Comments Add Comment

प्रचण्डलाई कानून मन्त्रीको जवाफ– संघीयताप्रति सरकार प्रतिबद्ध छ

२६ माघ, विराटनगर । कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संघीयता कार्यान्वयनप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डले सरकार संविधानको भावना अनुसार नचलेको आरोप लगाएको भोलिपल्ट कानून मन्त्री ढकालले त्यसमा कुनै शंका नगर्न आग्रह गरेका हुन् ।

शुक्रबार प्रचण्डले संविधानमा व्यवस्था भएअनुरुप प्रदेश र स्थानीय तहलाई अधिकार नदिएर पुरानै संरचनालाई बलियो बनाउने गरी सरकार अघि बढेको आरोप लगाएका थिए । उनले संघीयता कार्यान्वयनमा अवरोध गरे अर्को माओवादी जन्मने चेतावनीसमेत दिएका थिए ।

तर, कानून मन्त्री ढकालले प्रचण्डको आरोपको खण्डन गर्दै संघीयता कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरे  ।

‘संघीयता हामीले लडेर ल्याएको व्यवस्था हो, यसको कार्यान्वयनमा सरकार गम्भीर छ’, नेकपा मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने ।

सीडीओ, प्रदेश प्रहरीको अधिकार बाँडफाँटलगायत विषयमा विविध धारणा आइरहेकाले सरकारले विस्तारै यसको व्यवस्थापन गर्ने मन्त्री ढकालले बताए ।

उनले संघीयता समृद्ध गर्ने विषयमा सरकारले कुनै गठन आदेश वा अध्यादेश नल्याएर प्रस्ताव मात्र ल्याएकाले छलफलबाट त्यसलाई सुदृढ बनाउने स्पष्ट पारे ।

संविधान कार्यान्वयका लागि आवश्यक कानून निर्माणमा सरकार जुटिरहेको जानकारी मन्त्री ढकालले उक्त अवसरमा दिए । ‘संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणसँगै संशोधनको काम अघि बढिरहेको छ’, कानून मन्त्री ढकालले भने, ‘ निर्धारित समयमै सबै कानून निर्माणले पूर्णता पाउने छ ।’

कुल ३ सय ४९ वटा कानून निर्माण गर्नुपर्नेमा अहिलेसम्म १ सय ६५ वटा कानुन निर्माण भईसकेको जानकारी मन्त्री ढकालले दिए । नेपाल ऐन संशोधन गरी १ सय ९ वटा कानून संशोधनका लागि अघि बढाइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment