Comments Add Comment

मासु खाने गाईको दूधका विषयमा भारत–अमेरिकाबीच विवाद !

हामीकहाँ गाईलाई घाँस, पराल तथा अन्नपानी खुवाइन्छ । तर अमेरिका तथा युरोपका कैयन् देशमा गाईलाई खुवाइने दानामा गाई, सुँगुर तथा भेँडाको मासुका साथै रगत पनि मिसाइएको हुन्छ । गाईलाई खुवाइने त्यस्तो दानालाई ब्लड मिल पनि भनिन्छ ।

अमेरिका चाहन्छ कि भारतले अमेरिकाबाट धेरैभन्दा धेरै दुग्धजन्य उत्पादन खरीद गरोस् । तर धार्मिक तथा सांस्कृतिक कारणले गर्दा भारतले अमेरिकाको त्यो चाहना पूरा गर्न चाहँदैन ।

वास्तवमा मासु खाएका गाईको दूधबाट बनेका कुनै पनि चिजहरु आफ्नो देशमा आयात तथा प्रयोग गर्न नसक्ने भारतको भनाइ छ ।

मासु खाने गाईका दुग्धजन्य उत्पादन खरीद नगरेकै कारण अमेरिकाले हालै भारत विरुद्ध कडा कदम चालेको छ । राष्ट्रपति ट्रम्पले भारतलाई व्यापारमा सहुलियत दिने मुलुकको सूचीबाट हटाएका छन् ।

अमेरिकी सामानहरुलाई आफ्नो बजारमा पहुँच दिने कुराको भारतले आश्वासन नदिएकाले भारतलाई व्यापार सहुलियत प्रदान गर्ने मुलुकको सूचीबाट हटाएको ट्रम्पको भनाइ छ । उक्त सहुलियतबमोजिम भारतले साढे ५ अर्ब डलर बराबरका आफ्ना उत्पादन बिना भन्सार अमेरिकामा निर्यात गर्न पाउँथ्यो ।

उता भारतको वाणिज्य मन्त्रालयले ब्लड मिल खाएका गाईको दूधबाट बनेका चिजहरु खरीद गर्न नसकिने कुरा अमेरिकासँग प्रष्ट रुपमा राखेको जनाएको छ । अमेरिकाले भारतमा बेच्ने दुग्धजन्य पदार्थहरु ब्लड मिल नखुवाइएका गाईवस्तुबाट उत्पादन गरिएको कुराको प्रमाणित कागजात पेश गर्नैपर्ने शर्त भारतले राखेको छ । सांस्कृतिक तथा धार्मिक मान्यता र संवेदनशीलताका कारण यसो गरिएको र यस विषयमा कुनै सम्झौताको गुञ्जायस नरहेको उसको भनाइ छ ।

के हो ब्लड मिल ?

वधशालामा मासुका लागि काटिने गाईवस्तुको मानिसले नखाने खालको मासु र हड्डीका टुक्राहरु पिँधेर त्यसमा रगत घोलिसकेपछि त्यसलाई उच्च तापक्रममा सुकाएर विशेष खालको दाना तयार गरिन्छ । त्यस्तो दाना लाइसिन नामक एमिनो एसिडको राम्रो स्रोत हो । गाईको दूधमा पर्याप्त प्रोटिन हुनका लागि गाईलाई खुवाउने दानामा उक्त एमिनो एसिड अनिवार्य हुन्छ ।

पश्चिमा देशहरुमा गाई फार्महरुमा पालिने गाईलाई हृष्टपुष्ट राख्न तथा प्रसस्त दूध दिने बनाउनका लागि ब्लड मिल खुवाइन्छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment