Comments Add Comment

सेनालाई दुःख दिने धामी भीर !

१८ फागुन, वीरगञ्ज । काठमाडौं– तराई (मधेस) द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको काम नेपाली सेनाले गरिरहेको छ । द्रुतमार्ग निर्माणको क्रममा सेनालाई एउटा भीरले अति नै दुःख दिईरहेको छ । निजगढतर्फको १० किलोमिटरको अन्तिम विन्दुतिर पर्ने धामी खोल्सीस्थित धामी भीरले सेनालाई दुःख दिएको हो । चुरे क्षेत्रमा पर्ने उक्त भीरमा सुख्खा पहिरो जाने गरेको छ ।

पटक पटक पन्छाउँदा पनि सुख्खा पहिरो आएर सेनालाई सताईरहेको छ । पटक पटक पहिरो गएर दुःख दिने भएकाले सेनाले त्यसलाई ‘कृष्ण भीर’ कै नाम दिएको छ । सेनाका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ‘पहिरो आउँछ, पन्छाउँछौं फेरि पहिरो खस्छ, यसले गर्दा हैरान भइसकेका छौं । पटक–पटक यस्तै भईरहेको छ ।’ अहिले सेना पर्ख र हेरको स्थितिमा छ । अब खस्नेजति पहिरो खस्न दिने अनि मात्रै पन्छाउने सोचमा सेना पुगेको छ ।

त्यस क्षेत्रमा डाइभर्सन बनाएर आउजाउ गर्ने व्यवस्था मिलाईएको छ । सेनाका सवारी र फाष्ट ट्रयाक हुँदै गुड्ने अन्य सवारी डाईभर्सनबाट ओहोरदोहोर गरिरहेका छन् । गत बैशाखमा मकवानपुरको धियाल गाविस वडा नं. ९ स्थित बारा निजगढको धामी खोल्सी नजिकैको पहरा काट्ने क्रममा एक सैनिक जवानको मृत्यु भएको थियो । चुरे पहाडको पहरा काट्ने क्रममा कम्मरमा बाँधिएको डोरी चुँडिएर झण्डै एक सय फिट तल बकैया खोला खोल्सीमा खसेका रामेछाप दुरागाउँ–९ सोलावनका २५ वर्षीय बाबुराम कार्कीको ज्यान गएको हो ।

सेनाले पहिरो नखसोस भनेर पहाडलाई गरा गरा बनाएर काटिरहेको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ४ लेनको हुने द्रुत मार्गको लम्बाई ७६.२ किलोमिटर छ । भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निमार्णका लागि दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्ने निर्णय गर्दै नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिईएको छ । २०७४ जेष्ठ १४ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फाष्ट ट्र्याकको शिलान्यास गरेका थिए । सडक निर्माणपछि निजगढदेखि काठमाडौंसम्मको दूरी जम्मा एक घन्टामा पूरा हुने दावी गरिएको छ ।

द्रुत मार्गको ट्रयाक ९४ लाखको लागतमा खोलिएको थियो । अहिले सडक निर्माणका लागि नेपाली सेनाले ईन्जिनियरिङ तर्फका मेजरको कमाण्डमा १० वटा निर्माण कार्यदललाई खटाएको छ । बाराको तामागढी, बागदेव, मकवानपुरको राजदम्बार, बुदुने, लेनडाँडा, ढेड्रे, महादेवटार, सिस्नेरी र ललितपुरको मख्खुबेंसी र खोकनामा गरी १० स्थानमा सेनाका निर्माण कार्यदल खटिएका छन् ।

एउटा कार्यदलको जिम्मामा ७ देखि १० किलोमिटर सडकखण्ड पर्छ । तामागढी स्थित निजगढ कार्यदल अन्तिम विन्दुमा छ । जहाँ फाष्ट ट्रयाक पूर्व–पश्चिम राजमार्गमा जोडिन्छ । शुरुको ७ किलोमिटरमा कटिङ र फिलिङको काम लगभग सक्किएको छ । आवश्यकता अनुसार लेभल मिलाउँदै सेना उत्तरतर्फ बढी रहेको छ ।

फाष्ट ट्रयाकको २३ किलोमिटर भाग पहाड र बाँकी खण्ड तराईमा पर्छ । ६ वटा आकाशेसहित फाष्ट ट्रयाकमा ९९ वटा पुल निर्माण गर्नुपर्ने छ । भने मकवानपुरमा डेढ किलोमिटरको सुरुङमार्ग समेत बनाईनेछ ।

द्रुत मार्ग निर्माणका लागि १ खर्ब १२ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । फाष्ट ट्रयाक निर्माण पछि बार्षिक १० अर्बको इन्धन बचत हुने र १५ अर्बको सवारी मर्मत खर्च जोगिने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment