Comments Add Comment

सावित्राले दोहोर्‍याउलिन् त भुटानविरुद्धको डबल ह्याट्रिक ?

२८ फागुन, विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उट्घाटन खेलमा भोलि (मंगलबार) आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।

उद्घाटन खेलमा नै सहज जित निकाल्दै सुखद् सुरुवात गर्ने दाउमा रहेको नेपाल उपाधि दौडमा छ । पहिलोपटक कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता काठमाडौं उपत्यका बाहिर गर्न लागेको नेपाल योपटक सबैभन्दा बलियो टिममा पनि गनिएको छ ।

नेपाल बलियो टिम गनिनुको मुख्य कारण हो, सावित्रा भण्डारी । सन् २०१४ पाकिस्तानमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलदेखि राष्ट्रिय टिममा परेकी सावित्रा नेपालका मुख्य हतियार हुन् । उनकै उच्च प्रदर्शनमा नेपालले त्यस्ता थुप्रै प्रतियोगितामा जित हात पारेको छ ।

लयमा रहेकी सावित्रा दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन् । यो पटक पनि सबैको नजर उनीबाट हट्ने छैन ।

आफ्नो डेब्यु खेलदेखि नै चर्चामा आएकी सावित्राले भारतमा सम्पन्न चौथो साफ च्याम्पियनसिप फुटबलमा रेकर्ड राखेकी थिइन् ।

उनले एक प्रतियोगितामा नेपालको तर्फबाट १२ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड राखेकी थिइन् । उनले भुटानविरुद्ध डबल ह्याट्रिक गरिन् । मल्दिभ्सविरुद्ध ह्याट्रिक सहित ५ गोल गरेकी सावित्राले भारतविरुद्ध पनि एक गोल गर्न सफल भएकी थिइन् ।

उनले प्रतियोगितामा १२ गोल गर्दै कीर्तिमान बनाएकी थिइन् । यसअघि यो भन्दाअघि अनु लामाले एउटै प्रतियोगितामा ११ गोल गरेको रेकर्ड थियो ।

विराटनगरको सहित रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा सावित्रालाई फेरी अर्को अवसर छ । चौथो साफ राखेको डबल ह्याट्रिक गोलको रेकर्ड उनले विराटनगरमा तोड्लिन् त ?

त्यसो त उनको पनि एउटै सपना रहेको छ । नेपाललाई साफ च्याम्पिन बनाउने । आफ्नो पहिलो खेलमा नै राम्रो प्रदर्शन गर्दै नेपाललाई जित दिलाउने उनको लक्ष्य रहेको छ ।

नेपालले आफ्नो समूह चरणको दोस्रो खेल भने मार्च १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment