Comments Add Comment

६ महिना आपतकाल घोषणा गर्ने जापानको तयारी

काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि नै मन्दीबाट बच्न संघर्ष गरिरहेको जापानी अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने प्रयासस्वरूप जापानले आर्थिक प्रोत्साहन प्याकेज पनि तयार गरिरहेको रोयटर्स समाचारमा उल्लेख छ ।

अहिलेसम्म जापानमा तीन हजार पाँच सयभन्दा धेरै मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । साथै यसबाट ज्यान गुमाउनेको संख्या पनि ८५ पुगेको छ । अन्य मुलुकको तुलनामा जापानमा यो भाइरसको विस्तार कम हो । तर, पछिल्लो केही समययता भने जापानमा संक्रमितको संख्या भने बढिरहेको छ । विशेषगरी जापानको टोकियोमा उल्लेख्य संख्यामा संक्रमित बढेका छन् । अहिले टोकियोमा मात्र एक हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् ।

जापानको योमिउरी समाचारपत्रका अनुसार सोमबार अबेर जापानी प्रधानमन्त्री सिन्जो आबेले आपतकालको घोषणा गर्नेछन् । क्योडो न्युज एजेन्सीले भने आपतकाल बुधबारदेखि मात्र लागू हुने बताएको छ । आपतकालको घोषणापछि सरकारसँग मानिसहरुलाई आफ्नो घरमा नै बस्न र व्यवसाय बन्द गर्न निर्देशन दिने अधिकार हुनेछ । तर, यसको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । साथै सरकारले यसै साता ठूलो रकमको आर्थिक प्रोत्साहन प्याकेज ल्याउन सक्ने बताइएको छ ।

जापान सरकारका प्रवक्ता योशिहिडे सुगाले अहिलेसम्म सरकारले कुनै निर्णय नगरेको बताए । विशेषज्ञहरुले जापानमा सामाजिक दूरी घटाउने विषयमा आफ्नो पहल नथाले केही समयमा नै उल्लेख्य मात्रामा मुलुकमा संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment