Comments Add Comment

यस्तो होस् न सरकारी विद्यालय !

२३ फागुन, सिन्धुपाल्चोक । वरिपरि जंगल, बीचमा भवन । भवनभित्र पर्याप्त फर्निचर, सिलिङ फ्यान र हृवाइट बोर्डसहितका फराकिला कक्षा कोठा । यस्तो विद्यालयको चाहना त गरिन्छ, तर पाइन्छ बिरलै ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ सेलाङवासीले भने ठ्याक्कै यही विद्यालय पाएका छन् । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइले बनाइदिएको २६ कोठे भवनमा एउटा विद्यालयमा हुनुपर्ने सबै संरचना छ ।

विद्यालयको नाम सेलाङ मावि हो, जसको नवनिर्मित भवनमा पुगिसरी आएको देशको विद्यालयमा जस्तो विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र पुस्तकालय छन् । चौबिसै घन्टा नटुट्ने खानेपानी, विजलुी, लाईन गएको बेलाका लागि सोलार प्यानल, शिक्षक, छात्रा र छात्रहरुका लागि छुट्टाछुट्टै अपांगमैत्री शौचालय छन् । छात्राहरुको शौचालयमा महिनावारी हुँदा प्याड व्यवस्थापन गर्ने सुविधा पनि छ ।

१२ वैशाख ०७२ महाभूकम्पपछि पाल र जस्ताको टहरामा कष्टसँग अध्ययन-अध्यापन गरिरहेका शिक्षक र विद्यार्थीहरुका लागि यति सुविधायुक्त भवन सपना जस्तो भएको प्रधानाध्यापक हरिप्रसाद पौडेल बताउँछन् ।

२५० विद्यार्थी रहेको विद्यालय भौतिक संरचनामा अनायासै जस्तोगरि धनी भएको उनले बताए । ‘मेरै कार्यकालमा विद्यालय यति भव्य र सुन्दर बनेको छ’, प्रअ पौडेलले भने, ‘अब शैक्षिक गुणस्तर बढाउन लाग्छौं ।’

कक्षा १० कि छेवाङ लामाले भने यती राम्रो कोठामा बसेर पढ्न पाउँदा खुशीसंगै नमज्जा पनि लागिरहेको बताइन् । ‘हामी तीन वर्षसम्म पालमुनी बसेर पढ्यौं, अब एसइई दिएर विद्यालय छाडने बेलामा चाही यती राम्रो स्कुल पायौं’, उनले भनिन्, ‘हामी कक्षा १० कालाई त नमज्जा पो लागिरहेको छ ।’

यसैसाता आफ्नो संसदीय क्षेत्रमा निर्मित विद्यालय भवन उद्घाटन गर्न पुगेसांसद अग्नि सापकोटाले आफ्नो समयमा यति सुविधापूर्ण विद्यालयको कल्पना पनि नभएको बताए ।

लामो समय शिक्षण पेशामा बिताएका र कुनैबेला मन्त्रीसमेत बनेका उनले विद्यार्थीहरुलाई भने, ‘हामीले विद्यालय यस्तो पनि हुन्छ भनेर अरुको मुखबाट सुनेका सम्म थियौं, तपाईहरुले पढ्नै पाउनुभएको छ, राम्ररी पढ्नुस् ।’

उद्घाटन समारोहका अर्का वक्ता जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले पनि आफ्नो पुस्ताले असुबिधै असुबिधाबीच पढेको स्मरण गर्दै यती राम्रो स्कुलमा पढ्नेहरु अघिल्लो पुस्ताभन्दा निकै प्रगति गर्नुपर्ने बताए । ‘दुःखले पढेको म गाउँपालिकाका अध्यक्ष भएँ’, गाउँपालिका राष्ट्रिय महासंघका समेत अध्यक्ष रहेका श्रेष्ठले विद्यार्थीहरुलाई हौसाउँदै भने, ‘यती भव्य भवनमा पढ्न पाएका तपाईहरु अब देशकै ठूला मान्छे र प्रधानमन्त्री बन्नुपर्छ ।

एडीबीको ७ करोड ८२ लाख ९७ हजार ७२० रुपैयाँ लगानीमा निर्मित भवनमा २० वटा कक्षा र अन्य प्रयोजनको गरी कुल २६ कोठा छन् । ती कोठाहरुलाई प्रधानध्यापकको कार्यालय, शिक्षक कक्ष, प्रशासन कक्ष, बाल विकास कक्ष, कम्प्युटर ल्याब, प्राथमिक उपचार कक्ष, विज्ञान प्रयोगशाला आदि बनाइएको छ । एउटा कोठलाई साना बालबालिकाहरुलाई खाजाका लागि किचन बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment