Comments Add Comment
अन्तर्वार्ता :

‘चैतको किस्ता असारमा तिर्दा समस्या पर्न सक्छ’

'घरमै बस्नुस्, बैंकिङ सुविधामा कमी हुँदैन

२३ चैत, काठमाडौं । देश लकडाउनमा गएको १३ दिन बितिसकेको छ । कोभिड-१९ को संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला पनि बैंकका कर्मचारीहरु भने काममा खटिरहेका छन् ।

यस्तो बन्दाबन्दीका बेला बैंकहरुले दिएको सुविधा नागरिकहरुले कत्तिको उपयोग गरेका छन् ? कोरोनाकै कारण भोलि थप समस्या सिर्जना भए बैंकहरुको अवस्था के होला ? अनि सरकारले चैतको किस्ता असारमा तिर्ने गरी ऋणीहरुलाई दिएको सुविधाबारे बैंकहरुको धारणा के छ ?

यिनै प्रश्नमाथि केन्द्रित रहेर ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)पर्शुराम कुँवरसँग गरिएको कुराकानीको सम्पादित अंश :

लकडाउनमा बैंकहरुले कसरी सेवा दिइरहेका छन् ?

सबै क्षेत्रमा असर परेपछि बैंकिङ क्षेत्रमा असर त पर्ने नै भयो । हाम्रै बैंकको कुरा गर्ने हो भने, शुरुका दिनहरुमा ८० देखि ९० वटासम्म शाखा कार्यालयहरु खोलेर सेवा दिएका थियौं । अहिले ४५ देखि ५० वटामात्रै देशभरमा शाखा खोल्ने गरेका छौं । शाखा खोल्नका लागि हामीले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्ने गरेका छौं ।

स्थानीय तहहरुले कहिले शाखा खोलनुस् भन्छन्, कहिले आजचाहिँ खोल्दै नखोलनुस भन्छन् । हाम्रो कोशिसचाहिँ हरेक स्थानीय तहमा शाखा खोल्ने भन्ने हो । कुनै कुनै ठाउँ लु लु खोलिदिनु परो भन्छन् । कहिलेकाहीँ आज नखोल्न परो भनेर बसेका बेला ग्राहकहरुबाट मेरो यस्तो काम परो भनेर फोन आउँछ ।

त्यस्तो बेलामा हामीले स्थानीय तह र सीडीओ कार्यालयसँग सल्लाह गरेर शाखा खोलेर सेवा दिने गरेका छौं । एटीएमहरु भने हाम्रो २४ सैँ घण्टा खुला रहनेछन् । पैसा सकिएका बेला ग्राहकलाई सूचना गरेर बढीमा २ घण्टा बन्द हुन सक्ला, नभए सधंै खुला नै रहनेछन् ।

सबै बैंकको अवस्था अहिले यही हो । हामीले सकेसम्म बैंकमा नआउनुस् नै भनेका छौं । हाम्रा कर्मचारीहरु र सर्वसाधारण हाम्रा ग्राहकहरुका लागि पनि सुरक्षाका लागि डिजिटल कारोबार गर्न भनेका छौं । सकेसम्म मोवाइल बैंकिङको प्रयोग गर्नुस् भनेका छौं ।

अहिलेको अवस्थामा नगदमा कारोबार नै नगरेको राम्रो हो । यदि नगद नै चाहियो भने एटीएम मेसिन प्रयोग गर्नुस् भनेका छौं । त्यो पनि भएन भनेचाहिँ बैंकमा आउनुस् ।

हामीले सबै शाखा कार्यालयहरु खोलेर सेवा दिन पाएका छैनौं । साधारण कारोबारको तुलनामा अहिले १५/२० प्रतिशतमात्रै कारोबार भएको छ । सर्वसाधारण जनता बैंकसम्म आउन पाउनुभएको छैन । मानिस नै नआएपछि कारोबार हुने कुरा भएन । अहिले कतिपय हाम्रो शाखा कार्याल्यहरुमा ४/५ वटामा मात्रै ट्रान्जेक्सन हुन्छ ।

यदि हाम्रो बैंक बन्द छ भने खबर गर्नुस् भनेका छौं । सम्पर्क मोवाइल नम्बरहरु वेभसाइटहरुमा राखेका छौं । सम्पर्क गर्नुभयो भने कसरी हुन्छ, हामी ग्राहकहरुको सेवामा खटिनेछौं ।

पैसा निकाल्न नपाएका कारण औषधि नै किन्न नपाउने, खाद्यान्न नै किन्न नपाउने अवस्था नआओस् भन्ने हाम्रो चाहाना हो । केही अप्ठेरो परेको अवस्थामा सम्पर्क गर्न सबैले सक्नुहुनेछ ।

ऋणीहरुले चैतमा तिर्नुपर्ने साँवा ब्याज असारमा तिरे हुने भएको छ । चैतमा नै तिरे १० प्रतिशत ब्याज छुट पाउने राष्ट्र बैंकले बताएको छ, यसलाई कसरी लिनहुन्छ ?

चैतमा नै यो समस्या टुंगिन्छ र वैशापछि समस्या समाधान भइहाल्छ भन्ने हिसाबले चैतको किस्तालाई मात्रै असारसम्म सारिएको छ । यो चैतबाट लम्बियो, वैशाख भन्दा पनि पछि धकेलियो भने समस्या पर्छ ।

राष्ट्र बैंकले पनि गर्न सक्ने धेरै ठाउँ छैन । आफूले जति गर्न सक्ने हो, त्यो राष्ट्र बैंकले गरेको हो । यो शुरुवाती अवस्थामा तत्कालै गर्नुपर्ने कुरा गरेको हो । अहिलेको अवस्था लम्बियो भने, राष्ट्र बैंकले थप केही प्याकेज ल्याउला । कामु गभर्नर सा’पको अन्तरवार्तामा मैले पनि सुनेको छु । भोलि असहज अवस्थामा परेको खण्डमा राष्ट्र बैंकले सहज बनाउने केही नीति लिन्छ ।

राष्ट्र बैंकले दोस्रो चरणमा ल्याउने प्याकेजचाहिँ कस्तो हुनुपर्छ ?

मलाईचाहिँ कस्तो लाग्छ भने चैत महिनाको किस्ता असारमा तिर्नु भनियो, अब असारमा त असारकै किस्ता पनि त तिर्नुपर्‍यो नि । असारमा अब दुई महिनाको किस्ता तिर्नुपर्ने हुन्छ । दुई महिनाको किस्ता एकैपटक तिर्नु पर्दा त समस्या पर्ला नि ।

यसको सट्टामा बरु चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ भन्ने लाग्छ । जस्तो- अन्तिम किस्ता ०७७ सालको चैत मसान्तमा तिर्नुपर्ने छ भने त्यसलाई एक महिनापछि धकेलेर वैशाखमा तिर्न सकिने बनाउँदा सहज हुन्छ होला भन्ने लाग्छ ।

यसो भयो भने दोहोरो प्रेसर पर्दैन । एक महिना थप गरिदियो भने धेरै सहज हुन्छ । यसमा हामीले विचार गर्नुपर्छ भन्ने लाग्छ । विश्वका धेरै देशहरुले यसै गरेका छन् । मलेसियाले पनि क्लियररुपमै एक महिना थपेको छ । राष्ट्रबैंकबाट नयाँ प्याकेज आएको अवस्थामा यो समेटिन्छ भन्ने मलाई लाग्छ ।

शाखा खोलेर सुविधा दिइरहदा बैंकमा खटिने कर्मचारीहरुले आफूलाई कत्तिको सुरक्षित महशुस गरेका छन् त ?

हामीले काममा खटिइरहेका कर्मचारीहरुलाई बैंकले उपलब्ध गराएकै गाडीहरु प्रयोग गर्न भनेका छौं । बैंकका गाडीहरुमा स्यानिटाइज गरेका छौं । हाम्रा सवारी चालकहरुले पनि गाडी चढ्नु भन्दा अगाडि स्टाफहरुलाई पञ्जा दिने, माक्स दिने र हातमा स्यानिटाइजर लगाउन भन्ने गरेका छन् । स्वास्थ्य सुरक्षाका लागि यी सावधानीहरु नअपनाएसम्म चालकले गाडी चलाउँदैनन् ।

बैंकका कर्मचारीहरुलाई यो छुट्टी होइन, यो वर्क  फ्रम होम हो भनेर बुझाएका छौं

बैंकमा पुगिसकेपछि पनि आवश्यक सुरक्षा सतर्कता अपानाउनुपर्ने हुन्छ । काम गर्दा दूरी कायम गरेर बस्न भनेका छौं । सबै स्टाफहरु दूरी कायम गरेर काम गर्नुहुन्छ । ग्राहकहरुलाई पनि हामीले यी सावधानीहरु अपनाउन भनेका छौं ।

ग्राहकहरुलाई घरबाटै ब्रेकिङ कारोबार गर्न भनेका छौं । हाम्रै कर्मचारीहरुलाई पनि घरबाटै हुने काम घरबाटै गर्न भनेका छौं । जस्तो-ऋण नवीकरण घरमै बसेर गर्न सक्छौं । यसका लागि हामीले सिस्टम बनाइसकेका छौं । धेरै कामहरु घरबाटै गर्न सक्छौं । ती काम अहिले हाम्रा स्टाफहरुले घरबाटै गर्नुहुन्छ ।

ग्राहकहरुलाई पनि हामीले टेलिफोनबाट सम्पर्क गर्नुस भनेका छौं । सकेसम्म घरमै बसेर काम गर्नुपर्छ ।

बैंकका कर्मचारीहरुलाई यो छुट्टी होइन, यो वर्क फ्रम होम हो भनेर बुझाएका छौं । हाम्रा विभागीय प्रमुख, शाखा प्रवन्धकहरुलाई पनि यो होलिडे होइन, यो वर्क फ्रम होम हो आफ्ना कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भन्नुस् भनेका छौं ।

तर, कतिपय कामहरु घरमा बसेर गर्न नसकिने किसिमका पनि हुन्छ । त्यसका लागि अफिसमै जानु पर्छ । नगद दिने काम छ भने त्यो त अफिसमै जानुपर्छ । घरबाट सम्भव छैन ।

यो संकटले बैंकिङ क्षेत्रलाई कहाँसम्म असर गर्ने देखिन्छ ? भोलि बैंकहरु ठूलै समस्यामा पर्ने पो हुन् कि ?

सबै क्षेत्रमा यसको असर परेको छ । बैंकिङ क्षेत्रमा पनि यसको असर हुन्छ नै । कसरी हुन्छ समस्यामा पर्नबाट जोगाउनुपर्छ । सरकारको पनि धेरै ठूलो क्षमता छैन । विभिन्न दातृ निकायहरुले सपोर्ट पनि गरिरहेका छन् । आपत पर्दा गर्लान् नै । एडीबी, वर्ल्ड  बैंक, आइएमएफ लगायतले सहयोग गर्लान् ।

भर्खर वर्ल्ड बैंकले २९ मिलियन डलर, एडीबीले ६० मिलियन डलर र आएएमएफले ७८.५ मिलियन एबीआरओ त्यो भनेको १०८ मिलियन डलर सहयोग गर्ने भनेका छन् । यो नेपाली रुपैयाँ करिब-करिब २ सय अर्ब रुपैयाँ सपोर्ट गर्ने भनेको हो । कोरोनाकसँग लड्नका लागि यो रकम हो ।

वर्ल्ड बैंकले आगामी १५ महिनासम्ममा १.९ बिलियन डलर विभिन्न देशहरुलाई सहयोग गर्ने भनेको छ । यसमा विभिन्न २५ वटा देशहरु परेका छन्, हाम्रो देश भने परेको छैन । यस अघि २९ मिलियन डलर दिएको कारण पनि हाम्रो देश समावेश नभएको होला । वर्ल्ड  बैंकबाट अन्य सहयोगहरु पनि आइरहेको हुन्छ ।

सहयोगहरु आउलान् । यूएन, वर्ल्ड बेंकहरुले विकासोन्मुख देशहरुलाई सहयोग गर भनेर आहृवान गरिरहेका छन् । हामी समस्यामा गयौं भने सबै क्षेत्रलाई असर गर्छ नै । सबै मिलेर लड्नुपर्छ, असर सबै क्षेत्रलाई पर्छ । आफ्नो क्षमताअनुसार आफू पनि जोगिने हो, अरुलाई पनि जोगाउने हो ।

कतिसम्म ड्यामेज होला भनेर अहिले आँकलन गर्न सकिने अवस्था छैन । चीनमा यो समस्या समाधान भइसक्यो ८१ हजार केसमा १७०० केस बाँकी छ । त्यसमा पनि गम्भीर भनेको ३ देखि ४ सयको हाराहारीमा छन् भन्ने बुझिएको छ । भारत, पाकिस्तानमै यसको संख्या बढिरहेको छ ।

पहिलो कुरा त ७५ प्रतिशतले रेमिट्यान्स घटेको छ । पहिला पहिला जति रकम आउँथ्यो, अहिले त्यसको २५ प्रतिशतमात्रै आएको छ

नेपाल भुटान जस्ता देशहरुमा पनि संक्रमण फैलिरहेको अवस्था छ । ८ लाख जनसंख्या भएको देशमा ५ जनामा भेटिएको छ । हाम्रोमा फाट्टफुट्ट निस्किरहेका छन् । सामाजिक दूरी कायम गरेर यसलाई फैलन नदिन सतर्क रहनुपर्छ । सरकारले जुन कुरा गरिरहेको छ, जनताले पनि साथ दिएका छन् । यो एकदमै राम्रो कुरा हो ।

सिरिसय हुनुभन्दा पहिले नै राम्रो कदम चालिएको छ । यो एकदमै राम्रो कुरा हो । कामना गरौं, ठूलो समस्या आउँदैन । बैंकिङ क्षेत्रमा पनि त्यति ठूलो असर गर्दैन ।

रेमिट्यान्स निकाल्न पाइएन भनेर गुनासो आइरहेको छ, बैंकहरुले यो सुविधामा कत्तिको ध्यान दिएका छन् ?

होइन, त्यो सही होइन । पहिलो कुरा त ७५ प्रतिशतले रेमिट्यान्स घटेको छ । पहिला पहिला जति रकम आउँथ्यो, अहिले त्यसको २५ प्रतिशतमात्रै आएको छ ।

रेमिट्यान्समा तीन किसिमको मोडल छ । जस्तो- मेरो बैंकको कुरा गर्नुहुन्छ भने, आएको रेमिट्यान्स हाम्रै ग्राहकको छ भने सम्बन्धित ग्राहककै खातामा रकम जम्मा हुन्छ । स्वतः यो जम्मा हुन्छ, केही गर्नुपर्दैन । दोस्रो, अर्को बैंकको खातामा जम्मा हुने, त्यो पनि अटोमेटिक जम्मा भइरहेको छ ।

तेस्रो चाहिँ खाता छैन, नगद नै निकाल्नुपर्ने अवस्था छ । यसमा सबैलाई सुविधा हामीले दिएका छौं । बैंकको काउन्टरसम्म पुग्नुपर्‍यो, यो सुविधा पाइन्छ । हामीले नगद जम्मा गर्ने र खाताबाट निकाल्ने काम मात्रै नगर्नू भनेका छौं ।

रेमिट्यान्स पनि काउन्टरबाटै पेमेन्ट भइरहेको छ । कुनै ग्राहकले केही समस्या परे सिधै सम्पर्क गर्नु भए हुन्छ । सबै बैंकहरुले वेवसाइटहरुमा सम्बन्धित मान्छेहरुको सम्पर्क नम्बर राखेका छन् । त्यहाँ सिधा सम्पर्क गरेर ग्राहकहरुले आफ्नो समस्या समाधान गर्न पाउनुहुनेछ । बैंकिङ सुविधामा कुनै कमी हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment