Comments Add Comment

२०१९ गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष : १५ लाख पर्यटक भित्र्याउने

८ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले सन् २०२२ मा प्रदेशमा २२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्दै लक्ष्य पूरा गर्ने योजनामा प्रदेश सरकार छ ।

लक्ष्य पूरा गर्न गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्षका रुपमा मनाउने नीति तथा कार्यक्रममै ल्याएको थियो ।

सन् २०२२ लाई अन्तर्राष्ट्रियस्तरको ‘प्रदेश पर्यटन वर्ष’ अभियान सञ्चालन गर्दै २० लाख पर्यटक भित्र्याउने योजना बनाएको हो । त्यसै अनुरुप गण्डकी सरकारले बिहीबार आन्तरिक भ्रमण वर्ष घोषणा गर्दै विभिन्न कार्यक्रम ल्याउँदै छ ।

सन् २०१९ लाई प्रादेशिक अभियानको रुपमा घोषणा गरी यो वर्ष १५ लाख आन्तरिक पर्यटक भित्र्याउने प्रदेश सरकारले दाबी गरेको छ । नयाँ गन्तव्य पहिचान गरी ५० प्रतिशत पर्यटक नयाँ गन्तव्यमा पु¥याउने प्रदेश सरकारको योजना छ ।

नेपाल आउने पर्यटकको ३० देखि ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउने तथ्यांकले देखाउँछ । अहिले वार्षिक रुपमा आन्तरिक र बाह्य गरी करिब १० लाख पर्यटक प्रदेश भित्रने पर्यटन मन्त्रालयको भनाइ छ ।

प्रदेशमा पर्यटकको बसाइ अवधि करिब ५ दिन अनुमान गरिएको छ । जहाँ विदेशी पर्यटकले प्रतिदिन ५४ डलर र आन्तरिक पर्यटकले प्रतिदिन ५ हजार रुपैयाँ खर्च गर्ने पर्यटनमन्त्री विकास लम्साल बताउँछन् ।

साहसिक, खेलकुद, धार्मिक पर्यटन तथा पर्यापर्यटन प्रवर्धनमा जनशक्ति तयारीका लागि कार्यक्रम तथा बजेटको व्यवस्था गर्ने सरकारको योजना छ । आन्तरिक पर्यटन वर्षका लागि सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘अतिथि देवो भव’ अभियान चलाउँदै विभिन्न वर्षभरी विभिन्न कार्यक्रम हुने छन् । प्रदेश, जिल्ला र स्थानीय तहमा पर्यटन प्रवद्र्धन समिति गठन, प्रदेशका प्रमुख पर्यटकीय स्थलमा पर्यटन सूचना केन्द्रहरुको व्यवस्था, प्रदेशको पर्यटन ब्राण्ड ग्लोरियस गण्डकीका रुपमा प्रचार गर्ने, छ वटै प्रदेशका मुख्य सहरहरुसँग पोखराको हवाइ सम्पर्क स्थापना गर्ने योजना प्रदेश सरकारको छ ।

नोभेम्बरसम्म प्रदेशका जिल्ला, स्थानीय तहमा सांस्कृतिक तथा पर्यटन महोत्सव गर्ने, मार्च र मेमा मुख्य ३ ठाउँ स्याङ्जाको राम्दी, मुगलिन कट्नेबित्तिकै तनहुँको आँबुखैरेनी र पोखरा विमानस्थलमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने सरकारको योजना सरकारको छ ।

डिसेम्बरसम्मै स्थानीय होमस्टेको ब्रान्डिङ, चलचित्र छायांकनमा सहुलियत, ११ वटै प्रवर्द्धन कार्यक्रम, आन्तरिक पर्यटकको उत्कृष्ट फोटो पुरस्कृत, महत्वपूर्ण पर्यटन क्षेत्रको प्रोफाइल निर्माण गर्ने पर्यटनमन्त्री लम्सालले जानकारी दिए । ३ सय वटा होमस्टे सञ्चालन गर्ने र सामुदायिक वनमा पर्यापर्यटन विकास कार्यक्रम गर्ने योजना सरकारको छ ।

निजी क्षेत्रबाट छुट र कोसेली

व्यवसायीले प्याकेजमा २० प्रतिशतसम्म छुट दिने बताएका छन् । उपहार तथा कोसेलीका उत्पादन बढाउने तथा कोसेली घर मार्फत विक्री वितरणको व्यवस्था गर्ने सरकारको भनाइ छ । निजी क्षेत्रसँगको सहकार्यमा नया पर्यटकीय गन्तव्य पहिचान, म्यापिङ र प्रचार प्रसार गर्ने योजना गण्डकी प्रदेश सरकारले ल्याएको छ ।

होटल बुकिड नेटवर्कहरुसँग समन्वय गरी प्रदेशमा पर्यटनभित्राउने खालका कार्यक्रम आयोजना गर्ने मन्त्री लम्सालले बताए ।
आन्तरिक पर्यटन वर्ष मनाउन पर्यटनमन्त्री लम्सालको संयोजकत्वमा मूल समिति र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समावेश गरी उपसमितिहरु गठन गर्ने तयारी छ ।

गण्डकी प्रदेश सरकारले नयाँ र पुराना गरी झन्डै ५ सयभन्दा बढी ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने कार्ययोजना तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment