाव छ । बढो जटिलतामा फसेको छु भन्ला । छुटिएर निकै पर पुगेपछि सोध्ने मित्रले उसलाई नमस्कार गरेको र आफूले फर्काउन विर्सिएको सम्झिएला ।

उसका योजनाका खाकाहरु भविश्यतिर हानिने बहाना मात्र हुन् ।  भविष्यको बहाना वर्तमानबाट भाग्ने कला हो । वर्तमानमा गोडा लरखराउन थालेपछि अनि मन व्यस्त हुन्छ बनाउनमा अनेकौँयोजना, परियोजनाका खाका । लोभी आँखाले दुर भविष्यको सफलातामा घुरिघुरि हेरिबस्छ । यता अगाडिको बर्तमान सेलाएर चिसिन्छ । या त फर्किन्छ मन विगततिर अनि उग्राउन थाल्छ वितेका दिन ।

उसको सचेत चियापान जारी छ । अब चिया झन्डै एक माना थेग्ने पटियाला मगमा आधा भएको छ । चियाको तातोपन रगतमा मिसिएर टाउकोभित्र पुग्छ ।

उसलाई कताकता अँधेरोले छोपी ल्याउँछ- के हुन्छ होला यी सबै भविष्यका योजना प्राप्त भए भने । अनि उसका यो गर्छु र त्यो गर्छु भन्दै हतासमा कुदी हिँडने बहानाहरु सकिए भने । यस्तै अन्य बहानाहरु मनको सतहमा तैरिरहने छन् यस्तै गरी । तर मन धान्ने उसको शरीर गल्नेछ, धमिराको घर वर्षाले थचारेसरि ।

उसको शरीर समयको बर्षाले गलाएपछि, मनमा बनेका योजनाका बाटामा हिँड्न नसक्ने गरी गोडा गल्नेछन् । गल्दै गएपछि योजना बनाउने मस्तिष्क कुनै योजनाको खाका नै बनाउनै नसक्ने गरी रिटायर्ड हुनेछ । स्मृति कुन्ड सुक्नेछ । सम्झनामा केही रहने छैन । उग्राउने केही कुरा नभएपछि बाँकी उसँग के रहला ? उसँग केबल वर्तमान रहला । अनि ऊ स्थिर रहला त्यस वर्तमानको जग्गामा । बल्ल अब ऊ वर्तमानलाई आफ्नो ठान्ला । स्वीकार्ला जब उसमा भविष्य र विगतका बारेमा  सोच्ने सबै शक्ति निथि्रएला । तर शक्ति निथि्रएको वर्तमानको के औचित्य ? जतिबेला शरीर उर्जावान थियो, चेतना बलिरहेको थियो त्यतिबेलाको वर्तमान कि त भविश्यको कल्पनामा वित्यो कि त विगतको स्मृतिमा । उतिखेरै सम्पूर्ण तनमन शक्ति वर्तमानमा केन्दि्रत गर्न सकेको उसको जीवन आनन्दले धपक्क बल्दथ्यो होला आइग्लासले सूर्यकिरण खिचेर आगो पारेझैँ । तर भोलिको तयारी भन्दा-भन्दै, हिजोको हिसाबकिताब गर्दागर्दै हरेक आज हिजो हुँदै गयो । हरेक आजलाई आजकै रुपमा विताएको भए आज उसको जीवनमा कति आनन्द हुन्थ्यो होला ।

उसको सचेत चियापान जारी छ । अब चिया पटियाला मगको पिँधमा पुगेको छ ।  मगलाई खाटे टेबलको छेउमा राख्नु अघि यसभित्र हेर्‍यो । चियापत्तीको वरिवरि अझ केही धमिलो पानी बाँकी देख्यो । फेरि मगलाई एक पटक ओठमा जोड्यो । बाँकी रहेको चिया विस्तारै मुखमा हाल्यो । जिब्रोलाई थाहा दियो- यो अन्तिमा घुट्को, चाहेजति स्वाद लिनु । तर यो अन्तिम घुट्को चिसिइसकेको थियो, यसमा अघिसम्मको मतमताउँदो तितोपनको मिठास थिएन । न त हिमाली जडिबुटीको गन्धनै बाँकी थियो ।

चियाको मग उठाउँदै स्वास तान- सचेत

आफ्नो मनलाई शरीरमा फिर्ता बोलाऊ ।

तिम्रो शरीर मात्र होइन मन पनि यहीँ हुनेछ  ।

पूर्णसचेत ।

विगत रहने छैन ।

भविश्यतिर मन जाने छैन ।

भूत र भविश्य दुबैबाट म मुक्त होऔंला ।

यति खेर चिया र तिम्रो बीच प्रत्यक्ष भेट भएको छ ।

यस मिलनको क्षणमा शान्त रह, खुसी रह, आनन्दित रह ।

चियाको हरेक सुर्किमा आनन्दित हुन सिक ।

दायाँ हातले खाली मग समातेर उ पश्चिम फर्किएको झ्यालतिर गयो । चन्द्रागिरी पहाडलाई हेर्‍यो । चन्द्रागिरीको आङ र थाप्लोलाई छाड्दै विस्तारै  माथि उठ्दै गरेको कुहिरो देख्यो । उसको आँखा कुहिरोसँग्ौ माथि उठ्दै गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment