Comments Add Comment

कुष्ठरोगी वृद्ध १५ वर्षदेखि गाउँबाहिर अलपत्र

१६ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक जना कुष्ठरोगी वृद्धलाई गाउँ निकाला गरिएको वर्षौं भएको छ । वीरगन्ज महानगरपालिका २९ मा ७५ वर्षका सुरुज राउत पटेललाई गाउँ बाहिर राखिएको हो । उनी मुसैली गाउँ बाहिर बाँसको झ्याङ मुनि छाप्रो बनाएर एक्लै बस्दै आएका छन् ।

कुष्ठरोगी भएकै कारण १५ वर्षदेखि एक्लो जीवनयापन गर्दै आएका छन् । कुष्ठ रोग लागेपछि नै पटेल परिवार र समाजबाट तिरस्कृत हुँदै गएका हुन् । गाउँलेहरु उनको नजिकसमेत जाँदैनन् ।

बाराको उत्तरझिटकैया हाल कलैया उपमहानगरपालिका मूल घर भएका सुरुजको सन्तान नभएका हैनन् । उनको छोरा अझै मूलघरमा परिवारसहित बस्दै आएका छन् । दुई वटी छोरी पनि छन् । तर उनीहरुले समेत सुरुजलाई वास्ता गरेका छैनन् । ८ वर्षअघि श्रीमती जोखनीको मृत्यु भएपछि उनलाई भेट्न जाने पनि कोही छैन ।

उपचारको अभावमा कुष्ठरोगको संक्रमण बढ्दै गएका कारण सुरुजको हात खुट्टाका केही औलाहरु झरिसकेका छन् । बचेका औंला पनि बांगिएका छन् । उनको दाहिने आँखाले देख्न छोडिसकेको छ । गाउँलेले दया दिएको खानेकुराले उनी भोक मेटाउँछन् ।

कुष्ठरोग देखिएपछि २०४४ सालतिर भारत रक्सौलस्थित कुष्ठरोगको उपचार हुने सुन्दरपुर अस्पतालमा उनले उपचार नगराएका होइनन् । नियमित औषधी सेवन नगरेर हो वा अन्य कुनै कारणले उनको कुष्ठरोग निको हुन सकेन । वृद्धलाई नेपाल कुष्ठ रोग निवारण संघले आश्रय दिने घोषणा गरे पनि लगेको छैन ।

नेपालले कुष्ठरोगलाई जनस्वास्थ्य समस्याबाट राष्ट्रिय स्तरमा निवारण भएको घोषणा गरिसकेको छ । तर पनि वर्षेनी नयाँ बिरामीहरु फेला पर्ने क्रम रोकिएको छैन । सुरुज जस्तै विरामीहरु पनि गाउँघरमा यदाकदा भेटिने गरेका छन् ।

चिकित्सकहरुका अनुसार कुष्ठरोग लागेका मानिसको शरीरको कुनै पनि भागमा रातो दादजस्तो देखिन्छ भने छालाको रङ फुस्रोे हुने र त्यो ठाउँमा छुँदा थाहा हुँदैन ।

कुष्ठ रोग उपचार गरे निको हुन्छ, त्यसैले रोग लुकाएर नराखी उपचार नियमित उपचार गर्नुपर्छ । तर कुष्ठ रोगी र एक पटक रोग लागेर निको भइसके पनि समाजमा स्थापित हुन कठिन रहेको स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment