Comments Add Comment

‘उपचारका लागि कोही विदेश जानु पर्दैन !’

वरिष्ठ शल्यचिकित्सक डा. महेश खकुरेलको कथा

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि १६ जेठ ०६९ मा उपराष्ट्रपति नन्दकिशोर पुन चाबहिलस्थित ओम अस्पताल भर्ना भए । डा. भुवन कोइरालाको टिमले परीक्षण गर्ने क्रममा दुवै मिर्गौलामा समस्या देखिएपछि उनलाई तुरुन्त जोरपाटीको नेपाल मेडिकल कलेज (एनएमसी) लैजान सल्लाह दिइयो ।

एनएमसीमा डा. प्रमोदकुमार क्षेत्रीको टिमले परीक्षण गर्‍यो, केही दिन आइसीयूमा राखियो । त्यसबेला उपराष्ट्रपति पुनको स्वास्थ स्थिति बुझ्न अस्पताल पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपचारका लागि विदेश जान सुझाव दिएका थिए । तर पुनले भनेका थिए, ‘बाँचे यही बस्छु, मरे पनि यही मर्छु । तर उपचारका लागि विदेश जाँदिनँ ।’

स्वास्थ्यमा क्रमिक सुधार आएपछि उपराष्ट्रपति पुनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगियो । त्यहाँ उपचार गरेको एक हप्तामै उनी डिस्चार्ज भए ।

मिर्गौलाको नियमित औषधि सेवन गरिरहेका उपराष्ट्रपति पुन अहिले ठीकठाक छन् । उनले सैनिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि आफ्नो नियमित स्वास्थ्य परीक्षण अस्पताल वीर अस्पतालमा गराउँदै आएका छन् । स्वास्थ्य परीक्षणको लागि विदेश जाने नेताको संख्या बढिरहेका बेला वहालवाला उपराष्ट्रपति पुन र पूर्वराष्ट्रपति यादवले भने देशकै चिकित्सकमा विश्वास गरेका छन् ।

नेपालमा एकाध जटिल र महँगोबाहेक सबै किसिमका स्वास्थ्य सेवा उपलब्ध छ ।

वरिष्ठ शल्य चिकित्सक डा. महेश खकुरेल अपवादबाहेकका सेवाका लागि कसैले विदेश जानु नपर्ने बताउँछन् । उनका अनुसार नेपालको चिकित्सा क्षेत्रमा दक्ष जनशक्तिको कमी छैन । ‘तर, कुनै कुनै परीक्षण यति धेरै जटिल र महँगो हुन्छ कि यहाँ गर्नै सकिन्न’, खकुरेल भन्छन्, ‘त्यसबाहेक, कहिलेकाहीँ ‘इन्भेष्टिगेसन डिलेमा’ पनि यसरी हुन्छ कि यही बसेर उपचार गरौं न भन्दा पनि रोग पत्ता लाग्दैन ।’

उनका अनुसार, नेपालमा पत्ता नलागेको रोग भारतमा पनि पत्ता नलाग्न सक्छ । त्यस्तो बेला विदेश गएको पनि अर्थहीन हुने डा. खकुरेल बताउँछन् ।

२०४६ देखि ०६२ सालसम्म मुलुकको जेठो अस्पताल वीर र शिक्षण अस्पतालको भीआईपी कक्षहरु बिरामीले भरिन्थ्यो । अहिले सुविधासम्पन्न उपचार कक्षहरु सुनसान छन् । यसको मुख्य कारण नेपालमा दक्ष चिकित्सक नभएर होइन । ‘अहिलेका भीआईपीहरुका लागि उपचार गर्न विदेश जाने कुरा ‘स्टाटस सिम्बोल’ बनेजस्तो छ’, नेपाल सर्जिकल सोसाइटीका निर्वतमान अध्यक्षसमेत रहेका डा. खकुरेल भन्छन्, ‘तर, व्यर्थको आकर्षण हो ।’

पहिले त स्वर्गीय रानी ऐश्वर्यको पित्तथैलीको शल्यक्रियादेखि हेलिकप्टर दुर्घटनामा परेका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष मनमोहन अधिकारीसम्मको उपचार नेपालमै भएको डा. खकुरेल सम्झन्छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अधिकारीको मेरुदण्डमा गम्भीर चोट लागेको बेला नेपालमा स्पाइन सर्जनको राम्रो विकास भइसकेको थिएन । ‘त्यसैले, हामीले थप उपचारका लागि बंैकक जान कर गर्दा उहाँ मलाई नेपालकै डक्टरहरुमा भरोसा छ, कतै जान्न भन्नुहुन्थ्यो’, डा. खकुरेल भन्छन्, ‘उहाँ ठीक पनि हुनुभयो ।’

त्यही बेला दुर्घटनामा परेर सामान्य घाइते भएका अर्का नेता इन्डोस्कोपी गर्न बैंकक गएको उनी सम्झन्छन् । डा. खकुरेलको बुझाइमा उनी इन्डोकोस्पीकै लागि विदेश जानु भनेको सुविधाको दुरुपयोगबाहेक अरु केही थिएन ।

डा. महेश खकुरेलको ‘करिअर’

काठमाडौंको खिचापोखरीमा जन्मेका महेश खकुरेलले ०१७ सालमा लैनचौरको शान्ति विद्या गृहबाट एसएलसी र त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गरे । त्यसपछि ०२६ सालमा कोलोम्बो प्लानअन्तर्गत पञ्जावको अमृतसर मेडिकल कलेजबाट एमबीबीएस पढेका उनले जापानमा सर्जिकल ग्यास्ट्रो इन्टेरोलोजीमा पोष्ट ग्रयाजुएन र सन् १९८१ मा एडिनवर्गको रोयल कलेज अफ सर्जनबाट एफआरसीएस गरे ।

बेलायत जानुअघि सरकारी सेवामा थिए । अध्ययन बिदा नपाएरविना स्वीकृति बेलायत गएपछि निष्काषनमा परे । ‘अध्ययन सकेर १९८५ मा नेपाल फर्केँ’ उनी भन्छन्, ‘तर स्वास्थ मन्त्रालयले निष्काषित गरेकै कारण छ महिनासम्म काम पाइनँ ।’

तर, भविष्यमा ‘अयोग्य नठरिनेगरी’ निस्काषित भएका कारण त्रिवि शिक्षण अस्पतालमा काम पाए ।

२०६२ सालमा शिक्षण अस्पतालको निर्देशक पनि भए । त्यसबेलासम्म अस्पतालमा राजनीतिक हस्तक्षेप कमै थियो । निर्देशक बन्ने अवसर पनि राम्रो काम गरेका वरिष्ठहरुले पाउँथे । अहिले स्वास्थ्य संस्थाहरुको उपल्लो पदहरु राजनीतिक भागवण्डामा छ । ‘भागवण्डा हुदाँ संस्था राजनीतिको बन्धक बन्छ, आर्थिक चलखेल पनि धेरै हुन्छ र कयौं कुरा उद्देश्यभन्दा बाहिर जान्छ’, डा. खकुरेल भन्छन्, ‘जबकि, हाम्रो मुख्य उद्देश्य भनेको पठनपाठन र बिरामीको सेवा हो ।’

सर्जिकल सोसाइटीका अध्यक्ष हुँदाका सपना

सन् २००२ देखि २००४ सम्म डा. खकुरेल अध्यक्ष हुँदा सर्जिकल सोसाइटीले नेपालमै कलेजो, प्यानक्रियाज, मुटुलगायतका अंग प्रत्यारोपण गर्ने सपना देखेको थियो ।

त्यो बेला नेपालमा मुटुको शल्यक्रिया त हुन्थ्यो तर, सर्जनबाहेक दक्ष जनशक्ति नहुँदा ओपन हार्ट सर्जरी हुँदैनथ्यो । अंग प्रत्यारोपण सम्बन्धी ऐन कानुन पनि बनेको थिएन ।

अहिलेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल त्यसबेला स्वास्थ्यमन्त्री थिए । उनलाई भेटेर अनुरोध गर्दा मिर्गौला प्रत्यारोपण सेवाका लागि कानुन बनाउने तदारुकता देखाएको डा. खकुरेल बताउँछन् । ‘अनि कतिपय सहयोग स्वास्थ्य मन्त्रालयबाट भयो, कति कुरा हामीले बाहिरबाट जुटायौं’, उनी भन्छन्, ‘त्यसरी शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भयो ।’

पछि मेडिकल क्षेत्रमा बढेको राजनीतिका कारण सेवा सुचारु गर्न समस्या भएको उनको अनुभव छ । ‘यस्तो सेवालाई सबै क्षेत्रमा लैजानुपर्नेमा नियन्त्रण गर्न खोजियो’, उनी भन्छन्, ‘कलेजो प्रत्यारोपणको विषयमा पनि धेरै राजनीति भयो ।’

अहिले भने शिक्षण अस्पतालले कलजो प्रत्यारोपणको अनुमति पाइसकेको छ । अंग प्रत्यारोपणको क्षेत्रमा देखेको सपना साकार भएकोमा डा. खकुरेल खुसी छन् । प्रविधि प्रयोग र उपचारको क्षेत्रमा नयाँ पुस्ताले फड्को मारेको देख्दा गजब सन्तुष्टि मिल्ने उनी बताउँछन् ।

‘नेपालमा भिजनको अभाव भयो’

डा. खकुरेल नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा भिजनको ठूलो कमी देख्छन् । त्यही कमीका कारण सरकारले यीनलाई पैसा कमाउने क्षेत्रको रुपमा मात्र देखेको उनको निक्र्योल छ ।

एक अर्काको परिपुरकको रुपमा रहेका क्षेत्रमा सरकारले दुरगामी भिजन बनाएर विकासमा लाग्नुपर्ने उनको भनाइ छ । नेपालका स्वास्थ्यकर्मीहरुमा पनि भिजनको कमी रहेको उनको तर्क छ । त्यहीकारण मिर्गौला प्रत्यारोपणको काम सुरु गर्दा आफूहरुमाथि स्वास्थ क्षेत्रबाटै अनेक लाञ्छना लगाइएको उनी बताउँछन् । ‘न्युरो सर्जरी सुरु गर्दा त्यस्तै भयो, मनमोहन कार्डियो भास्कुलर थोरासिक सेन्टर खोल्दा पनि साथीहरुले त्यस्तै खालको अवरोध सिर्जना गरे, तीन किलोमिटरको दूरीमा गंगालाल हुदाँ–हुँदै मनमोहन खोल्न हुँदैन भने’, डा. खकुरेल भन्छन्, ‘तर अहिले इमर्जेन्सी पर्दा न गंगालालमा बेड पाइन्छ न त मनमोहनमा । यो भनेको भिजन कै समस्या हो ।’

ल्याप्रोस्कोपिकका पायोनियर


नेपालमा ल्याप्रोस्कोपिक सर्जरीको विकास पनि डा. खकुरेलकै पालामा भयो । उनले यो प्रविधि भित्र्याउदाँ मेडिकल फ्याकल्टीहरुलाई नै यसमा धेरै विश्वास थिएन ।

‘हाम्रै पनि हात बसिसकेको थिएन, एक घण्टामा सकिने काममा तीन घण्टा लाग्थ्यो’, डा. खकुरेल भन्छन्, ‘त्यसबेलाको वातावरण पनि सहज थिएन, मानिसहरु डराउँथे ।’

त्यसो त उनले ल्याप्रोस्कोपिक सर्जरी भित्र्याउन पनि निकै पापड बेल्नु परेको थियो । जापानको होएगो विश्वविद्यालयका चिकित्सकहरुले उनलाई नेपाल जस्तो देशमा यो प्रविधि धेरै महँगो हुने भन्दै बरु अरु कुरा सिक्न सुझाएका थिए ।

त्यसपछि बम्बै (हालको मुम्बई) का एक डाक्टरले ल्याप्रोस्कोपिक सर्जरीमा प्रोत्साहित गरेको उनी बताउँछन् । ‘त्यसबेलासम्म नेपालमा विदेशी चिकित्सकले मात्र ल्याप्रोस्कोपिक प्रविधिमा शल्यक्रिया गरिरहेका थिए’, डा. खकुरेल भन्छन्, ‘म बम्बैबाट फर्केपछि शिक्षण अस्पतालले यो सेवालाई निरन्तरता दियो ।’

त्यसपछि उनले निजी स्तरमा पनि धेरैलाई ल्याप्रोस्कोपिक सर्जरी तालिम दिए । धरानको बीपी कोइराला मेमोरियल अस्पतालमा यस सम्बन्धी विशेष प्रशिक्षण चलाए । त्यसपछि यो सेवा नेपालका अस्पतालहरुमा विस्तार हुँदै गयो ।

अहिले त नेपालमा एडभान्स किसिमको ल्याप्रोस्कोपिक प्रविधि पनि भित्रिसकेको छ । तर, यो प्रविधि जति आधुनिक भयो यसमा प्रयोग गरिने उपकरणहरु पनि महँगो हुने भएकोले धान्न गाह्रो हुने डा. खकुरेल बताउँछन् ।

ल्याप्रोस्कोपिक सर्जरीको फाइदा ?

संसारमा ८०–९० प्रतिशत सर्जरी ल्याप्रोस्कोपिक प्रविधिमार्फत हुन्छ । महँगो प्रविधिमा पर्ने यो सर्जरी मुख्यतः पेट वरिपरिको भाग, मिर्गौला र प्यानक्रियाजमा गरिन्छ ।

ल्याप्रोस्कोपिक सर्जरीमा शरीरमा एकदेखि सातवटासम्म प्वाल पारिन्छ । प्वाल बढीमा एक सेन्टिमिटरको हुन्छ । यस्तो सर्जरीले शरीरलाई कुनै हानी गर्दैन, दाग पनि बस्दैन । यो सर्जरीमा नशा तथा मांसपेसी पनि कम काटिन्छ । ल्याप्रोकोपिक सर्जरीमा बढी रक्तश्राव हुने र नजिकैको अंगलाई असर पुग्ने विरलै हुन्छ ।

जबकि, ओपन सर्जरीमा धेरै ठूलो घाउ हुन्छ । त्यसैले धेरैको रोजाईमा ल्याप्रोस्कोपिक सर्जरी पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment