Comments Add Comment

डीपीएल क्रिकेट : काठमाडौंलाई अत्तरियाको माथ, महेन्द्रनगरलाई भाग्यको साथ

७ फागुन, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अन्तिम लिग खेलमा काठमाडौं गोल्डेन्स सीवाईसी अत्तरियासँग सात विकेटले पराजित भयो । तर, फाइनल प्रवेशका लागि भने दुई टिमले नै प्रतिस्पर्धा गर्ने भएका छन् ।

नकआउट चरणमा स्थान बनाइसकोक काठमाडौं र अत्तरिया समूह चरणको अन्तिम खेलमा भिडेका थिए ।

तर, टस जितेर पहिले ब्याटिङ गर्ने निर्णयलाई काठमाडौंले सही सावित गर्न सकेन । उसले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७५ रन मात्रै बनाउन सक्यो ।

कप्तान ज्ञानेन्द्र मल्लले ४९ बलमा ३२ रन बनाए । योगेन्द्रसिंह कार्कीले १३ र अंकित दबास १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंक पनि जोड्न सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । उनले दुई ओभर बलिङ गरेका उनले मात्र चार रन खर्चिए ।

७६ रनको झिनो लक्ष्य पछ्याएको अत्तरियाले १७ ओभरमा तीन विकेट गुमाएर जित निकाल्यो ।

अत्तरियाका लागि जयकिसन कोल्सवालाले ३३ रन बनाए । त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ११ बलमा २० रन बनाएर अविजित रहँदा सन्दीप जोरा ७ रनमा नटआउट रहे ।

जितसँगै अत्तरिया ८ अंकसहित शीर्ष स्थानमा रह्यो भने हारका बाबजुद काठमाडौं ६ अंकसहित दोस्रो भयो । समान ६ अंक जोडेको रुपन्देही च्यालेन्जर्स रन रेटका आधारमा तेस्रो भयो भने ४ अंक जोडेको महेन्द्रनगर युनाइटेढ चौथो भयो ।

महेन्द्रनगरलाई भाग्यको साथ

दुई खेलमा हार, एक खेल जितेको हात पारेको महेन्द्रनगरको दुई खेल वर्षाका कारण प्रभावित भएको थियो ।

लगभग लिग चरणबाटै बाहिरिने अवस्थामा पुगेको उसलाई भाग्यले साथ दियो । अंक तालिकाको पाँचौ स्थानमा रहेको विराटनगर किंग्सको अन्तिम खेल अत्तरियासँग थियो । विराटनगर जिते प्ले अफमा पुग्थ्यो तर, हारले महेन्द्रनगरलाई फाइदा हुन्थ्यो ।

नभन्दै विराटनगरले अत्तरियासँग १० रनको हार व्यहोरेपछि शरद भेषावकरको महेन्द्रनगरको भाग्य चम्कियो । अब उसले इलिमिनेटरमा रुपन्देहीसँग प्रतिस्पर्धा छ ।

लिग चरणको खेलमा रुपन्देहीसँग महेन्द्रनगर दुई रनको झिनो अन्तरले पराजित भएको थियो ।

किन फेल भयो डिफेन्डिङ च्याम्पियन ?

यसअघिका दुई पटकको लगातार च्याम्पियन घरेलु टिम धनगढी स्टार्स भने यो पटक फिक्का देखियो ।

धनगढीले यो संस्करणमा कुनै पनि खेल जित्न सकेन । लिगका पाँच खेल मध्ये चारमा हार व्यहोर्‍यो  भने एक खेल वर्षाको कारण रद्द भएपछि एक अंक प्राप्त गरेको थियो ।

आफ्नो पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग चार विकेटको हार खान पुग्यो धनगढी । दोस्रो खेलमा अत्तरियासँग पाँच रनको झिनो हार ब्यहोरेको धनगढीको लय तेस्रो खेलमा पनि सुध्रिएन । अन्ततः विराटनगरसँग पनि २१ रनले पराजित भयो ।

महेन्द्रनगरसँगको चौथो खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको धनगढी पाँचौं खेलमा रुपन्देही च्यालेन्जर्ससँग ३९ रनको हार व्यहोर्‍यो ।

धनगढीले खेलेको चारमध्ये एक खेलमा मात्रै १०० रन कटाएको छ । बाँकी तीन खेलमा ९० रन कटाउन सकेन ।

काठमाडौं गोल्डेन्सविरुद्ध पहिलो खेलमा १३२ रन बनाएको थियो । बाँकी खेलमा भने धनगढी स्टार्सको ब्याटिङ पूरै फ्लप भयो । अत्तरियाविरुद्ध ९० रन, विराटनगरविरुद्ध ८२ र रुपन्देहीविरुद्ध त मात्र ६७ रनमै धनगढी समेटियो ।

धनगढीको ब्याटिङ लाइनअप कमजोर नै हो ? पक्कै होइन । गत वर्षका प्लेयर अफ द सिरिज यूएईका कप्तान रोहन मुस्तफा, अमिर हायत जस्ता विदेशी खेलाडी टिममा थिए । तर, चलेनन् ।

कप्तान सोमपाल कामी, सुनिल धमलता, अमित श्रेष्ठ, पवन सर्राफ, सौरभ खनाल, राजु रिजाल जस्ता अनुभवी ब्याट्सम्यान पनि फाप्ला क्रिकेट मैदानमा असफल देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment