Comments Add Comment

मलेसिया र खाडीमा २७ नेपालीमा कोरोना पुष्टि

२४ चैत, काठमाडौं । मलेसिया र खाडी मुलुक नेपाली कामदारको मुख्य श्रम गन्तव्य हो । नेपाली कामदारको बाहुल्य रहेका सबैजसो श्रम गन्तव्यहरु अहिले कोरोना भाइरसको फैलँदो संक्रमणको चपेटामा छन् । यसले गर्दा त्यहाँ कार्यरत नेपाली कामदारहरु पनि संक्रमणको उच्च जोखिममा छन् ।

अहिलेसम्म मलेसियासहित विभिन्न खाडी गन्तब्यहरुमा कार्यरत २७ जना नेपाली कामदारमा कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । कतिपय देशले संक्रमतिको राष्ट्रियता नुखुलाएकाले ती दशेमा नेपाली कामदार संक्रमणमा परे कि परेनन् भन्ने स्पष्ट भएको छैन । कामदारहरु संक्रमित भएका देशहरुले उपचार निःशुल्क गर्ने बताएका छन् ।

बहराइनमा सबैभन्दा बढी

सबैभन्दा बढी संक्रमित नेपाली कामदार बहराइनमा छन् । बहराइनमा अहिलेसम्म १२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । केही दिनअघि बहराइनमा एकैपटक ९ जना नेपालीमा संक्रमण देखिएको थियो भने त्यसअघि ३ जना संक्रमित आइसोलेसनमै थिए ।

सल्मावादस्थित करिब चार सयजना बस्ने एक श्रमिक शिविरमा कोरोना फैलिँदा एकैपटक ९ जना नेपाली त्यसको संक्रमित भएको पाइएको थियो । सो शिविरबाट ६६ जना संक्रमितको पहिचान भएको थियो ।

बिरामी कामदारहरुलाई आसोलेनसमा राखेर उपचार भइरहेको बहराइनमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । बहराइनमा अहिलेसम्म ७ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यसमध्ये ४३१ जना निको भएका छन्, भने २६५ जना आइसोलेसनमा उपचार गरिरहेका छन् । ४ जनाको मृत्यु भएको छ ।

एकैपटक ठूलो संख्यामा नेपाली कामदार संक्रमित भएको खबर आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बहराइनका प्रधानमन्त्री खालिफा बिना सलमान अल खालिफासँग टेलिफोन वार्ता गरेका थिए । बहराइनका समकक्षीसँग प्रधानमन्त्री ओलीले संक्रमित कामदारको उपचार र सुरक्षामा चासो राख्दै सहयोगमा लागि धन्यवाद ज्ञापन गरेका थिए ।

यूएईमा ८ जनामा संक्रमण

संयुक्त अरब इमिरेट्स (यूएई)मा पनि नेपाली कामदारहरु संक्रमित बनेका छन् । अहिलेसम्म यूएईमा ८ जना नेपाली कामदार केरोना संक्रमणको चपेटामा परेका छन् । त्यसमध्ये २ जना सन्चो भएर अस्पतालबाट डिस्चार्ज भइसकेका दुबईस्थित नेपाली दूतावासले जनाएको छ ।

६ जना उपचारकै क्रममा छन् । यूएईले कामदारको उपचारलाई पनि स्वदेशी सरहनै महत्व दिएको दूतावासले बताएको छ । यूएईमा अहिलेसम्म १७ सय ४४ जना संक्रमित भेटिएका छन् । १४४ जना उपचारपछि घर फर्किएका छन् भने १० जनाको देहवसान भएको छ ।साउदीमा ४ जनालाई कोरोना

यसैगरी साउदी अरबमा काम गरिरहेका ४ नेपाली कामदार पनि कोरोनाबाट संक्रमित बन्न पुगेका छन् । रियादस्थिति नेपाली दूतावासका अनुसार ४ जना नेपाली संक्रमित भएर उपचाररत छन् । तर, ती कामदार को थिए र कहाँ कार्यरत थिए भन्ने जानकारी दूतावसलाई त्यहाँको सरकारले दिएको छैन ।

साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ हजार ४०२ पुगेको छ । उपचारमा रहेका ४८८ जनालाई निको भएको छ भने ३४ जनाले ज्यान गुमाएका छन् । साउदीले संक्रमण रोक्न विभिन्न क्षत्रेमा कर्फ्यु लगाएको छ भने घर फर्किन नपाएका कामदार अवैध नहुने गरी आवासीय परिचयपत्र -अकामा) को म्याद तीन महिना थपिएको छ ।

टेलिफोनमार्फत जानकारी गरेर आकामाको म्याद थप्न सकिने व्यवस्था गरिएको हो । सबै आप्रवासीहरुको समेत कोरोनाको उपचार निःशुल्क गर्ने घोषणा साउदी सरकारले गरिसकेको छ ।

कुवेतमा दुई, मलेसियामा एक बिरामी

कुवेतमा दुई जना नेपाली कामदारमा संक्रमण भेटिएको छ । उनीहरु अहिले पनि उपचारकै लागि अस्पतालमा छन् । कुवेतमा ५६६ जनामा संक्रमण पुष्टी भएको छ ९९ जना उपचापछि घर फर्किएका छन् । एक जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।मलेसियामा अहिलेसम्म ३ हजार ६६२ जनामा कोभिभ १९को संक्रमण देखिएको छ । त्यसमध्ये १००५ जनाको रोग निको भइसकेको छ भने ६१ जनाको मृत्यु भएको छ ।

नेपाली कामदारको बाहुल्य रहेको मलेसियामा अहिलेसम्म एक जना नेपालीमा मात्रै संक्रमण पुष्टि भएको छ । सेलांगर क्षेत्रमा काम गर्ने ती कामदार अहिले आइसोलेसनमा छन् । क्वालम्पुरस्थित दूतावासका अनुसार ती कामदारसँग नियमित सम्पर्क भइरहेको छ ।

मलेसियाले पनि देशका विभिन्न भागमा आवागमन बन्द गरेर संक्रमण रोक्ने प्रयास गरिरहेको छ । यस्तो लकडाउन उल्लंघन गर्ने चारजना नेपाली भने तीन महिनाका लागि जेलमा पुगेका छन् ।

कतार र ओमानमा छैनन्

कतारले अहिलेसम्म संक्रमितहरुको राष्ट्रियता खुलाएको छैन । नेपाली कामदारको पनि बाहुल्यता रहेकाले त्यहाँ नेपालीहरुमा संक्रमण भएको हुन सक्ने आशंका मात्रै छ ।

अहिलेसम्म कतारमा १ हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ । १२३ जना संक्रमित उपचारपछि निको भएर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

कतारमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ । कतारले शिविरहरुमा गरेको लकडाउन उल्लंघन गरेको आरोपमा २ सयभन्दा बढी नेपाली कामदारलाई डिपोर्ट पनि गरेको थियो ।

ओमानमा पनि अहिलेसम्म कुनै नेपालीमा संक्रमण पुष्टि भएको छैन । त्यहाँ संक्रमित भएका २९८ जनामध्ये ६१ जना घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

बोल्दैन सरकार

नेपाली कामदार कार्यरत सबैजसो देशहरुमा अहिले पूर्ण वा आंशिक लकडाउन लागू छ । कामममा जानुपर्नेहरुलाई संक्रमण्को खतरा छ । क्याम्प तथा होस्टमा एउटै कोठामा धेरै कामदार बस्नुपर्ने भएकाले पनि जोखिम उच्च छ ।

विदेशमै रहँदा कतिपय कामदरको भिसा अवधि सकिएको छ । नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएका कारण उनीहरु नेपाल फर्किन पाएका छैनन् । सरकारले उद्दार गर्न नसकिने स्पष्ट गरिसकेको छ ।

धेरैजसो देशहरुले  अध्यागमन सम्बन्धी समस्या भोगिरहेका कामदारलाई थप समय बस्ने सुविधा दिने घोषणा गरेका छन् । तर, अझै पनि कामदारहरु अन्योलमा छन् ।

काम बन्द हुँदा कतिपय देशले कामदारको तलव कटौती गर्ने र बेतलबी विदा दिने नीति लिएका छन् । कतिपय देशले रोजगारदाताले चाहे अनुसार निर्णय लिनसक्ने सुविधा दिएका छन् । कतिपय देश केही नबोलेका कारण रोजगारदाताको मनलाग्दीले कामदारहरु पीडित बन्न थालेका छन् ।

यूएईले बेतलवी दिन दिन सकिने नीति ल्याएपछि त्यहाँ कार्यरत कामदाहरु पीडित बन्नसक्ने आँकलन गरिएको छ । तर, कतारलगायतका मुलुकले उद्योगधन्दा बन्द भए पनि न्युनतम् तलब दिने नीति ल्याएका छन् ।श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालय भने कामदारहरुले विदेशमा भोगिरहेको समस्याबारे औपचारिक रुपमा बोलेको छैन ।  विदेशमा श्रमिकहरु समस्या पर्दा एउटा मन्त्रालयले एउटा विज्ञप्ति समेत जारी गरेको छैन ।

कामदारहरुले बेतलबी विदा बस्नुपर्ने अवस्था आउँदा पनि उसले त्यस्तो नीति लागू नगर्न समबद्ध देशहरुसँग कुटनीतिक पहल थालेको छैन ।

संक्रमित कामदारहरुको उपचार र सुरक्षाबारे दूतावासहरुले काम गरिरेको बताउँछन् मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुमन घिमिरे ।

‘परराष्ट्रमन्त्रीज्युसँग बसेर नै श्रम मन्त्रीज्युले श्रम गन्तव्यका दूतावासका राजदूतहरुसँग कुराकानी गर्न भएको छ, कामदारको हितका लागि काम गर्नुस् भन्नुभएको छ,’ घिमिरे भन्छन्,’मिडियाहबाट पनि मन्त्रीज्यूले कामदारलाई सम्बन्धित देशको नीति नियम र आदेशहरुको पूर्ण पालना गर्न भनिरहनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment