Comments Add Comment

किन मनाइदैछ सुँगुर वाला नयाँ बर्ष ?

हामीकहाँ एउटा भनाई छ, ‘काहीँ नभएको जात्रा हाँडीगाउँमा ।’

तर, जात्रा हाम्रोमा मात्र होइन, विश्वमै अनौठा-अनौठा जात्रा एवं पर्व मनाइन्छ । हरेक पर्वसँग त्यहाँको रैथाने जनजीवन एकाकार भएको हुन्छ । त्यहाँको हावापानी, भूगोल प्रतिनिधित्व भएको हुन्छ । र, यस्ता पर्व एवं उत्सवहरुले स्थानिय क्षेत्रको आर्थिक गतिविधिलाई पनि चलयामान बनाइदिन्छ ।

विश्वमा विभिन्न समुदाय लुनर न्यू ईयर (चन्द्र नववर्ष)को उत्सव मनाउने तयारीमा छ । यसपालीको विशेषता के छ भने, चिनियाँ ज्योतिष अनुसार यस बर्षको पशु सुँगुर हो ।

लूनर न्यु इयरको उत्सव मनाउनुको अर्थ हो, त्यस बर्षको पशु तपाईंले जहाँ पनि देख्न सकोस् । यो सजावटदेखि लिएर खेलौना, उपहार वा विज्ञानसम्म देखिनेछ ।

यस बर्षको पशु सुँगुर छ । चीनी ज्योतिष क्यालेन्डरमा अन्तिम पशु सुँगुर हुन्छ । यद्यपी मुसलमानका लागि सुँगुरको खाना बर्जित छ । उनीहरुले यसलाई अपवित्र मान्ने गर्छन् । बहु-सांस्कृतिक समुदायमा एक अर्काको धर्म, आस्था, परम्परालाई पनि स्विकार गर्नुपर्छ । सम्मान गर्नुपर्छ । तर, कहिले काहीँ यसले धार्मिक एवं राजनीतिक रुप लिन्छ र द्वन्द्व पैदा हुन्छ । यसै सन्दर्भमा हिन्दी बीबीसी अनलाइनले प्रकासित गरेको आलेखको भावनुवाद यहाँ पेश गरिएको छ ।

सुँगुर बर्षको उल्लास

थुप्रै चीनी-मलेशिया परिवारले जस्तै चाऊ परिवारका लागि लूनर नव वर्ष एक राम्रो व्यवपारिक अवसर पनि हो । उनीहरु मलेसियाको जोहोर राज्यस्थित पहाट शहरमा बसोबास गर्छन् । चाऊ यूनका लागि यो बर्ष विशेष छ, किनभने उनकी पत्नी स्टेला र उनकी छोरी सुँगुरवाला बर्षमै जन्म भएको थियो । एक स्थानिय बिस्कुट कारखानाका म्यानेजेर चाऊ भन्छन्, ‘हामी घरमा सुँगुरलाई शुभ आभूषणले सजाउनेछौं । यस अवसरमा आफन्त, इष्टमित्र, छिमेकी हाम्रो घरमा आउनेछन्, उनीहरु जुनसुकै नश्ल वा धर्मको किन नहोस् । उत्सव त सबैको लागि हो ।’

आफ्नो पर्वको कारण अरु कुनै साथीले दुःख मान्नेछन् भन्ने उनलाई लाग्दैन । उनलाई लाग्छ, नयाँ वर्षमाथि कुनै विवाद हुँदैन ।

उनी स्मरण गर्दै भन्छन्, ‘पछिल्लो वर्ष नयाँ वर्षको पशु कुकुर थियो । त्यसलाई लिएर भने एकदमै हंगामा भएको थियो ।

मलेशिया एक बहु-सांस्कृतिक देश हो । यद्यपी त्यहाँको आधिकारिक धर्म इस्लाम हो । साथै पछिल्लो खबर के पनि आइरहेको छ भने त्यहाँ मुसलमानमाथि अपमानजन्य हर्कत भएकाले देशमा असहिष्णुता बढिरहेको छ । त्यही कारण मुस्लिम समुदाय विचलित हुने डरले कतिपय पसलले सुँगुरको तस्वीर प्रयोग गरेका छैनन् ।

चाऊ भन्छन्, ‘मलेशिया केही नस्लका मानिस मिलेर बनेको छ । यहाँ केवल मलय मुस्लिम मात्र छैनन् । चिनिया र भारतिय समुदाय पनि छन् । साथै ईसाई, हिन्दु, ताओ र बौद्ध जस्ता धर्म पनि छ । त्यसैले यस्तो मिश्रति समुदायमा हामीले एकअर्काको उत्सवलाई स्विकार र सम्मान गर्नुपर्छ ।’

चिनियाँ ज्योतिष अनुसार हरेक पुशको आफ्नो खास विशेषता र लक्षण हुन्छ । सुँगुरवाला वर्षमा जन्म लिने व्यक्ति बुद्धिमान, दयालु र वफदार हुन्छन् ।

विश्वमा सबैभन्दा बढी मुस्लिमहरु बसोबास गर्ने देश इन्डोनेशियामा लूनर न्यू ईयरमा राष्ट्रिय विदा हुन्छ । यस क्रममा सार्वजनिक रुपले कतिपय शहरमा उत्सव मनाइन्छ । त्यसबेला रंगविरंगी बत्ती बाल्ने, झाँकी निकाल्ने र विभिन्न प्रस्तुती देखाइने गरिन्छ ।

जकार्ताकी मेरी ओलिभिया भन्छिन्, उनका मुस्लिम साथीहरुले सुँगुरको तस्वीरलाई स्वागत गरेका छन् । ‘म इन्डोनेशिया मुसलमान समुदायसँग बढे, हुर्कें । उनीहरुलाई म राम्ररी जान्दछु कि, उनीहरु सुँगुरको कारण चिन्तित छैनन् ।’

उनी के पनि भन्छिन् भने, यो पशु बाँकी अर्को पशुको तुलनामा अधिक प्रशन्न देखिन्छ ।

सर्पसँग तुलना गर्ने हो भने सुँगुर निकै प्यारो लाग्ने उनी बताउँछिन् । त्यसैले सुँगुरको प्रतिक भएको सजावटको सामाग्री खरिद गर्नु र सजाउनु उनलाई कतिपनि आपत्ति छैन ।

बेकरीमा काम गर्ने वाली वलेरिया रीटा नयाँ बर्षका लागि खास मिठाई बनाइरहेकी छिन्, जसमा सुँगुरजस्तै देखिने बिस्कुट छ । यसमा उनलाई राम्रो प्रतिक्रिया मिलिरहेको उनले बताएकी छिन् । ‘यसपाली हामीले सुँगुरको आकारको मिठाई बनाउने निर्णय गर्‍यौं’ उनले भनेकी छिन्, ‘साथै पि्र अर्डरको कोटा दुई हप्तामा पुरा भइसकेको छ ।’

उनका धेरैजसो ग्राहक मुसलमान छन् ।

उनी भन्छिन्, ‘ग्राहकहरु नयाँ वर्षको उत्सव मनाउनकाका लागि आफ्ना चिनियाँ सहकर्मी र साथीका लागि मेरो बिस्कुट खरिद गर्नेछन् । कतिले खरिद गरिसकेका छन् र उनीहरुले सुँगुर रुचाएका छन् ।’

२४ बषिर्य रंग्गा सस्त्राजाया बोगोर शहरमा बस्छन् । उनले सुँगु जस्तै देखिने खेलौना र सजावटको सामाग्री खरिद गरेका छन् । तर, उनी यसलाई खुला रुपमा सजाउन भने डराएका छन् । किनभने इन्डोनेशियन साथीहरुले यसमा चित्त दुखाउँछन् कि भन्ने भय छ उनलाई । कतिपयले सांस्कृतिक विविधतालाई स्विकार नगर्ने उनको बुझाई छ ।

उनी भन्छन्, ‘म आफैपनि सुँगुर अंकित कमेज लगाउन सक्छु । घरमा सुँगुरको चित्र सजाउन सक्छु । तर, सार्वजनिक रुपमा मलाई त्यस्तो गर्न खासै जाँगर छैन । किनभने यसले अरु समुदायमा नराम्रो असर पर्न सक्छ ।’

कतिले भने यो उत्सवमाथि निकै आलोचना गरिरहेका छन् । फोरम मुस्लिम बोगार एक कट्टरपंथी इस्लामी संगठन हो, जसले यो पर्व रद्द गर्नुपर्ने माग गरिरहेको छ । उनीहरुले यसलाई इस्लामी आस्था कमजोर बनाउने भन्दै अनुचित पर्वको नाम दिएका छन् ।

लूनर न्यू इयर मनाउने सम्बन्धमा इन्डोनेशियाका कति मुसलमानलाई भने यो सांस्कृतिकभन्दा बढी धार्मिक पर्व लागेको छ । हालै इन्डोनेशियाका एक नेताले भने चिनियाँ समुदायाको पक्षमा अभिव्यक्ति दिएका छन् । उनले अलग अलग सांस्कृतिक पृष्टभूमि, धर्म र परम्परा मान्ने व्यक्तिहरुलाई बढाव दिएका छन् । उनी यी सबैलाई सम्मान गर्नुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment