Comments Add Comment

नाकामा कडाइ गर्न पालिका प्रमुखहरूलाई मुख्यमन्त्रीको निर्देशन

२४, चैत, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले अरू प्रदेशबाट आउने नाकामा कडाइ गर्न सीमा जोडिएका स्थानीय तहका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

सोमबार स्थानीय तहका प्रमुखहरूसँग एकीकृत भिडियो संवाद गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

सुदूरपश्चिम र गण्डकी प्रदेशका नागरिकमा कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री पोखरेलले गण्डकी, सुदूरपश्चिम र भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुखहरूसँग एकीकृत भिडियो संवाद गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले कर्णाली प्रदेशसँग सीमा जोडिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ र राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, गण्डकी प्रदेशसँग सीमा जोडिएका बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल र मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, भारतसँग सीमा जोडिएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र पाल्पाको बगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद बस्यालसँग भिडियो संवाद गरेका हुन् ।

संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको बताइएको छ । पालिका प्रमुखहरूबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीले आगामी दिनमा गर्नुपर्ने कामबारे मागनिर्देश गरेका प्रेस सल्लाहकार केसीले बताए ।

पालिका प्रमुखहरूले भारतलगायत विदेशबाट आएका नागरिकको तथ्यांक संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराएका थिए । उनीहरूले स्वास्थ्य सामग्रीको व्यवस्थापन छिटो गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्रीले स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न आग्रह गरेका छन् ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेको मुख्मयन्त्रीले जानकारी गराएका छन् । भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको र केही समयमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न उनले आग्रह गरेका छन् ।

सबै जिल्ला अस्पताल र चार वटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको बताउँदै उनले अब आउने स्वास्थ्य सामग्री क्रमशः अरु स्वास्थ्यकेन्द्रलाई पनि पठाउन सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment