Comments Add Comment

एन्फाले नै अनुमति दिएको थियो डफिनलाई !

१५ फागुन, काठमाडौं । क्यामरुनको टिम डफिन एफसीले नेपालका लगातार तीन ठूला नकआउट फुटबल प्रतियोगिताको उपाधि उचाल्दै हृयाट्रिक गर्‍यो । तर यो क्लबले नेपालमा अवैधानिक रुपमा फुटबल खेलिरहेको पाइएको छ । आहा ! रारा गोल्डकपमा पनि उपाधिबाट दुई जित मात्र टाढा छ ।

मनाकामना केबलकार पोखरा कपबाट सुरु भएको उनको उपाधि यात्रा २१औं बुढासुब्बा गोल्डकप र २१औं तिलोत्तमा गोल्डकपमा पनि कायमै रहृयो ।

तर, यो टिमले कसको अनुमतिमा नेपालमा नकआउट फुटबल प्रतियोगिता खेलिरहेको छ ? नेपाली फुटबलको नियमनकारी निकायसँग प्रष्ट जवाफ छैन ।

जबकी कुनै पनि देशमा गएर नकआउट फुटबल प्रतियोगिताहरु खेल्नका लागि त्यहाँको फुटबल एसोसिएसनको अनुमति चाहिन्छ । यसका साथै आफ्नो देशको फुटबल एसोसिएसनको सिफारिस पनि अनिवार्य रुपमा ल्याउनु पर्छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को दाबी छ, डपिन एफसीलाई अनुमति दिएका छैनौं । त्यसो भए डफिनले मोफसलका प्रतियोगिता खेलिरहँदा किन मौन ? अध्यक्ष कर्माछिरिङ शेर्पा भन्छन्, ‘डफिनलाई चिठ्ठी काटेको छ ।’

स्रोतका अनुसार डफिन एफसीले एन्फाबाटै अनुमति लिएर नकआउट प्रतियोगिता खेल्न थालेको हो । सुदूरपश्चिम खप्तड गोल्डकप खेल्नुअघि डफिन्सले अनुमति लिएको थियो । त्यसपछि डफिन्सले अरु प्रतियोगिता खेलेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधर पनि डफिनलाई अनुमति दिएको स्वीकार गर्छन् । ‘सुदूरपश्चिम खप्तड गोल्डकपमा खेल्न आउँदा हामीले शर्तसहित स्वीकृति दिएका थियौं,’ उनले भने, ‘फुटबल संघको चिठी लिएर आउनु भनेका थियौं । क्लबले चिठ्ठी लिएर पनि आएको थियो, तर त्यो शंकास्पद देखियो ।’

डफिनले बुझाएको पत्रमा शंका लागेपछि एन्फाले क्यामरुन फुटबल एसोसिएसनलाई पत्र पनि लेखेको छ । तर, त्यसको जवाफ नआएको तुलाधरले बताए ।

के भन्छन् डफिनका एजेन्ट ?

डफिन एफसीका नेपाली एजेन्ट हुन् सगुन तन्डुकार । उनका अनुसार अन्तराष्ट्रिय क्लब फुटबलका लागि डफिन एफसीसँग कुुराकानी भएको थियो ।

तर, यो प्रतियोगिता नै भएन । त्यसैले खेलाडीहरु नेपाल आएर नकआउट फुटबल खेलेका हुन् । प्रतियोगिता आयोजकहरुको आग्रहमा क्लबलाई बोलाइएको हो । उनले भने, ‘क्यामरुन एफएबाट पत्र ल्याउनु पर्ने रहेछ । तर, हामीसँग इमेल मात्र थियो । त्यही एन्फामा बुझाएर खेल्न थालेका हुन् ।’

सुदूरपश्चिम खप्तड र इटहरी गोल्डकपमा टिमले खेल्यो तर, उपाधि नजितेका कारण खासै चासो भएन । तर, त्यसपछि खेलेका तीन वटै प्रतियोगिताको उपाधि जितेपछि क्लबको आधिकारिताबारे प्रश्न उठेको भन्दै उनले भने, ‘पर्सि लिखित पत्र नै आइपुग्छ, जसलाई हामी एन्फामा बुझाउँछौं ।’

तन्डुकारको दाबी छ, डफिन एफसी सन् २००२ मा क्यामरुन एफएमा आवद्ध भएको क्लब हो । अहिले टिममा रहेका फुटबलहरु पहिलो पटक नेपाल आएका हुन् ।

तिलोत्तमा गोल्डकपका आयोजक तथा रुपन्देही जिल्ला फुटबल संघले पनि सिफारिसको रुपमा क्यामरुनकै भाषामा लेखिएको इमेल आएको पुष्टि गरेको छ । संघका अध्यक्ष दीर्घबहादुर केसीले अनलाइनखबरसँग भने, ‘हामीले तिमीहरुको आधिकारिक कागजपत्र के छ भनेर सोध्दा क्यामरुन भाषामा लेखिएको मेल आएको थियो । त्यसैलाई आधार मानेर खेल्न दिएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment