Comments Add Comment

कोरोना प्रभावित मुलुकबाट खाद्यवस्तु आयातमा लगाएको प्रतिबन्ध फुकुवा

२४ चैत, काठमाडौं । कोरोना प्रभावित मुलुकबाट हुने खाद्यवस्तु आयातको प्रतिबन्धलाई सरकारले शर्तसहित फुकुवा गरेको छ । क्वरेन्टाइन मापदण्ड पालना गरेर खाद्य वस्तु आयात गर्नसक्ने निर्णय भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

‘आयातीत खाद्य वस्तु १४ दिन क्वारेन्टाइनमा राखेर स्वदेश भित्र्याउन पाइने गरी यसअघिको प्रतिबन्ध हटाइएको छ,’ विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले भनिन् । यसअघि स्थगन गरिएको खाद्य वस्तु आयात अनुमति पत्र जारी पनि उक्त निर्णयसँगै खुला भएको उनले जानकारी दिइन् ।

शर्तसहितको नयाँ व्यवस्थाअनुसार अब व्यवसायीले विदेशी मुलुकबाट आयात हुने सबै प्रकारका खाद्य वस्तु अनिवार्य १४ दिन क्वरेन्टाइनमा राख्नुपर्ने विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं सूचना अधिकारी मोहनकृष्ण मर्हजनले बताए ।

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय र स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको क्वारिन्टाइन प्रोटोकलमा रहेर भन्सार विन्दु वा ट्रान्जिटमा त्यस्ता वस्तु क्वारिन्टाइनमा राखिने छ,’ महर्जनले भने ।

खाद्य वस्तुमा कोरोना संक्रमण जीवित रहनसक्ने तथा यसबाट कोरोना सर्नसक्ने जोखिमबारेको वैज्ञानिक आधारहरु कमजोर पाइएपछि यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेर आयातमा प्रतिबन्ध लगाएको मरिच, सुपारी लगायतका वस्तुको आयात अनुमति भने रोक्का नै छ ।

तर, मासु र वनस्पतीजन्य वस्तुको आयात रोक्ने निर्णय पनि यथावत नै छ । प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईँका अनुसार बिउबिजनको आयात हुन पाउने गरी मासु र हरियो तरकारी तथा बिरुवा आयात भने खोलिएको छैन ।

फागुन अन्तिम साता सरकारले कोरोना अतिप्रभावित पाँच मुलुकबाट खाद्य वस्तुको आयात अनुमति स्थगनको निर्णय गरेको थियो । उक्त निर्णयपछि चीन, दक्षिण कोरिया, इटाली र जापान लगायतका मुलुकबाट पशु, खाद्य र वनस्पतीजन्य वस्तुको आयात रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment