Comments Add Comment

टौदहमा पाहुना चराको चर्तिकला !

२५ फागुन, काठमाडौं । चराचुरुंगीको खुला क्रिडास्थल हो, टौदह । कीर्तिपुरको यो जलाशयमा थरीथरीका चराहरु आउँछन् र उन्मुक्त खेल्छन् ।

भनिन्छ, नेपालमा ८ सय ७१ प्रजातिका चरा पाइन्छन् । हावापानी, भूगोलको विविधताकै कारण नेपाल असंख्य चराचुरुंगीको आश्रयस्थल भएको हो । तर, यहाँ आगन्तुक एवं पाहुना चराहरु पनि आउजाउ गरिरहन्छन् । मौसमी अनुकुलता हेरेर आउजाउ गर्ने यी चराहरुले प्रकृतिमा बेग्लै रौनक प्रदान गर्छ ।

जस्तो यसपाली टौदहमा केही थान जलेवा (क्यामरुन्ट) देखिए, जो साइबेरियाबाट जाडो छल्न आएका हुन् । यी जलेवाहरु त्यो जलाशयमा उन्मुक्त रमाइरहेको दृश्य आफैमा एक सुन्दर स्केच झै देखिन्थ्यो । साथै यी चराहरुले बेलाबखत घतलाग्दो चर्तिकला पनि देखाउने गर्छन् ।

माछालाई आफ्नो आहार बनाउने एक जलेवाले रातो माछोलाई आफ्नो कब्जामा पार्‍यो । त्यसले आफ्नो कसिलो चुच्चोले च्यापिसकेको माछोमा अन्य जलेवाको आँखा पर्‍यो । तिनीहरु लोभिएर माछो खोसाखोस गर्न थाले ।

जलेवाहरुको यो घम्साघम्सीले माछोलाई लाभ मिल्यो । मृत्युको मुखमा पुगिसकेको माछो फुत्किएर पुनः जलाशयमा छलाङ लगाउन थाल्यो ।

जलेवाको यो चर्तिकला हेरिरहेका रमितेहरु भन्दै थिए, ‘आफू-आफू खिचातानी गर्दा मुखमा आएको भाग पनि फुत्कियो ।’

जलेवालाई नेपालमा पाहुना चरा भन्ने गरिन्छ । यो चरा असोजदेखि चैतसम्म विचरण गर्ने गर्छ । उत्तरी क्षेत्रमा अत्याधिक हिमपात हुने भएकाले आहारका लागि जलेवा कोशी, गण्डकी, कर्णाली जस्ता नदी र तालतलैमा आश्रय लिन आइपुग्छन् ।

जलेवाको मुख्य आहार माछा नै हो । आकाशमा बत्तिने जलेवाको जीवन-स्रोत भने जलायश वा पानी नै हो । जलेवाले बच्चा कोरल्दा रंग परिवर्तन गर्छ, जसले यसलाई थप आकर्षक बनाउँछ । जलेवा ठूलो, मझौला र साना गरी तीन प्रकारका हुन्छन् ।

नेपालको बनजंगल आफैमा विशाल आश्रयस्थल हो, चराचुरुंगीको लागि । नेपालमा समुद्री सतहदेखि संसारकै सबैभन्दा उचाइ हिमाली क्षेत्रसम्म चराहरु पाइन्छन् । यहाँ डाँफे, मुनाल, काँडे भ्याकुर, सुगा, मैनाचरी, ढुकर लगायतका चराहरु पाइन्छन् ।

चितवनमा मात्र ६ सय प्रजातिका चरा पाइन्छन् । कालो गरुड, सेतो गरुड, कृष्णकण्ठ गरुण जस्ता २४ प्रजातिका लोपोन्मुख चरा चितवनको बनजंगलमा भने सुरक्षित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment