Comments Add Comment

प्रदेशसभामा रेकर्ड भयो मुख्यमन्त्रीको ‘चरित्र’

संघीय सरकारसमक्ष निरीह भएर रुँदै हिँडेको आरोप

२३ माघ, विराटनगर । संसदीय परम्पराअनुसार सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले मर्यादित भाषामा प्रस्तुत हुनुपर्छ ।

कसैमाथि पनि व्यक्तिगत एवं अप्रमाणित आक्षेपहरु लगाउनुहुँदैन । तर, बुधबार बसेको प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा त्यस्तो अवस्था देखिएन ।

प्रदेशसभाको बैठकमा बोल्ने विपक्षी दलका सचेतकले मुख्यमन्त्रीमाथि महिला हिंसाजस्तो जघन्य विषय जोडेर प्रश्न उठाए । साथै मुख्यमन्त्रीलाई ‘निरीह’ र ‘रुँदै हिँडेको’ जस्तो आरोपसमेत लगाए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि महिला हिंसाको घटनामा उनको नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रदेश सभा बैठकमा सरकारको धारणा मागेको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकको विषेश समयमा बोल्दै कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले मुख्यमन्त्री राईमाथि महिला हिंसासम्बन्धी आरोप लागेको भन्दै यसबारे प्रदेश सरकारको धारणा मागेका हुन् ।

‘मुख्यमन्त्री राईमाथि महिला हिंसाको विषयमा नाम जोडियो’ कांग्रेस सचेतक कार्कीले भने ‘आम जनताले यस विषयमा हामीलाई सोध्ने काम भयो, हाम्रो शीर निहुरियो । तर, सरकारको तर्फबाट यस विषयमा न कुनै स्पष्टीकरण आयो, न कुनै सन्देश,’ कार्कीले प्रदेशसभामा प्रश्न गरे, ‘सरकार किन चुँइक्क बोलेन ?’

मुख्यमन्त्री राईमाथि केही समयअघि नेकपाकै कार्यकर्ता रहेकी एक महिलाले आफू हिंसाको शिकार भएको आरोप लगाएकी थिइन् । उनले यस्तो आरोप धेरै पहिलेदेखि नै लगाउँदै आए पनि अप्रमाणित रहँदै आएको छ ।

आफ्नो चरित्र हत्या गर्न पार्टीभित्रैबाट प्रपञ्च रचिएको मुख्यमन्त्री राईले दुईवर्ष अघिदेखि नै जवाफ दिँदै आएका छन् । तै पनि उनलाई यो आरोपले पछ्याउन छाडेको छैन ।

मुख्यमन्त्री राई अहिलेसम्म अविवाहित छन् । जबजब उनको विवाहको कुरा चल्छ, उनै महिलाको विषय सामाजिक सञ्जालमा आउने गर्छ ।

यो पनि पढ्नुहोस एमालेमा युवती काण्डः कृपासुर शेर्पाविरुद्ध शेरधन राईको उजुरी

यही क्रममा बुधबार मुख्यमन्त्री राईमाथि लागेको वैयक्तिक आरोपबारे कांग्रेस सांसदले बोलेपछि यो विषय प्रदेशसभाको रेकर्डमा रहेको छ । सभामुखले यसलाई रेकर्डबाट हटाउन कुनै रुलिङ गरेनन् ।

कांग्रेस सचेतक कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संघीय सरकारसमक्ष निरीह भएर रुँदै हिँडेको आरोपसमेत लगाए । उनले प्रदेश सरकारले प्रदेशका जनताको पक्षमा काम गर्नु भन्दा पनि दुई तिहाइको दम्भ पालेर अति नै पात्तिने र जथाभावी बोल्ने गरेको बताए ।

बुधबार बसेको प्रदेश सभा बैठकमा ‘प्रदेश खेलकुदका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५’ माथि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाउने प्रस्ताव पास भएको छ । सो विधेयक सामाजिक विकास मन्त्री जीवन घिमिरेले सदनसमक्ष पेश गरेका थिए ।

त्यसैगरी ‘प्रदेश विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि छलफल शुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विधेयक सदनमा पेश गरेका हुन् ।

बुधवारको प्रदेश सभामा शुन्य समयमा बोल्दै प्रदेश सदस्यहरुले लागु औषधका कारण हत्या हिंसा, बलात्कारका घटना बढेको भन्दै प्रदेश सरकारले लागु औषध बिक्री वितरणमा कडाइ गर्न माग राखेका थिए भने केही प्रदेश सदस्यहरुले क्रसर व्यवसायीलाई सरकारले संरक्षण दिएको भन्दै सरकारको आलोचना गरेका थिए ।

शून्य समयमा मोहनकुमार खड्का, सूयर्माराज राई, विद्या कार्की, वसन्तीदेवी यादव, सन्ध्याकुमारी दासलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment