Comments Add Comment

योगेश भट्टराईले भने : गोर्खा भर्तीबारे बेलायतसँग तत्काल वार्ता गर्नुपर्छ

२५ माघ, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले बेलायती सेनामा नेपाली युवाहरुले भोगेको समस्या समाधानका लागि बेलायत सरकारसँग वार्ता गर्न उच्च स्तरीय समिति बनाउन माग गरेका छन् ।

बेलायती सेनामा कार्यरत नेपाली युवाहरुले धेरै विभेद भोग्नुपरेको भन्दै उनले नेपाल र बेलायतबीचमा उच्च स्तरीय वार्ता टोली बनाई वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताए । प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले वार्ता समिति बनाएर वार्ता गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षणसमेत गराए ।

अहिले पनि सन् १९९३ अगाडि भर्ना भएका र सन् १९९७ को जुलाइअघि सेवा निवृत्त भएका गोरखा सैनिकमाथि ठूलो विभेद रहेको भन्दै उनले नेपाली नागरिकको सम्मान र सहअस्तित्वका लागि सरकारले वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका हुन् ।

बेलायती सेनामा अन्यायमा परेका १९९३ अघि भर्ती भएका र १९९७ जुलाईअघि सेवानिवृत्त भएकाहरुको बारेमा के गर्ने भनेर बेलायतस्थित नेपाली दूतावास, बेलायतको रक्षा मन्त्रालय र आन्दोलनरत भूपू ब्रिटिश सैनिक संगठनले गठन गरेको कार्यदलले सन् २०१८ मार्चमा प्रतिवेदन दिएको भन्दै त्यस अनुसार समस्या समाधानका लागि दुई देशको उच्च स्तरीय वार्ता कमिटी आवश्यक परेको भट्टराईले बताए ।

उनले बेलायती सेनामा नेपाली महिलाको भर्तीको कुरा पनि उठिरहेको भन्दै यी सबै विषय दुई देशको वार्ता कमिटीबीच वार्तामार्फत टुंग्याउनुपर्ने बताए । बेलायती सेनामा नेपाली युवाहरुले तलबमा ९०० प्रतिशतसम्म विभेद रहेको उनले बताए ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment